८ कार्तिक २०८३ आइतबार
image/svg+xml
खेल

तेस्रो संस्करणको एनपिएल खेल्न कीर्तिपुर तयार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिएको हो।

यस पटक एनपिएलले व्यावसायिक, प्राविधिक र खेल कौशलका दृष्टिले ऐतिहासिक फड्को मारेको छ। क्यानले यस संस्करणमा कम्तीमा ७० करोड रुपैयाँको कारोबार हुने र करिब २० करोड रुपैयाँ खुद आम्दानी हुने अनुमान गरेको छ।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रायोजकबाट ३० करोड, टिकेटिङबाट ७० करोड र फ्रेन्चाइज टोलीसहित गरी प्रतियोगितामा कुल १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुनेछ।

यस संस्करणमा क्यानले पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ। अघिल्लो सिजन १ करोड १० लाख रुपैयाँ रहेको विजेता पुरस्कार यस पटक १ करोड ५० लाख रुपैयाँ पुर्‍याइएको छ।

त्यसैगरी, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हात पार्ने टोलीले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।

एनपिएलको व्यावसायिक यात्रा निकै तीव्र देखिएको छ। पहिलो संस्करणबाट २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको क्यानले दोस्रो संस्करणमा ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

तेस्रो संस्करणमा आइपुग्दा प्रतियोगिता सुरु हुनुअघि नै प्रसारण अधिकारमार्फत मात्रै ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी सुरक्षित भइसकेको छ।

पहिलो संस्करणमा एक्सन स्पोर्ट्सले ७५ लाख रुपैयाँमा युट्युब र टेलिभिजन अधिकार खरिद गरी निःशुल्क प्रसारण गरेको थियो। दोस्रो सिजनबाट सब्स्क्रिप्सन मोडेल सुरु भयो, जसमा डिसहोमले ओटिटी र कान्तिपुर टेलिभिजनले ३ करोड रुपैयाँमा टेलिभिजन अधिकार लिएका थिए।

तेस्रो संस्करणमा भने हिमालय टेलिभिजनले करबाहेक १४ करोड ६४ लाख रुपैयाँ तिरेर टेलिभिजन अधिकार खरिद गरेको छ। जुन अघिल्लो संस्करणको तुलनामा झन्डै पाँच गुणा बढी हो। पहिलो संस्करणमा फ्रेन्चाइजहरूले ३ करोड १६ लाख पाएकोमा दोस्रो संस्करणमा बढेर १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक टी-२० लिगको मान्यता पाउनु यस संस्करणको अर्को ठुलो उपलब्धि हो। यससँगै एनपिएलमा खेलाडीले बनाएका सबै कीर्तिमानहरू आधिकारिक अन्तर्राष्ट्रिय टी-२० रेकर्डका रूपमा दर्ज हुनेछन्।

यसअघि चार टोलीले एक-एक जना सक्रिय टेस्ट खेलाडी मात्र ल्याउन पाउने नियम रहेकोमा यस पटक आइसिसीले जुनसुकै खेलाडी पनि अनुबन्ध गर्न खुला गरिदिएको छ। पहिलो सिजनमा भारतीय खेलाडी शिखर धवन (कर्णाली याक्स) र दोस्रो सिजनमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस (विराटनगर किंग्स) आएका थिए।

यस पटक भने अस्ट्रेलियाका ओपनर डेविड वार्नरदेखि वेस्ट इन्डिजका आन्द्रे रसेलसम्मका विश्वचर्चित खेलाडीहरू नेपाली मैदानमा उत्रिँदै छन्।

नेपाली भूमिमा पहिलो पटक डिआरएस प्रविधि

यस संस्करणमा पहिलो पटक अत्याधुनिक ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस) प्रविधि प्रयोग गरिँदै छ। यसअघि डिआरएस निकै महँगो भएको बताएका क्यानका सचिव पारस खड्काले यस पटक नेपाली क्रिकेटलाई प्रविधिमैत्री बनाउन डिआरएस भित्र्याइएको बताए।

एलबिडब्ल्यु रिभ्युका लागि फुल थ्रीडी बल ट्र्याकिङ, रनआउट, स्टम्पिङ र नो बल रिभ्युका साथै एआई प्रविधिमार्फत ब्याटको एज डिटेक्सन, वाइडको उचाइ र छक्काको लम्बाइ मापनसहितका बलिङ एनालिटिक्स यस पटक दर्शकले हेर्न पाउनेछन्। पहिलो सिजनमा भुइँमा बसेर खेल हेरेका दर्शकले दोस्रोमा प्यारापिट र फ्लडलाइट पाएका थिए भने यस पटक डिआरएससहित विश्वस्तरीय प्रविधिको अनुभव लिनेछन्।

प्रकाशित: ८ कार्तिक २०८३ २१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App