२०औं एसियाली खेलकुदमा पदक जित्ने आशा गरिएका नेपाली खेलाडीहरू एकपछि अर्को गर्दै खाली हात फर्किए। स्वर्णको सपना बोकेर खेल आयोजक मुलुक जापान आएकी एरिका गुरुङसमेत पदकविहीन भइन्। नेपाली टोलीमा निराशा बाक्लिँदै थियो। त्यहीबेला करातेको अन्तिम प्रतिस्पर्धीका रूपमा उत्रिए, २३ वर्षे तेन्जिङ शेर्पा। कुमुते पुरुष ८२ केजीमाथि उनले नेपाललाई कांस्य पदक दिलाए। जारी एसियाली खेलकुदमा यो नै देशका लागि पहिलो पदक हो।
लाओसका सायासान भथानालाई ९–१ ले हराउँदै तेन्जिङले पदकको खाता खोलेका हुन्। उनको सफलता एसियाली खेलकुदमा करातेतर्फ दक्षिण एसियाली राष्ट्रकै पहिलो हो। करातेमा दक्षिण एसियाबाट नेपाल मात्र पदक जित्न सफल भयो। टोयोहासी जिम्नाजियममा बुधबारको भिडन्तमा तेन्जिङले सुरुको खेल आशाअनुरूप खेल्न सकेनन् तर पनि उनी हान्साकु (फउल) का आधारमा सेमिफाइनलमा पुगे।
तेन्जिङले चार फउल र मकाउका ओन टेक लियोङले पाँच फउल गरे। पाँच फउल गरेपछि ओन टेक खेलको समय बाँकी छँदा बाहिरिए। यससँगै तेन्जिङ सेमिफाइनलमा पुगे, जहाँ उनी इरानी खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित हुन पुगे। महमुद फाइनलमा पुगेपछि उनी रिपाचेजमार्फत कांस्य पदकको प्रतिस्पर्धाका लागि योग्य भए।
कांस्य पदकको प्रतिस्पर्धामा भने उनले उत्कृष्ट खेले। उनले युकोबाट ६ र इप्पोनबाट ३ अंक जोडे। लाओसका सायासानले एक युको मात्र गर्न सके। अन्ततः ९–१ को फराकिलो अन्तरमा जित निकाल्दै तेन्जिङले नेपाली टोलीलाई लामो प्रतीक्षापछि खुसी दिलाए।
यो पदक तेन्जिङका लागि व्यक्तिगत उपलब्धि मात्र थिएन, नेपाली टोलीको ऊर्जा पनि थियो।
२१ खेल विधामा भाग लिन १३५ खेलाडीसहित जापान आएको नेपाली टोलीले अपेक्षित नतिजा निकाल्न नसकिरहेका बेला तेन्जिङको कांस्यले टोलीमा नयाँ ऊर्जा थपेको छ। स्वर्ण आशा गरिएकी एरिकासँगै मीनबहादुर तामाङ, राकेश मानन्धर र महिला टिम काता (सानुमाया थिङ, एलिसा रास्कोटी मगर र मेगा लिम्बू) पनि पदकको अन्तिम चरणबाट चुकेका थिए।
करातेमा नेपालले कुल सात इभेन्टमा प्रतिस्पर्धा गरेको थियो। काताका दुई र कुमुतेका पाँच इभेन्टमा नेपाली खेलाडी सहभागी थिए। तीमध्ये पाँच विधामा नेपाली खेलाडी पदकका लागि प्रतिस्पर्धा गर्न सफल भए। अन्तिम प्रतिस्पर्धी तेन्जिङले मात्र सफलता हात पारे। ‘यो स्तरमा पहिलो पदक जित्दा धेरै खुसी लागेको छ,’ तेन्जिङले भने।
पदक जित्ने क्षणसम्म पनि उनीमाथि दबाब थिएन। नेपाली टोलीका अन्य खेलाडीहरू पदकविहीन भइसकेका कारण अन्तिम आशा आफूमा केन्द्रित भएको उनलाई थाहा थियो तर त्यसलाई उनले दबाबका रूपमा लिएनन्। ‘म अन्तिम प्रतिस्पर्धी थिएँ। पदक जित्नुपर्छ भनेर दबाब थिएन। तर राम्रो खेल्नुपर्छ भन्ने थियो। सबै हारेको देखेर नराम्रो लागिरहेको थियो। मैले पनि गर्न सक्छु भन्ने लाग्यो। त्यसका लागि आफ्नो बेस्ट दिन्छु भन्ने विश्वास थियो,’ उनले भने।
तेन्जिङको पदक यात्रा पनि सहज थिएन। तेन्जिङले बाल्यकालदेखि नै कराते खेल्न थालेका हुन्। साथीको प्रेरणामा बौद्ध डोजो पुगेका उनले त्यहीँबाट करातेको आधार तयार गरे।
