विश्व फुटबलमा स्कटल्यान्डको इतिहास गौरवशाली भए पनि विश्वकप सहभागिताका हिसाबले पछिल्ला तीन दशक त्यति सुखद रहेनन् ।
सन् १९९८ पछि विश्वकपबाट टाढा रहेको स्कटल्यान्डले यसपल्ट पुनरागमन मात्र गरेन ३६ वर्षदेखि जितको प्रतीक्षा पनि अन्त्य भएको छ । बोस्टन स्टेडियममा भएको समूह ‘सी’ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० रच्यो र विश्वकप २०२६ मा सुखद सुरुआत गर्यो ।
जोन म्याकगिनले गरेको एकमात्र गोल नै स्कटल्यान्डको ऐतिहासिक जितका लागि पर्याप्त बन्यो । जुन जित स्कटल्यान्ड र उसका समर्थकका लागि विशेष रह्यो । सन् १९९० को विश्वकपमा स्कटल्यान्डले स्विडेनलाई २–१ ले हराएको थियो । त्यसपछि पहिलोपल्ट (साढे तीन दशकपछि) स्कटल्यान्डले विश्वकपमा जित रच्यो । ९० पछि स्कटल्यान्डले विश्वकपमा एकपल्ट मात्र सहभागी भयो र त्यसमा पनि जित निस्किएन ।

विश्वकपअघि धेरै विश्लेषकहरूले स्कटल्यान्डलाई समूहको कमजोरमध्ये एक टोलीका रूपमा विश्लेषण गरे । यस समूहमा ब्राजिल र मोरक्कोजस्ता बलिया टोली छन् । हाइटीजस्ता प्रतिस्पर्धी टोलीको हुनुले उक्त विश्लेषण स्वाभाविक हो । त्यसअघि बिहान ब्राजिल र मोरक्कोबीचको खेल १–१ को बराबरीमै सकियो । तर स्कटल्यान्डले पहिलो खेलमै तीन अंक जोड्दै आलोचकहरूलाई जबाफ दिएको छ ।
खेलको २८औं मिनेटमा म्याकगिनले गोल गरे र जुन निर्णायक गोल पनि साबित भयो । चे एडम्सको प्रहार गोलकिपर जोनी प्लासिडले रोक्ने प्रयास गरे पनि फर्किएको बललाई म्याकगिनले जाली चुमाए । उनको सट विपक्षी डिफेन्डरमा लाग्दै गोलमा परिणत भयो । गोलपछि स्टेडियममा उपस्थित हजारौं स्कटिस समर्थक उत्साहले गुन्जिए ।
‘टार्टन आर्मी’ उपनामका स्कटिस समर्थकले पूरा खेलभर टोलीलाई निरन्तर साथ दिए । ब्राजिल र मोरक्कोले बराबरी खेलेका कारण स्कटल्यान्ड अप्रत्याशित रूपमा समूहको शीर्ष स्थानमा पुग्यो । बलिया टोलीले अंक बाँड्दा स्कटल्यान्डले त्यसको लाभ उठाएको छ । प्रशिक्षक स्टिभ क्लार्कका लागि पनि यो जित विशेष रह्यो । युरोपियन च्याम्पियनसिपमा निराशाजनक नतिजापछि आलोचनाको केन्द्रमा रहे पनि विश्वकपमा भने उनले सफल सुरुआत गरेका छन् ।

‘हामीमाथि धेरै दबाब थियो । तर खेलाडीले सहज लिँदै र इतिहास रचे,’क्लार्कले भने । सन् १९७४ पछि दोस्रोपल्ट विश्वकप खेलिरहेको हाइटीले हारका बाबजुद प्रतिस्पर्धात्मक प्रदर्शन ग¥यो । हैटीले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेन ।
७४औं मिनेटमा रुबेन प्रोभिडेन्सको क्रसमा विल्सन इसिडोरले राम्रो अवसर गुमाए । फ्रान्ट्जडी पिएरोटको ८४औं मिनेटमा हेडर दिशामा रहेन । हाइटीका प्रशिक्षक सेबास्टियन मिग्नेले आफ्नो टोलीको प्रदर्शनप्रति सन्तुष्टि देखिए र सानो गल्तीले हार व्यहोर्नुपरेको बताए ।
विश्वकपको लामो यात्रामा स्कटल्यान्डका लागि यो तीन अंक मात्र होइन र आत्मविश्वास फर्काउने माध्यम हो । साढे तीन दशकभन्दा लामो प्रतीक्षापछि प्राप्त भएको विश्वकप विजयले स्कटल्यान्डका समर्थकलाई नयाँ आशा दिएको छ । अब टोलीको नजर शुक्रबार हुने मोरक्कोविरुद्धको खेलमा केन्द्रित हुनेछ । उक्त खेलमा जित निस्किए स्कटल्यान्ड नकआउट चरण नजिक पुग्नेछ ।
प्रकाशित: ३१ जेष्ठ २०८३ १६:५२ आइतबार





