१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
खेल

बदलिएन लुम्बिनी परिचय

च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पनि आफ्नो परिचय बदल्न दिएको छैन। गत संस्करण लुम्बिनी च्याम्पियन हुँदा उत्कृष्ट बलिङ नै महत्त्वपूर्ण साथ थियो। जुन साथ लुम्बिनीले यसपटक पाएको छ।

त्यही अस्त्र धारिलो हुँदा लुम्बिनीले उपाधि रक्षाको संकेत गरिसकेको छ। लुम्बिनीमा ठूला नामका खेलाडी छैनन्। यस सिजन विश्वस्तरीय स्टार भित्र्याउन नसक्दा समर्थकले लुम्बिनीलाई आलोचना गरिरहेका थिए तर त्यसको जबाफ लुम्बिनीले यस सिजन तीन खेलमा अपराजित एक मात्र टोली हुँदै दिएको छ।

बलिङमा देखिएको अनुशासन, एकरूपता र सामूहिक प्रदर्शन नै लुम्बिनीको सफलताको आधार हो। लुम्बिनीले मंगलबार पोखरा एभेन्जर्समाथि आठ विकेटको जित रच्दा यही आधारले नै निरन्तरता पायो। यो जितसँगै तीन खेलमा अपराजित रहँदै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लियो। अझ रोचक पक्ष त लुम्बिनीले पछिल्ला संस्करणसहित लगातार आठ खेलसम्म हार बेहोरेको छैन। लुम्बिनी यसपटक पनि बलिङकै भरमा आफ्नो दबदबा कायम बनाइरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका बलरले पोखरालाई ९७ रनमै रोके। जबाफमा लुम्बिनीले ११.४ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पहिलो खेलमा सुदूपश्चिम रोयल्समाथि जित निकाल्दा पनि लुम्बिनीका बलरले विपक्षीलाई ८७ रनमै रोकेको थियो। जुन लयमा तेस्रो खेलमा पनि निरन्तरता पायो।

दोस्रो खेल (चितवन राइनोजसँग) भने वर्षाका कारण उसले अंक बाँडेको थियो। सामान्य लक्ष्य पछ्याउँदा लुम्बिनीका कप्तान रोहित पौडेल ४७ रनमा अविजित रहे। उनले निरोसन डिकवेलासँग तेस्रो विकेटका लागि ७७ रनको अविजित साझेदारी गरे तर लुम्बिनीको यो जितमा ब्याटरभन्दा बलरको प्रदर्शन बढी चर्चामा रह्यो। किनकि ब्याटिङ गर्नुअघि नै बलरले जितको आधार तयार गरिसकेका थिए। कप्तान रोहित पनि आफ्नो टोलीको सफलताको मुख्य कारण बलिङलाई  नै मान्छन्।

पछिल्लो सिजनदेखि बलिङ युनिटले निरन्तर सन्तुलित प्रदर्शन गर्दै आएको उनको बुझाइ छ। त्यसैले लुम्बिनीका ब्याटरको परीक्षण नै हुन पाएको छैन। ‘यहाँ आइपुग्नुको मुख्य कारण नै बलिङ हो। पछिल्लो सिजनदेखि हाम्रा बलरले लगातार राम्रो प्रदर्शन गरिरहेका छन्। बलिङ युनिटले राम्रो गर्दा ब्याटरले धेरै समय क्रिजमा बिताउनुपर्ने अवस्था आएको छैन,’ रोहितले भने, ‘यो प्रदर्शनले निरन्तरता पाओस् भन्ने चाहन्छु।’

लुम्बिनीको बलिङको विशेषता कुनै एक खेलाडीमा निर्भर नहुनु हो। मंगलबार पोखराविरुद्ध पनि टोलीले सात बलर प्रयोग गर्‍यो। तीमध्ये ६ जनाले विकेट लिए। नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए। उनी सोमबार मात्र नेपाल आएका हुन्। पहिलो खेलमै उनले आफ्नो प्रभाव देखाए।

