नेदरल्यान्ड्समा जारी हक्की विश्वकपमा भारतीय पुरुष हक्की टोलीले विजयी सुरुवात गरेको छ। भारतले आफ्नो पहिलो खेलमा वेल्सलाई ३–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।
भारतको जितमा कप्तान हरमनप्रीत सिंहले दुई गोल गरे भने सञ्जयले एक गोल थपे। वेल्सका लागि साम वेल्सले खेलको अन्तिमतिर सान्त्वना गोल फर्काए।
खेलको सुरुवातमा भने भारत केही सुस्त देखिएको थियो। पहिलो पाँच मिनेटमै वेल्सले गोलका केही अवसर सिर्जना गरेको थियो। भारतीय गोलरक्षक सूरज करकेराले ज्याक प्रिचार्डको प्रहार रोक्दै टोलीलाई सुरुवाती झट्काबाट जोगाए।
आठौँ मिनेटमा भारतले पहिलो पेनाल्टी कर्नर प्राप्त गर्यो। हरमनप्रीत मैदानमा नभएको अवस्थामा सञ्जयले उत्कृष्ट ड्र्यागफ्लिक गर्दै गोल गरे। उनको प्रहार वेल्सका गोलरक्षक टोबी रेनल्ड्स-कोटरिललाई छलेर गोलमा प्रवेश गरेपछि भारतले १–० को अग्रता बनायो।
त्यसको तीन मिनेटपछि भारतले अर्को पेनाल्टी कर्नर पायो। यसपटक हरमनप्रीत मैदानमा थिए। कप्तानले गोलरक्षकको बायाँतर्फ शक्तिशाली ड्र्यागफ्लिक गर्दै भारतको अग्रता २–० मा पुर्याए।
पहिलो क्वार्टरमा भारतले थप गोलका अवसर सिर्जना गरेको थियो। विशेषगरी दायाँतर्फबाट जरमनप्रीत सिंहले लगातार आक्रमण गर्दै वेल्सको रक्षापंक्तिलाई दबाबमा राखे।
दोस्रो र तेस्रो क्वार्टरमा वेल्सले केही अवसर सिर्जना गरे पनि स्पष्ट गोलको मौका बनाउन सकेन। भारतले भने ४३औँ मिनेटमा पुनः पेनाल्टी कर्नर प्राप्त गर्यो। हरमनप्रीतले फेरि उत्कृष्ट ड्र्यागफ्लिक गर्दै गोल गरेपछि भारत ३–० ले अगाडि बढ्यो।
वेल्सले खेलमा फर्किने प्रयास जारी राख्यो र ५६औँ मिनेटमा गोल गर्न सफल भयो। भारतीय गोलरक्षक मोहित एचएसले पहिलो प्रहार रोके पनि गोलअगाडि भएको भीडभाडमा वेल्सले बललाई गोललाइन पार गराउन सफल भयो।
उक्त गोलअघि अम्पायरले वेल्सलाई पेनाल्टी स्ट्रोक दिने संकेत गरेका थिए। पछि भिडियो समीक्षा गरेपछि टिभी अम्पायरको सुझावअनुसार पेनाल्टी स्ट्रोकको सट्टा वेल्सलाई गोल प्रदान गरिएको थियो। खेलको बाँकी समयमा थप गोल हुन नसकेपछि भारतले ३–१ को जितसहित तीन अंक हात पार्यो।
भारतले अब सोमबार इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। मुख्य प्रशिक्षक क्रेग फुल्टनको टोली इंग्ल्यान्डविरुद्ध पनि यही विजयी लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
प्रकाशित: ३१ श्रावण २०८३ ०८:०८ आइतबार





