नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न त्रिदेशीय शृंखलाको चारै खेल गुमाएको छ।
दुबईमा बुधबार भएको चौथो खेलमा घरेलु टोलीसँग चार विकेटले पराजित भएपछि नेपालले शृंखलाका चारै खेल गुमाएको हो। लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालको यो २०औं खेलमा १३औं हार हो। १२ अंकसहित सातौं स्थानमा रहेको नेपाल अंकतालिकामा सुधार गर्ने अपेक्षासहित युएई भ्रमणमा गरेको थियो। यद्यपि, सन्तुलित प्रदर्शन हुन नसक्दा युएईको त्रिदेशीय शृंखला नेपाली टोलीका लागि बिर्सनलायक रह्यो।
शृंखलाका चारै खेल जित्दै अमेरिकाले शीर्षताका लागि अंकदूरी बढायो। २४ खेलबाट अमेरिकाले १८ जितसहित ३६ अंक जोडेको छ, जुन नेपालको भन्दा २४ अंकले बढी हो। ३६ खेल पूरा भएपछि शीर्ष चारमा रहने टोलीले आइसिसी विश्वकप क्वालिफायर २०२७ मा स्थान बनाउनेछ।
अब नेपालले लिग–२ मा १६ खेल खेल्न बाँकी छ तर चौथो स्थानमा रहेको ओमानसँग नै १२ अंकले पछि हुँदा नेपालमाथि दबाब बढेको छ। नेपाल पाँचौं स्थानको क्यानडासँग ९ अंक र छैटौं स्थानको नामिबियासँग सात अंकले पछि छ। त्यसैले अब सीधै विश्वकप क्वालिफायरमा स्थान बनाउन र एकदिवसीय मान्यता जोगाउन नेपालमाथि संकट बढेको छ।
लिग–२ को पुछारका चार टोलीले विश्वकप क्वालिफायरको प्लेअफ खेल्न पाउनेछन्। यस्तै खराब प्रदर्शन जारी रहे नेपाली टोलीको अर्को प्लेअफ अर्को माध्यम बन्न सक्नेछ। नेपालको हारमा सन्तुलित प्रदर्शन हुन नसक्नु प्रमुख कारण हो। बलिङले साथ दिँदा ब्याटिङ चल्न सकेको छैन । ब्याटिङमा साथ पाउँदा बलिङमा स्वाभाविक प्रदर्शन हुन आएन।
लिग–२ मा कमजोर प्रदर्शन गरेको पुछारको युएईसँग पनि दुवै खेल गुमाएपछि नेपाली टोलीको मनोबल थप घटेको छ। युएईले नेपालसँग महत्त्वपूर्ण चार अंक लिँदै उसैसँग अंकदूरी पनि घटाएको छ। समान २० खेल खेल्दा नेपाल युएईभन्दा दुई अंकले मात्र अगाडि छ।
नेपालका ओपनरले राम्रो साझेदारी गर्न नसक्दा त्यसको दबाब तल्लो क्रमसम्म पर्न गएको छ। बुधबार युएईविरुद्ध पनि नेपालको ओपनिङ साझेदारी निकै खराब रह्यो। यद्यपि, नेपालले दुई सय ४० रनको मध्यम लक्ष्य दियो। त्यो लक्ष्य घरेलु टोलीले ४९.१ ओभरमा मात्र ६ विकेट गुमाएर भेट्टायो। मुहम्मद साहदाब र मुहम्मद वासिमले राम्रो ब्याटिङ गर्दै घरेलु टोलीलाई जितको आधार बनाए।
यी दुईले चौथो विकेटका लागि एक सय ४७ रनको विशाल साझेदारी गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका साहदाब ९६ रनमा अविजित रहे। वासिम ४४औं ओभरमा सन्दीप लामिछानेको बलिङमा आउट भए तर त्यतिबेला घरेलु टोली सहज जितको संघारमा थियो। त्यसपछि नेपाली बलरले कसिलो बलिङ गर्दै चुनौती दिए पनि सफल भएनन्।
युएईले पाँच बलअगावै जित सुरक्षित गर्यो। वासिमले ७३ बलमा ७६ रन जोडे। उनको इनिङमा चार चौका र तीन छक्का रह्यो। साहदाबले १२३ बल खेल्दा ६ चौका र तीन छक्का प्रहार गरे। यद्यपि, युएईको सुरुआत पनि राम्रो हुन सकेको थिएन। पहिलो ओभरमा नै ओपनर आर्यन्स शर्मा शून्यमा नै करण केसीको सिकार भए।
त्यसपछि अर्का ओपनर तथा कप्तान अलिसान सरफु पनि १८ रनमै पभेलियन फर्किए । तर, साहदाबले अर्को छेउबाट इनिङ समाले। उनले तेस्रो विकेटका लागि सोहब खानसँग ४० रन र वासिमसँग अर्को शतकीय साझेदारी गर्दै जित दिलाए। साहदाब र वसिमबीच साझेदारी तोडेपछि हर्षित कौसिकले साथ दिए।
नेपालका लागि करण केसीले तीन तथा नन्दन यादव, ललितनारायाण राजवंशी र सन्दीप लामिछानेले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३९ रनको योगफल तयार पारेको थियो। नेपालको सुरुआत पनि खराब रह्यो। उनी यस शृंखलामा तेस्रोपल्ट दोहोरो अंकमा रन जोड्न नपाउँदा आउट भएका हुन्।
पहिलो दुई खेलमा कुशल क्रमशः शून्य र ७ रनमा आउट भए । तेस्रो खेलमा अमेरिकासँग ४७ रन जोड्दै लयमा फर्किने संकेत गरेका थिए तर चौथो खेलमा पनि उनको खराब प्रदर्शन दोहोरियो र नेपाली टोलीको ओपनिङ साझेदारी एकपल्ट पनि सुखद भएन। त्यसपछि ओपनर आसिफ र भीम सार्कीले इनिङ अगाडि बढाउने प्रयास गरे।
यी दुईबीच दोस्रो विकेटका लागि ७४ रनको साझेदारी बन्यो तर तालमेल मिल्न नसक्दा आसिफ ३४ रनमा रनआउट भए। त्यसपछि नेपालले खासै राम्रो साझेदारी बनाउन सकेन। भीम ४८ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी पनि ३७ रनमा रनआउट भए।
पहिलोपल्ट शृंखलामा अवसर पाएका कुशल मल्लले सुखद प्रदर्शन गरे। मध्यक्रममा आएका कुशलले ४५ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे पनि पर्याप्त भएन। उनले नवौं विकेटका लागि सन्दीपसँग ४२ रनको महत्त्वपूर्ण साझेदारी पनि गरे।
सन्दीप १५ रनमा अविजित रहे। कुशलको इनिङमा एक चौका र तीन छक्का रह्यो। सन्दीपको इनिङमा दुई चौका रह्यो। आसिफ शेखले ३४, आरिफ शेखले ३० र युएईको बलिङमा लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले समान दुई तथा जाहिद अलीले एक विकेट लिए।
प्रकाशित: २० कार्तिक २०८२ ०९:४६ बिहीबार





