६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्।

तेस्रो एनपिएल खेल्न दुई खेलाडी नेपाल आइपुगेको क्लबले जनाएको छ। उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए।

बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए। उनले ७ खेलमा २१९ रन बनाएका थिए। दुई अर्धशतक प्रहार गरेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा थिए। उनले अघिल्लो संस्करण बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए।

त्यस्तै, २४ वर्षीय अकबर अली सन् २०२० मा बंगलादेशले पहिलोपटक आइसिसी यु–१९ विश्वकप जित्दाका कप्तान हुन्। दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो।

कर्णालीले दुई बंगलादेशका खेलाडीसहित कूल चार खेलाडी अनुबन्ध गरिसकेको छ। कर्णालीमा यसपटक पुनः स्कटल्यान्डका मार्क वाट देखिदैछन्। यस्तै, पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि अनुबन्ध भएका छन्।  

कात्तिक ९ बाट सुरु हुने एनपिएलको लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन्। यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन्। टोलीमा विपिन शर्मा, युनिस विक्रम सिंह र  दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, सचिन शर्मा र शिवम तिवारीलाई अनुबन्ध गरेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ ११:१५ शुक्रबार