२५ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

१८औँ काठमाडौं म्याराथनको उपाधि कुलबहादुर र राज्यलक्ष्मीलाई

काठमाडौं म्याराथनको १८औँ संस्करणमा पुरुषतर्फ कुलबहादुर बस्नेत र महिलातर्फ राज्यलक्ष्मी रावलले उपाधि जितेका छन्। सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगितामा हाफ म्याराथन र १० किलोमिटर दौडतर्फ पनि विभिन्न धावकले उपाधि हासिल गरेका छन्।

‘रन टु रिब्युल्ड नेपाल’ मूल नारासहित आयोजना गरिएको यस वर्षको प्रतियोगितामा सात हजारभन्दा बढी धावकले नाम दर्ता गराएका थिए। आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेशनका अनुसार प्रतियोगितामा १०० भन्दा बढी विदेशी धावकको सहभागिता रहेको छ।

पूर्ण म्याराथनको पुरुषतर्फ कुलबहादुर बस्नेतले २ घण्टा ३१ मिनेटमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। भूपेन्द्र सुनारले २ घण्टा ३५ मिनेटमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा कर्णबहादुर रोक्का २ घण्टा ४४ मिनेटको समयसहित तेस्रो भए।

महिलातर्फ राज्यलक्ष्मी रावलले ३ घण्टा १९ मिनेटमा दौड पूरा गर्दै उपाधि जितिन्। भारतकी शान्ति राईले ४ घण्टा ७ मिनेटमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरिन्। अमेरिकाकी ड्रान्डुला शाटर ४ घण्टा ४० मिनेटको समयसहित तेस्रो भइन्।

पूर्ण म्याराथनको पुरुष तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

हाफ म्याराथनको पुरुषतर्फ राजन योङ्बाले पहिलो स्थान हासिल गरे। उमेश थापा दोस्रो हुँदा दिशराज लिम्बू तेस्रो भए। महिलातर्फ निशा शार्की पहिलो भइन्। निर्मला केसीले दोस्रो स्थान हासिल गर्दा चीनकी सी साङ वेव तेस्रो भइन्।

१० किलोमिटर दौडको पुरुषतर्फ गणेश रावतले पहिलो स्थान हासिल गरे। श्रीकेश राई दोस्रो हुँदा डेभिड कर्माचार्य तेस्रो भए। महिलातर्फ नर्वेकी मारीले पहिलो स्थान हासिल गरिन्। जलजला भुर्तेल दोस्रो हुँदा सुमित्रा स्याङ्तेनले तेस्रो स्थान प्राप्त गरिन्।

काठमाडौं म्याराथनलाई दौड प्रतियोगितामा मात्र सीमित नराखी स्वस्थ जीवनशैली, अनुशासन, सामाजिक एकता र खेल संस्कृतिको प्रवर्द्धन गर्ने अभियानका रूपमा अघि बढाइएको छ।

यस वर्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा ‘ट्राफिक नियम पालना गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशलाई विशेष प्राथमिकता दिइएको छ। सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘दुर्घटनाबाट जोगिऔँ’ भन्ने सन्देशसमेत प्रतियोगितामार्फत जनसमुदायसम्म पुर्‍याइएको छ।

खेलकुदको माध्यमबाट स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै सडक सुरक्षाप्रति नागरिकलाई सचेत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित: २४ आश्विन २०८३ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App