कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध पूर्ण रूपमा धराशायी भएको छ।
ताजा स्थितिमा कर्णालीले १५.२ ओभरमा ७ विकेट गुमाएर मात्र ७५ रन बनाएको छ।
पछिल्लो ५ ओभरमा २ विकेट गुमाउँदै मात्र १५ रन जोड्न सकेको कर्णालीको रनरेट हाल ४.८९ मा झरेको छ। क्रिजमा हुसेन तलत ८ रन र गुलशन झा ५ रन बनाएर अविजित छन्।
यसअघि सुरुवाती ब्याटिङ गरेको कर्णालीले पावरप्लेको पहिलो ६ ओभरमै ४ विकेट गुमाएर ३० रन मात्र जोड्न सकेको थियो। ओपनर दिपेन्द्र रावत खाता नखोली ०.४ ओभरमै अभिषेक गौतमको बलमा बोल्ड भए।
त्यसपछि दीपक डुम्रे ४ रनमा गौतमकै बलमा बोल्ड हुँदा आरिफुल इस्लाम ४ रनमै किशोर महतोको बलमा आउट भए। कर्णालीका कप्तान डेभिड मिलर व्यक्तिगत ५ रनमा शेर मल्लको बलमा क्याच आउट भएपछि १५ रन जोड्दा टोलीका प्रमुख चार ब्याटर पेभेलियन फर्किसकेका थिए।
पाँचौं विकेटका लागि सोमपाल कामीले आक्रामक ब्याटिङ गर्दै इनिङ उकास्ने प्रयास गरे। उनले १८ बलमा ४ चौका र १ छक्काको मद्दतले टोलीका लागि सर्वाधिक २८ रन जोडे। तर ८.१ ओभरमा सोमपाललाई डार्सी सर्टले आसिफ शेखमार्फत क्याच गराएपछि कर्णाली पुनः संकटमा पर्यो।
त्यसपछि पवन सर्राफ २४ बलमा १२ रन बनाएर सर्टकै बलमा बोल्ड भए भने मार्क वाट २ रन जोड्दै लुम्बिनीका कप्तान रोहित पौडेलको बलमा आउट भए।
लुम्बिनीका लागि डार्सी सर्टले कसिलो बलिङ गर्दै ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। अभिषेक गौतमले ४ ओभरमा २१ रन दिएर २ विकेट हात पारे। त्यस्तै किशोर महतो, शेर मल्ल र कप्तान रोहित पौडेलले समान १-१ विकेट लिएका छन्।
प्रकाशित: २६ कार्तिक २०८३ १८:१८ बिहीबार


-600x400.jpg)


