१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

सौराहामा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै, ८०० खेलाडी सहभागी हुने अपेक्षा

चितवनको सौराहामा पहिलो पटक अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ। चितवन तेक्वान्दो डोजाङको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म (अक्टोबर ३० देखि नोभेम्बर १) ‘प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६’ सञ्चालन हुन लागेको हो।

प्रतियोगितामा नेपालका सातवटै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायत देशका करिब ८०० खेलाडी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधामा विभिन्न उमेर तथा तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने, अनुभव आदानप्रदान गर्ने र अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको टिमतर्फ प्रथम हुने टोलीले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट पुरुष तथा महिला पुम्से खेलाडी, उत्कृष्ट पुरुष तथा महिला ग्योरोगी खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन कात्तिक १३ गते अपराह्न ४ बजे हुनेछ भने समापन तथा पुरस्कार वितरण कार्यक्रम कात्तिक १५ गते अपराह्न ४ बजे आयोजना गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ र चितवन जिल्ला तेक्वान्दो संघको सहयोग तथा समन्वय रहनेछ।

आयोजकका अनुसार प्रतियोगिता खेलकुद प्रतिस्पर्धामा मात्र सीमित रहने छैन। विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको आगमनले सौराहाको पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधिमा वृद्धि र चितवनको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्नुका साथै आगामी दिनमा चितवनमा थप अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनु पनि प्रतियोगिताको लक्ष्य रहेको छ।

पत्रकार सम्मेलनमा डोजाङ प्रमुख रोशन खान, प्रतियोगिता संयोजक प्रज्वल दवाडी र अन्तर्राष्ट्रिय संयोजक अशोक खड्कालगायतले प्रतियोगिता सफल बनाउन सञ्चारमाध्यम, संघसंस्था, प्रायोजक तथा खेलप्रेमीको सहयोग आवश्यक रहेको बताएका थिए।

प्रकाशित: ११ कार्तिक २०८३ २१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App