उनले खेलको सुरुआतमै पोखराको ब्याटिङ धराशयी बनाए। ट्रम्पलमेनको तीव्र गति र सटीक लाइनले पोखराका ब्याटरलाई सहज हुन दिएन। इनिङको दोस्रो बलमै अर्जुन कुमाललाई बोल्ड गरेका उनले तेस्रो ओभरमा सदिरा समराविक्रमालाई सात रनमा आउट गराए। ट्रम्पलमेनकै बलमा अभिशेष गौतमले बाउन्ड्री लाइननजिक सदिराको उत्कृष्ट क्याच लिएपछि पोखरा थप दबाबमा पर्‍यो। त्यसपछि स्पिनरले पनि दबाबलाई निरन्तरता दिए। शेर मल्लले विपिन आचार्यलाई एक रनमा आउट गर्दा पोखरा १५ रनमै तीन विकेट गुमाउने अवस्थामा पुग्यो। तिलक भण्डारीले कप्तान कुशल भुर्तेललाई १४ रनमा पभेलियन फर्काए। त्यसपछि बंगलादेशका अनुभवी अलराउन्डर सकिब अल हसन पनि तीन रनमै आउट भए।

पोखराले १४.३ ओभरमा ५० रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो। त्यसपछि पनि लुम्बिनीका बलरले कुनै राहत दिएनन्। ट्रम्पलमेनले तीन विकेट लिँदा तिलकले दुई विकेट लिए। शेर मल्ल, कप्तान रोहित र अभिशेषले समान एक विकेट लिए। विकेट लिने खेलाडी फरक भए पनि सबै बलरको लक्ष्य एउटै थियो।

 लुम्बिनीका बलरले उत्कृष्ट गर्दा पोखराले पूरै इनिङमा दबाब झेल्नुपर्‍यो। नवौं नम्बरमा आएका श्रीलंकन चमिका करुनारत्नेले २५ रन बनाए। यो नै पोखराको सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। लुम्बिनीको बलिङमा अर्को सकारात्मक पक्ष बेन्च हो। बेन्चबाट पहिलो अवसर पाएका अभिशेषले सदुपयोग गर्दै बेन्च बलियो रहेको प्रमाणित गरे।

रोहितले बेन्चमा रहेका खेलाडीले पनि मैदानमा उत्रिएपछि राम्रो प्रदर्शन गर्नु टोलीका लागि सुखद पक्ष भएको बताए। विदेशी खेलाडीले पूरा सिजन उपलब्ध हुने र यसपटक आसिफ शेखको आगमनले टोली थप बलियो बनेको उनको विश्वास छ। लुम्बिनीको यो प्रदर्शनले यसअघि उठेका प्रश्नलाई पनि कमजोर बनाएको छ।

 यस सिजन विश्वस्तरीय स्टार खेलाडी भित्र्याउन नसकेको भन्दै लुम्बिनीको टोली संरचनामाथि प्रश्न उठाइएको थियो। तर, मैदानमा नतिजा निकाल्न स्टार खेलाडीको नामभन्दा टिमको सन्तुलन र सामूहिक प्रदर्शन महत्त्वपूर्ण हुने लुम्बिनीले प्रमाणित गरिरहेको छ। यता पोखराको लगातार तेस्रो हारले उसको कमजोरी पनि उजागर गरेको छ।

तीन खेल खेलिसक्दा पनि टोली जितविहीन छ। अहिलेसम्म प्लेअफ पुग्न नसक्ने एक मात्र टोली पोखरा यस सिजन पनि त्यही छविमा रहने संकट देखिएको छ। यो नतिजा आउनुको पछाडि विदेशी र स्वदेशी खेलाडीको खराब प्रदर्शन हो। लुम्बिनीका लागि अहिले सबैभन्दा सुखद पक्ष ब्याटिङमा धेरै दबाब नपर्नु हो। बलरले दिएको बलियो आधारमा ब्याटरले सहज रूपमा लक्ष्य पछ्याइरहेका छन् तर प्रतियोगिता अघि बढ्दै जाँदा ठूला लक्ष्य र दबाबपूर्ण परिस्थितिमा ब्याटिङको पनि परीक्षा हुनेछ। त्यसैले लुम्बिनीको वास्तविक चुनौती आफ्नो बलिङको लय कायम राख्दै ब्याटिङलाई पनि उत्तिकै भरपर्दो बनाउनु हो। तथापि आवश्यक पर्दा ब्याटरले प्रमाणित गर्ने कप्तान रोहितको विश्वास छ। जुन विश्वास कायम रहे लुम्बिनीलाई यसपटक च्याम्पियन बन्न  कसैले रोक्ने छैन।  

प्रकाशित: १८ कार्तिक २०८३ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App