५ असार २०८३ शुक्रबार
image/svg+xml
खेल

आइभरी कोस्टका फरवार्डलाई क्यानडा जान रोक

आइभरी कोस्टका फरवार्ड एलिये वाहीमाथि म्याच फिक्सिङ (मिलेमतो) सम्बन्धी अनुसन्धान चलिरहेका बेला टोलीको आगामी विश्वकपमा उनलाई क्यानडा यत्रा गर्न रोक लाग्ने भएको छ।

समूह ‘ई’ अफ्रिकन राष्ट्र आइभरी कोस्टले आफ्नो दोस्रो खेल शनिबार जर्मनीविरुद्ध टोरन्टोमा खेल्दैछ तर उक्त खेलका लागि २३ वर्षीय फरवार्ड वाहीलाई क्यानडा यात्रा गर्ने अनुमति नदिइएको आइभरी कोस्ट फुटबल महासंघले बिहीबार जनाएको छ। टोलीसँगै वाहीलाई क्यानडा जान नदिइनुको कारण त्यहाँ प्रवेशका लागि आवश्यक प्रशासनिक स्वीकृतिहरू प्राप्त गर्न नसकिएको पनि उल्लेख छ।

सोमबार फिलाडेल्फियामा इक्वेडरविरुद्धको उद्घाटन खेलमा वाहीले आइभरी कोस्टको आक्रमणपंक्ति समालेका थिए। उक्त खेलमा कोट डिभ्वार १–० ले विजयी भएको थियो। टोली फर्किनेसम्म उनी अमेरिकामै रहने भएका छन्।

गत मे महिनामा निसका लागि खेल्दा वाहीले पहेंलो कार्ड पाउने विषयमा अन्तर्राष्ट्रिय स्तरमा असामान्य रूपमा धेरै बाजी लगाइएको फ्रेन्च फुटबल लिगले बुधबार जानकारी दिएको छ। सट्टेबाजी बजारको निगरानी गर्ने साझेदार संस्थाहरूले मे १७ मा निस र मेत्जबीचको लिग वान खेलबारे शंकास्पद गतिविधि देखेको उल्लेख छ। फ्रेन्च लिगलाई सचेत गराइएको छ।

उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो र त्यस खेलमा वाहीले पहेंलो कार्ड सामना गरेका थिए। फ्रेन्च लिगले यो जानकारी सम्बन्धित प्रहरी निकाय, जुवा नियमन निकाय तथा फ्रान्स फुटबल महासंघलाई पठाएको जनाएको छ। मार्सेई अभियोजन कार्यालयले वाहीलाई सोधपुछ पनि गरिसकेको छ।

‘फ्रान्सको लिग वान च्याम्पियनसिपमा खेल्ने २३ वर्षीय एक व्यावसायिक फुटबलरलाई मे २९ तारिखमा अनुसन्धानका क्रममा पक्राउ गरिएको थियो,’ अभियोजन कार्यालयले उल्लेख ग¥यो। उनीमाथि संगठित ठगी, संगठित खेल भ्रष्टाचार, चोरीको सम्पत्ति ग्रहण गर्ने तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी आरोपहरूसँग जोडिएको अभियोजन कार्यालयको अनुसन्धानबाट खुलेको छ। ती खेलाडीलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको थियो। तर पछि थुनामा नराखी रिहा गरिएको थियो। अनुसन्धान अझै जारी रहेको पनि कार्यालयले जनाएको छ। वाहीका प्रतिनिधिहरूले यसबारे टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्।

आइभरी कोस्ट फुटबल महासंघले भने वाहीविरुद्ध कुनै न्यायिक वा प्रशासनिक कारबाहीबारे आफूलाई औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ। ‘यो अत्यन्त संवेदनशील समयमा हामी खेलाडीलाई पूर्ण समर्थन गर्दछौं। उनीप्रति हाम्रो विश्वास कायम छ। एलिये वाही कोट डिभ्वार राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन्,’उनले महासंघले भनेको छ।

मे १७ को खेल लिग वान सिजनको अन्तिम चरण थियो। त्यसको दुई साताभन्दा कम समयपछि वाहीले संघर्षरत निसलाई शीर्ष डिभिजनमा जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सेन्ट एटिएनविरुद्धको प्रोमोसन/रेलिगेसन प्लेअफको दोस्रो लेगमा उनले दुई गोल गर्दै निसलाई ४–१ को जित दिलाएका थिए।  

प्रकाशित: ५ असार २०८३ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App