१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

चेल्सीमा जोर्डन हेन्डरसनको आगमन, दुई वर्षको सम्झौता

पूर्व लिभरपुल तथा इंग्ल्यान्डका कप्तान जोर्डन हेन्डरसनले ब्रेन्टफोर्ड छाडेर चेल्सीसँग दुई वर्षको सम्झौता गरेका छन्।

३६ वर्षीय हेन्डरसन ब्रेन्टफोर्डमा अझै एक वर्षको सम्झौता बाँकी रहेकै अवस्थामा आपसी सहमतिमा क्लबबाट अलग भएका थिए। त्यसपछि उनले स्टामफोर्ड ब्रिजमा चेल्सीसँग सम्झौता गरेका हुन्।

चेल्सीमा आबद्ध भएपछि हेन्डरसनले क्लबको आकार, प्रशिक्षकप्रतिको आफ्नो सम्मान र टोलीमा रहेका खेलाडीहरूको स्तरका कारण यो अवसर अस्वीकार गर्न नसकेको बताएका छन्।

उनले क्लबको स्वामित्व पक्ष चेल्सीलाई सफल बनाउन र सही दिशामा अघि बढाउन निकै प्रतिबद्ध रहेको देखेर आफू प्रभावित भएको पनि बताए।

हेन्डरसनले मैदानभित्र र बाहिर हरेक दिन आफ्नो शतप्रतिशत योगदान दिँदै टोलीका अन्य खेलाडीलाई सहयोग गर्ने र टिमलाई सकेसम्म बलियो बनाउन भूमिका खेल्ने बताएका छन्।

हेन्डरसन चेल्सीको यस गर्मीयामको आठौँ नयाँ खेलाडी बनेका छन्। चेल्सीले यसअघि माक्सेन्स लाक्रोआ, मार्को पालेस्त्रा, ड्यानी वेलबेक र इंग्ल्यान्डका हेन्डरसनका सहकर्मी मोर्गन रोजर्सलगायतका खेलाडी भित्र्याइसकेको छ।

हेन्डरसनले अब स्टामफोर्ड ब्रिजमा नयाँ प्रशिक्षक जाबी अलोन्सोको प्रशिक्षणमा खेल्नेछन्।  लिभरपुल र इंग्ल्यान्डको कप्तानी गरिसकेका अनुभवी मिडफिल्डरको आगमनले चेल्सीको युवा टोलीमा अनुभव र नेतृत्व थपिने अपेक्षा गरिएको छ।

प्रकाशित: १९ श्रावण २०८३ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App