४ कार्तिक २०८३ बुधबार
image/svg+xml
खेल

नेपालमा हुने आइसिसी यु-१९ महिला विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल आयरल्यान्डसँग

नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आइसिसी यु-१९ महिला टी ट्वान्टी विश्वकप क्रिकेट २०२७ को खेल तालिका सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल ४१ खेल हुने विश्वकपका खेल बंगलादेशको चटगाउँ र सिलेट तथा नेपालको काठमाडौंमा आयोजना हुनेछन् । नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्डसँग खेल्नेछ । नेपालमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन् ।

बंगलादेशमा भने चटगाउँस्थित वीर श्रेष्ठ शहीद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट स्टेडियम र सिलेट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल हुनेछन् । समूह ‘ए’ मा भारत, आयरल्यान्ड, वेस्ट इन्डिज र नेपाल छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स (युएई) तथा समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड छन्।

प्रतियोगिताको उद्घाटन जनवरी २१ मा हुनेछ। पहिलो दिन चार खेल हुने तालिका छ। बंगलादेशले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने अघिल्लो संस्करणको उपविजेता अस्ट्रेलियाले नाइजेरियाको सामना गर्नेछ। यी दुवै खेल सिलेटमा हुनेछन्। काठमाडौंमा श्रीलंकाले स्कटल्यान्डसँग र इंग्ल्यान्डले अमेरिकासँग खेल्नेछन्।

दुई पटकको साविक विजेता भारतले जनवरी २२ मा काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजसँग खेल्दै उपाधि रक्षाको अभियान थाल्नेछ। सोही दिन आयोजक नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। चटगाउँमा न्युजिल्यान्ड र सामोआ तथा दक्षिण अफ्रिका र पाकिस्तानबीच खेल हुनेछ।

समूह चरणका खेल जनवरी २६ सम्म सञ्चालन हुनेछन्। त्यसपछि छनोट भएका टोलीले सुपर सिक्स चरणमा प्रतिस्पर्धा गर्नेछन्। सुपर सिक्समा टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सेमिफाइनलका खेल फेब्रुअरी ४ मा चटगाउँस्थित वीर श्रेष्ठ शहीद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट स्टेडियममा हुनेछन्। सेमिफाइनलका लागि फेब्रुअरी ५ लाई वैकल्पिक दिनका रूपमा राखिएको छ।

प्रतियोगिताको फाइनल फेब्रुअरी ६ मा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे हुनेछ। फाइनलका लागि फेब्रुअरी ७ लाई वैकल्पिक दिन तोकिएको छ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत सञ्जोग गुप्ताले यू–१९ विश्वकप युवा खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन्। उनका अनुसार प्रतियोगिताले विभिन्न देशका युवा खेलाडीलाई विश्वमाझ चिनिन र भविष्यमा राष्ट्रिय टोलीबाट उच्चस्तरको क्रिकेट खेल्ने अवसरका लागि आफूलाई तयार पार्न मद्दत गर्नेछ।

गुप्ताले बंगलादेश र नेपाललाई आयोजकका रूपमा छनोट गर्नु क्रिकेटको भविष्यप्रति आईसीसीको विश्वास र लगानीको प्रतिबिम्ब भएको पनि बताएका छन् । दुवै देशमा क्रिकेटप्रति गहिरो आकर्षण रहेको र जनसंख्याको झन्डै ४० प्रतिशत हिस्सा २० वर्षभन्दा कम उमेरका युवाको रहेकाले युवा क्रिकेटको विश्वस्तरीय प्रतियोगिता आयोजना गर्न उपयुक्त वातावरण रहेको उनको भनाइ छ।

नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने यो विश्वकपले महिला क्रिकेटका उदीयमान खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै नेपालमा महिला क्रिकेटको विकास र प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ कार्तिक २०८३ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App