खुट्टाको चोटका कारण पीडाबिना हिँड्नसमेत नसक्ने अवस्थामा न्युयोर्क पुगेकी एलेना रिबाकिना युएस ओपन च्याम्पियन र विश्व टेनिसकी नयाँ नम्बर एक खेलाडी बनेर त्यही सहरबाट बिदा भएकी छन्।
काजाकिस्तानकी २७ वर्षीया रिबाकिनाले शनिबार राति युएस ओपनको फाइनलमा दुई पल्टकी डिफेन्डिङ च्याम्पियन आर्यना सबालेन्कालाई ६–४, ५–७ र ६–२ को सेटमा हराउँदै सानदार प्रदर्शन गरिन्। यससँगै जनवरीमा अस्ट्रेलियन ओपनमा सबालेन्काविरुद्ध प्राप्त विजययात्रालाई दोहोर्याउँदै उनले वर्षको तेस्रो ग्रान्ड स्लाम उपाधि आफ्नो नाममा लेखाइन्।
शनिबार राति युएस ओपनको ट्रफी उचालेपछि रिबाकिनाले प्रतियोगिताअघि आफूले भोगेको कठिन अवस्थालाई सम्झँदै आफ्नो जीवनमा कुनै जादु भइरहेको महसुस भएको बताइन्। गत महिना सिनसिनाटी ओपनको क्वार्टरफाइनलमा इगा स्वियाटेकविरुद्ध खेल्ने क्रममा खुट्टाको चोटले रिबाकिनालाई गम्भीर बनाएको थियो।
वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन सुरु हुन एक साताभन्दा अघि मात्रै उनको चोट बल्झिएको थियो। चोटकै अवस्थामा खेल जारी राख्दा बाँकी सिजनमा समेत त्यसको गम्भीर असर पर्न सक्ने जोखिम थियो तर विश्व नम्बर एक बन्ने अवसर आफ्नै हातमा रहेको बुझेकी रिबाकिना वर्षको अन्तिम ग्रान्ड स्लामबाट टाढा राख्न चाहन्नथिन्। ‘म निकै निराश थिएँ। वास्तवमा दिनदिनै अवस्था कस्तो हुने हो भन्ने थाहा थिएन,’ उनले भनिन्, ‘न्युयोर्क आइपुगेपछि एमआरआई गरायौं। रिपोर्ट राम्रो देखिएको थिएन। त्यसपछिका केही दिन त म पीडाबिना हिँड्नसमेत सक्दिनथेँ। ’ आफ्नो उपचारमा अस्ट्रेलियाकी चिकित्सकको महŒवपूर्ण भूमिका रहेको रिबाकिनाले बताइन्। रिबाकिनाले एक सातासम्म कोर्टमा कुनै प्रशिक्षण गरिनन्।
त्यसको सट्टा उनले जिममा दैनिक रूपमा रिकभरी सेसन गरिन्। मानसिक रूपमा पनि आफूलाई तयार राख्न उनले टोलीसँगै डिनरमा जाने र सिनेमा हेर्नेजस्ता गतिविधि गरिन्। ध्यान चोटबाट हटाएर मानसिक रूपमा आफूलाई बलियो बनाउन माइन्ड स्विच गर्ने प्रयास उनले गरेकी थिइन्। त्यसकै परिणामस्वरूप उनी अर्को ग्रान्ड स्लाम उपाधिको यात्रामा अघि बढिन्।
फ्लसिङ मिडोजमा रिबाकिनाले सुरुआती चार खेलमध्ये कुनै पनि सेट नगुमाई जितिन्। त्यस क्रममा उनले चार पटककी ग्रान्ड स्लाम विजेता नाओमी ओसाकालाई समेत हराइन्। त्यसपछि उनको यात्रा अझ प्रभावशाली बन्यो। क्वार्टरफाइनलमा ओलम्पिक च्याम्पियन झेङ छिनवेनलाई हराइन्।
सेमिफाइनलमा तेस्रो वरीयताकी कोको गफलाई हराउँदै फाइनलमा प्रवेश गरिन्। अन्ततः शीर्ष वरीयताकी सबालेन्कालाई हराउँदै रिबाकिना युएस ओपनको उपाधि जितिन्। ‘चोटका कारण दुर्भाग्यशाली थिएँ। तर मलाई आफूमा निकै गर्व छ,’ रिबाकिनाले भनिन्,‘म अझै पनि यो विश्वास गर्न सकिरहेकी छैन।’
न्युयोर्कमा सेमिफाइनल पुगेसँगै रिबाकिना विश्व नम्बर एक बन्ने निश्चित भइसकेको थियो। अझ अर्को विशेष पक्ष पनि थियो। किनकि फाइनलमा उनको प्रतिद्वन्द्वी त्यही सबालेन्का थिइन्। जसलाई हराउँदा रिबाकिनाले विश्व वरीयताको शीर्ष स्थान सम्हाल्ने थिइन्। त्यसैले शनिबार रातिको फाइनलमा उपाधिका लागि मात्रै नभई विश्व नम्बर एकको स्थानका लागि पनि विशेष प्रतिस्पर्धा देखिएको थियो।
