अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को सामाजिक वर्ष २०२५ अन्तर्गत एसियामा आयोजना हुने एकमात्र ‘हिमालयन क्वीन्स ग्याम्बिट’ बुद्धिचाल प्रतियोगिता आइतबार काठमाडौंमा हुँदैछ।
महिला खेलाडीहरूको सहभागितालाई प्रोत्साहन गर्ने अभियानका रूपमा आयोजना हुन लागेको यस प्रतियोगितामा १०० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना हुन लागेको यो प्रतियोगिताले बौद्धिक खेलमार्फत महिला सशक्तीकरणमा जोड दिने लक्ष्य राखेको छ।
‘फिडेले यो वर्ष चेसमा महिलाको सहभागितालाई विशेष प्रोत्साहन गरेको छ। हिमालयन क्वीन्स ग्याम्बिट त्यही अभियानको एक हिस्सा हो,’ एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले भनिन्, ‘प्रतियोगितामा ओपन, स्कुल र विभिन्न उमेर समूह गरी आठ स्पर्धा समावेश गरिएको छ।’
नेपाली चेस समुदायमा महिला खेलाडीको सहभागिता न्यून रहेको अवस्थामा यस्ता प्रतियोगिताले नयाँ खेलाडीलाई उत्साहित गर्ने विश्वास आयोजकको छ।
कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईले भने, ‘यो प्रतियोगिताले चेसमा महिला खेलाडीको सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं।’
थापाथलीस्थित सेन्ट जेभियर कलेजको वाट्रिन हलमा हुने एकदिने प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार र्यापिड ढाँचामा सञ्चालन हुनेछ।
सात राउन्डसम्म चल्ने खेलमा प्रत्येक खेलाडीले १० मिनेटको समय पाउनेछन्। प्रतियोगिताको खुलातर्फ शीर्ष तीन खेलाडी तथा विद्यालयतर्फ शीर्ष तीन स्कुलले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, १०, १३ र १६ वर्षमुनि तथा ५० वर्षमाथिको भेट्रान स्पर्धा पनि समावेश गरिएको छ।
हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको यो दोस्रो महिला विशेष प्रतियोगिता हो।
प्रकाशित: २९ श्रावण २०८२ २२:०४ बिहीबार