पछिल्ला तीन वर्षदेखि उनी एपिएफबाट खेल्दै आएका छन्। बंगलादेशमा भएको दसौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उनी दोहोरो स्वर्ण विजेता बने। उनी दुई पटक एसियन च्याम्पियनसिपमा सहभागी भइसकेका छन्। एसियाली खेलकुदको कांस्य उनका लागि सबैभन्दा विशेष छ। ‘यो पदक देशका लागि विशेष छ,’ उनको भावनामा यही अर्थ झल्किन्थ्यो।
पदक जितेपछि कसलाई सम्झनुभयो भन्ने प्रश्नमा तेन्जिङ भावुक भए। उनले आफ्नो सफलता आमा, दिदीबहिनी र नेपाली टोलीप्रति समर्पित गरे। लामो समयदेखि मिसन–२०२६ अन्तर्गत गरिएको तयारीको प्रतिफलका रूपमा प्राप्त यो पदकले जापानमा रहेका नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीमा पनि खुसी ल्याएको छ।
नेपालका प्रशिक्षक कुशल श्रेष्ठले सात विधामा प्रतिस्पर्धा गर्दा पाँच खेलाडी पदकका लागि खेल्नु आफैंमा महत्त्वपूर्ण भएको बताए। ‘यो क्षेत्र करातेको पावर हाउस हो। सात विधामा सहभागी हुँदा पाँच विधामा पदकका लागि खेल्यौं। यसको मतलब सबै खेलाडीले राम्रो खेल्नुभएको छ,’ कुशलले भने, ‘अब नेपाल करातेमा एसियामा अगाडि बढ्दै छ भन्ने देखाएको छ।’
तेन्जिङले सुरुआती खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका थिएनन्। तर पदकका लागि भएको खेलमा उनले आफूलाई सम्हालेको कुशलको भनाइ छ। तेन्जिङको स्वभावबारे प्रशिक्षकलाई अर्को चिन्ता पनि थियो। उनी छिटो रिसाउने र धेरै सोच्ने स्वभावका छन्।
ठुलो प्रतियोगितामा त्यही कमजोरी निर्णायक बन्न सक्ने डर थियो। तर निर्णायक खेलमा उनले धैर्य गुमाएनन्। तेन्जिङको कांस्यले निराशालाई केही हदसम्म खुसीमा बदल्यो। ‘स्वर्णसहित अन्य पदक जित्छौं भनेर आएका थियौं तर कांस्यमा मात्र सीमित छौं। पदक तालिकामा अब नेपाल पनि आउँदा धेरै खुसी छौं,’ कुशलले भने, ‘बाढीको पीडाले दुःख भएको देशमा यो पदकले धेरै खुसी दिने आशा गरेको छु।’
तेन्जिङको कांस्यसँगै एसियाली खेलकुदमा नेपालको कुल पदक संख्या २७ पुगेको छ। नेपालले यसअघि तीन रजत र २३ कांस्य जितेको थियो। करातेबाट भने नेपालले एसियाली खेलकुदमा पाँच पदक जितेको छ। एरिकाले १९औं एसियाडमा ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।
जापानकै हिरोसिमामा सन् १९९४ मा भएको एसियाडमा सीता राईले कांस्य पदक जितेकी थिइन् भने १९९८ मा बैंककको थाइल्यान्डमा भएको एसियाडमा समरबहादुर गोले र दक्षिण कोरियामा सन् २०१४ मा भएको एसियाडमा विमला तामाङले कांस्य पदक जितेका थिए तर अहिले टोयोहासीको एउटा कांस्य पदकको अर्थ संख्या र पदक तालिकाभन्दा ठुलो छ।
लगातारको निराशाबिच तेन्जिङले पदकको खाता मात्र खोलेनन्, नेपाली करातेले लगातार एसियाली खेलकुदमा पदक जित्दै नेपाली खेलकुदमा नयाँ इतिहास पनि बनायो। देशमा बाढीको पीडा, अपेक्षाअनुसार नआएको नतिजा र लामो समयदेखिको पदकको प्रतीक्षाबिच तेन्जिङले जितेको कांस्य पदकले अहिले नेपाली टोलीलाई एउटै सन्देश दिएको छ - अन्तिमसम्म आशा बाँकी रहन्छ।
प्रकाशित: ८ आश्विन २०८३ ०७:०७ बिहीबार





