जुडो खेलाडी समिता नेपालीसहित नेपाली जुडो टोली सोमबार तेस्रो एसियाली युथ गेम्समा सहभागी हुन बहराइन जाने भएको छ।
एसियाली युथ गेम्स बहराइनमा चलिरहेको छ। उक्त गेम्समा जुडोको प्रतिस्पर्धा भने अक्टोबर २९ तारिखदेखि हुनेछ। जुडोमा नेपालबाट समिता नेपालीले चुनौती प्रस्तुत गर्दैछिन्। उनले महिला ४४ केजीमुनि खेल्नेछिन्। समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन्। उनी बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन्।
समिताको प्रशिक्षकमा देवकीमाया श्रेष्ठ छिन् । देवकीमाया राष्ट्रिय टिमकी सदस्य पनि हुन्। पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन्। नागर्जुन नगरपालिका वडा–१ ले आइतबार टोलीलाई बिदाइ गरेको थियो।
वडा–१ का अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबीच टोलीको बिदाइ गरेका थिए।
सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रूपमा २५ हजार नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए। एसियाली युथ गेम्सकै लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र आइटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबारै बहराइन जाने कार्यक्रम छ।
प्रकाशित: १० कार्तिक २०८२ ०७:०२ सोमबार





