ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवामा मंसिर २ देखि आयोजना हुने तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको उपस्थितिमा बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष तथा तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला मूल समितिका संयोजक विजय साँवा लिम्बूका अनुसार मंसिर २ गते हुने उद्घाटन खेलमा आयोजक टोलीले अपर मेवा जलविद्युत् आयोजना, काठमाडौंको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल हुनेछ ।
मंसिर ३ गते दुईवटा क्वार्टरफाइनल खेल सञ्चालन हुनेछन् । दोस्रो दिनको पहिलो खेलमा पाँचथरको कुम्मायक गाउँपालिकाको टोलीले मिक्वाखोला गाउँपालिका–२, खोक्लिङस्थित खोक्लिङ सामाजिक युथ क्लबको सामना गर्नेछ । यो प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।
त्यसैगरी, सोही दिन तेह्रथुमको फेदाप गाउँपालिकाको टोली र झापाको सैनिक युथ क्लबबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।
मंसिर ४ गते हुने चौथो तथा अन्तिम क्वार्टरफाइनलमा मेरिङदेन गाउँपालिकाको ग्रीनभ्याली युथ क्लब र धरानको मरिक एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
मंसिर ५ गते सेमिफाइनलका दुई खेल सञ्चालन हुनेछन् भने मेलाको समापनका दिन मंसिर ६ गते फाइनल खेल आयोजना गरिने आयोजकले जनाएको छ ।
यस वर्ष पनि आयोजकले पुरुष फुटबल प्रतियोगिताका विजेतालाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष साँवा लिम्बूका अनुसार प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछन् ।
फुटबलका विभिन्न विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत नगदको सट्टा अलैँची नै पुरस्कारस्वरूप प्रदान गरिनेछ । अलैँचीको प्रवर्द्धन र स्थानीय उत्पादनको उचित बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको अध्यक्ष साँवा लिम्बूले बताए । उनका अनुसार मेलामा सहभागी अतिथिलाई समेत अलैँची उपहार दिने व्यवस्था मिलाइनेछ ।
नेपालमै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लाका रूपमा परिचित ताप्लेजुङमा स्थानीय उत्पादनलाई पर्यटन र खेलकुदसँग जोड्ने उद्देश्यले आयोजकले पुरस्कारका रूपमा अलैँची वितरण गर्ने अभ्यासलाई निरन्तरता दिएको हो ।
करिब तीन सय मिटर अग्लो चट्टानबाट झर्ने फङ्फङदेन (फुङ्फुङ्गे) झरना बाह्रै महिना अविरल पानी बगिरहने नेपालका थोरै प्राकृतिक झरनामध्ये एक हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय कला, संस्कृति तथा पहिचानको प्रचारप्रसार गर्ने उद्देश्यले मेला आयोजना हुँदै आएको छ ।
प्रकाशित: २६ कार्तिक २०८३ १८:०४ बिहीबार