रिबाकिनाले पहिलो सेट आफ्नो पक्षमा पारिन्। तर उनको सबैभन्दा ठूलो हतियार मानिने सर्भले भने सुरुआतमा अपेक्षित प्रदर्शन गर्न सकेन। पहिलो सेटमा उनले २७ प्रतिशत पहिलो सर्भिस सफलतापूर्वक इन गरिन्। यद्यपि पहिलो सर्भिसपछि प्राप्त ३० मध्ये २२ अंक जित्न सफल भइन्। उनले एकपटक पनि ब्रेक प्वाइन्टको सामना गर्नुपरेन र पहिलो सेट ६–४ ले आफ्नो नाममा लेखाइन्। दोस्रो सेटमा भने सबालेन्काले खेलमा फर्कने संकेत दिइन्। उनले १२औं गेममा रिबाकिनाको सर्भिस ब्रेक गर्दै दोस्रो सेट ७–५ ले जितिन् र खेललाई निर्णायक तेस्रो सेटमा पुर्याइन्। तर निर्णायक सेटमा रिबाकिनाले खेलमाथि पूर्ण नियन्त्रण कायम गरिन्। सबालेन्का खेल आफ्नो हातबाट फुत्किँदै गएपछि स्पष्ट रूपमा निराश देखिन थालिन्।
यसको ठीक विपरीत रिबाकिना भने असाधारण रूपमा शान्त र संयमित रहिन्। पूर्वबेलायती नम्बर एक खेलाडी एनाबेल क्रफ्टले कोर्टभित्र रिबाकिनाको व्यवहारलाई प्रशंसा गरिन्। यद्यपि उपाधि नजिक पुग्दा रिबाकिनाले पनि केही दबाब महसुस गरिन्। उपाधिका लागि सर्भ गर्ने क्रममा उनले लगातार दुई डबल फल्ट गरिन्। ४०–३० को अवस्थामा ट्रफी आफ्नो आँखाअगाडि देखिरहेकी रिबाकिनाले गल्ती गर्न सक्ने अवस्था थियो तर उनले त्यस क्षणलाई आफूमा हाबी हुन दिइनन्। दोस्रो वरीयताकी रिबाकिनाले आफ्ना तीन ग्रान्ड स्लाम उपाधिमध्ये यसपटक सबैभन्दा ठूलो उत्सव मनाइन्। मुस्कुराउँदै उनले दुवै हात माथि उठाएर दर्शकको ताली स्वीकार गरिन्।
रिबाकिनाले सबालेन्काविरुद्ध खेलेका तीन ग्रान्ड स्लाम फाइनलमध्ये दुईमा जित रचेकी छन्। ती तीनै फाइनल हार्ड कोर्टमा भएका थिए, जुन दुवै खेलाडीको मन पर्ने सतह मानिन्छ। युएस ओपन उपाधिसँगै रिबाकिनाले आफ्नो करियरमा अर्को ऐतिहासिक उपलब्धि थपेकी छन्।
सोमबार उनी महिला टेनिसको विश्व वरीयतामा शीर्ष स्थानमा पुग्ने ३०औं फरक खेलाडी बन्नेछिन्। यसअघि लगातार ९९ सातासम्म विश्व नम्बर एक रहेकी सबालेन्काको स्थान अब रिबाकिनाले लिनेछिन्। रिबाकिनाले युएस ओपन जितेसँगै करियर ग्रान्ड स्लामको चारमध्ये तीन उपाधि आफ्नो नाममा पारिसकेकी छन्। अब उनको लक्ष्यमा फ्रेन्च ओपनको उपाधि मात्रै बाँकी छ। सन् २०२२ मा विम्बल्डन जितेर उनले पहिलो ग्रान्ड स्लाम उपाधि हात पारेकी थिइन्।
त्यसपछि दोस्रो ग्रान्ड स्लाम उपाधिका लागि उनलाई जनवरीसम्म कुर्नुपरेको थियो। जहाँ उनले अस्ट्रेलियन ओपन जितिन्। त्यसको केही महिनामै उनले न्युयोर्कमा तेस्रो ग्रान्ड स्लाम उपाधि थपेकी छन्। फ्रेन्च ओपनमा भने रिबाकिनाको उत्कृष्ट प्रदर्शन क्वार्टरफाइनलसम्म मात्रै सीमित छ। यद्यपि क्ले कोर्टमा हुने प्रतियोगितामा उनी कमजोर भने छैनन्। उनले सन् २०२३ मा रोममा भएको डब्ल्युटिए १००० प्रतियोगिता क्ले कोर्टमै जितेकी थिइन्।
प्रकाशित: २९ भाद्र २०८३ ०६:३९ सोमबार





