अफ्रिका कप अफ नेसन्समा सहभागी हुनुअघि अफ्रिकी स्टार खेलाडीले डिसेम्बर १५ सम्म थप एक हप्ताका लागि क्लबसँग बिताउन पाउने भएका छन्।
लिभरपुलका मोहम्मद सालाह, म्यानचेस्टर युनाइटेडका ब्रायन एमबुमो र पेरिस सेन्ट जर्मेन (पिएसजी) का असरफ हकिमीले अफ्रिका कप अफ नेसन्समा आआफ्ना देशबाट खेल्दै छन् तर फिफाले उक्त प्रतियोगितामा सहभागी हुनुभन्दा थप एक हप्ता उनीहरूले क्लबसँग बिताउन पाउने बुधबार जनाएको छ।
युरोपियन फुटबलमा सालाह, एमबुमो र हाकिमी आआफ्ना क्लबका लागि महत्त्वपूर्ण खेलाडी हुन् तर यी खेलाडीबिना नै क्लबले पाँच हप्तासम्म खेल्नुपर्नेछ। २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने अफ्रिका कप अफ नेसन्स आगामी डिसेम्बर २१ देखि जनवरी १८ सम्म मोरोक्कोमा हुँदै छ। फिफाले देशका लागि खेलाडीको रिलेज पेपरमा थप एक हप्ता कटाए पनि उनीहरू लामो अवधि बाहिर हुँदा नोक्सानी हुने भन्दै क्लबहरू डराएका छन्।
प्रतियोगिता आयोजक कन्फेडरेसन अफ अफ्रिकी फुटबल (सिएएफ) सँग छलफलपछि फिफाको उक्त बयान आएको हो। ‘सम्बन्धित पक्षसँग छलफलपछि सकारात्मक नतिजा आएको छ। साथै विभिन्न पक्षलाई पर्ने असरबारे पनि कुराकानी भयो। त्यसमा सिएएफ पनि सकारात्मक देखियो र त्यहाँबाट एकताको भावना आयो,’ फिफाले भनेको छ।
सिएएफका सदस्य संघहरू पनि क्लबसँग सहकार्य गर्न तयार देखिए। देशको कर्तव्यका लागि खेलाडीहरू डिसेम्बर ८ सम्म उपस्थित हुनुपर्ने प्रावधान छ तर फिफाको पछिल्ला निर्णयमा एक हप्ता थपिएको छ। तर पनि प्रिमियर लिगका क्लब र अन्य युरोपियन लिगका क्लबले आफ्ना महत्त्वपूर्ण खेलाडीबिना नै ७/८ वटा लिग खेल खेल्नुपर्नेछ।
अहिले इङ्लिस प्रिमियर लिगमा सन्डरल्यान्ड उच्च लयमा छ। खराब प्रदर्शन गरिरहेको वुल्भरह्याम्पटनले संघर्ष गरिरहेको छ तर यी दुई क्लब क्रमश: ७ र ५ खेलाडीबिना नै लामो समय लिग खेल्न बाध्य हुने भएका छन्। त्यसैले यो बिच क्लबले धेरै क्षति नै बेहोर्नु पर्न सक्छ।
लिभरपुलले पनि इजिप्टका स्टार सलाहबिना, म्यानचेस्टर सिटीले इजिप्टकै ओमार मार्मौस र अल्जेरियाका रायान नौरीबिना तथा युनाइटेडले क्यामरुनका एमबुमो, आइभरी कोस्टका आमद डाइलो र मोरोक्कोका नौसेर माजराउई बिना प्रतिस्पर्धा गर्नुपर्नेछ। शीर्ष स्थानको आर्सनलसँगै चेल्सी र लिड्स युनाइटेडले पनि यस दौरान केही अफ्रिकन खेलाडी गुमाउनुपर्ने छैन।
फ्रान्सेली र युरोपियन च्याम्पियन पिएसजीले भने महत्त्वपूर्ण खेलाडी हाकिमीबिना नै केही समय खेल्नेछ। उनी अफ्रिकन प्लेअर अफ दी इअर पनि हुन्। युरोपियन जायन्ट रियाल मड्रिड, बार्सिलोना, एसी मिलान र युभेन्टसका लागि भने अफ्रिकी फुटबल प्रतियोगिताका कारण कुनै असर पर्ने छैन।
बायर्न म्युनिखका फरवार्ड निकोलस ज्याक्सन चेल्सीबाट लोनमा गएका हुन्। उनी पनि अफ्रिका कप अफ नेसन्समा रहनेछन् तर उनले भने बुन्डेसलिगाका धेरै खेल गुमाउनुपर्ने छैन। किनकि डिसेम्बर २२ देखि जनवरी ८ सम्म त्यहाँ ब्रेक हुनेछ। अफ्रिका कप अफ नेसन्समा यसपल्ट मोरोक्को, इजिप्ट र सेनेगललाई बलिया दाबेदारका रूपमा हेरिएको छ।
प्रकाशित: १८ मंसिर २०८२ ०८:४७ बिहीबार

