४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

सागका दोहोरो स्वर्णधारी श्रेष्ठसहित विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर

फ्रेन्चाइज क्रिकेट टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी मण्डेकाजी श्रेष्ठसहित विभिन्न खेलका पाँच खेलाडीलाई ‘गुडवील एम्बासडर’मा नियुक्त गरेको छ।

मंगलबार एक कार्यक्रमबीच गोर्खाजले श्रेष्ठसँगै फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई गुडवील एम्बासडर बनाएको हो।

श्रेष्ठले १३ औं सागमा एकल काता र टिम इभेन्टमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए। उनी हाल राष्ट्रिय टोलीका काता प्रशिक्षक हुन्।

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेट कुथुले पनि १३औं सागमा स्वर्ण जितेका थिए। उनी हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट फुटबल खेलिरहेका छन्। उनी सरस्वती क्लब, जावलाखेल युथ क्लब र मध्यपुर युथ एसोसिएसनका पूर्व खेलाडी हुन्।

ओलम्पियन सन्तोषीले पनि १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। उनि एथलेटिक्सबाट स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी हुन्। गत वर्ष पेरिस ओलम्पिकमा सन्तोषीले सहभागिता जनाएकी थिइन्।

त्यस्तै राष्ट्रिय भलिबल टोलीकी सदस्य तथा नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्द पोखरा निन्जाजबाट आसन्न एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्दैछिन्।

यसै वर्ष एम्बेसी ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी सीता तामाङ छैटौं, सातौं र नवौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न सफल खेलाडी हुन्।  

कार्यक्रममा काठमाडौं गोर्खाजका  कार्यकारी निर्देशक अनुभव सिरोहिया, काठमाडौं गोजर्खाका सिइओ सुरज सिंग ठकुरी र पूर्व कराते खेलडी सिमोन खत्रीको उपस्थीति  थियो।

प्रकाशित: १८ भाद्र २०८२ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App