यूईएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियामाथि ७-० को फराकिलो जित निकालेको छ। यस्तै, स्पेनले चेक गणतन्त्रलाई ३-१ ले पराजित गर्दा स्कटल्यान्ड र स्विट्जरल्यान्ड पनि विजयी भएका छन्।
क्रोएसियाको मैदानमा भएको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केन र बुकायो साकाले समान दुई गोल गरे। जुड बेलिङ्घम, एन्थोनी गोर्डन र मोर्गन रोजर्सले एक-एक गोल थपे। बेलिङ्घमले गोलसँगै तीन गोलका लागि अवसर सिर्जना गरेका थिए।
इंग्ल्यान्डले खेलको आठौं मिनेटमा केनको गोलबाट अग्रता लिएको थियो। बेलिङ्घमले २१औं र गोर्डनले ३९औं मिनेटमा गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमै ३-० ले अघि रह्यो। पहिलो हाफको अन्त्यतिर साकाले गोल गरे। दोस्रो हाफमा केन र साकाले थप एक-एक गोल गरे भने रोजर्सले खेल सकिन तीन मिनेट बाँकी छँदा सातौं गोल गरे।
जितपछि इंग्ल्यान्ड लिग ए को समूह ३ मा तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ। क्रोएसियाको तीन अंक छ भने चेक गणतन्त्र अंकविहीन छ।
यसै समूहको अर्को खेलमा स्पेनले चेक गणतन्त्रलाई ३-१ ले हरायो। स्पेनका लागि लामिन यामाल, रोड्री र मिकेल मेरिनोले गोल गरे। चेक गणतन्त्रका जिरी स्लामाले एक गोल फर्काए। जितसँगै स्पेनले तीन खेलबाट नौ अंक जोड्दै समूहको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।
गएराति नै भएको अर्को खेलमा स्कटल्यान्डले नर्थ म्यासेडोनियालाई २-० ले हरायो। स्कटल्यान्डका लागि किरन बोवी र जोन म्याकगिनले गोल गरे। खेलको ८३औं मिनेटमा स्कटल्यान्डका स्कट म्याककेनालाई रातो कार्ड देखाइएको थियो।
यस्तै, स्विट्जरल्यान्डले स्लोभेनियालाई २-१ ले पराजित गर्यो। स्लोभेनियाले जान भिपोटनिकको गोलबाट अग्रता लिए पनि एरिक जान्जाको आत्मघाती गोल र डान एनडोयको गोलमा स्विट्जरल्यान्डले पुनरागमन जित निकाल्यो। स्विट्जरल्यान्ड तीन खेलबाट नौ अंकसहित लिग बी को समूह १ मा शीर्ष स्थानमा छ। स्कटल्यान्ड र स्लोभेनियाको समान चार अंक छ।
गएरातिकै अन्य खेलमा फिनल्यान्डले अल्बानियालाई २-१, बेलारुसले सान मारिनोलाई ४-०, इस्टोनियाले लक्जेम्बर्गलाई १-० तथा आइसल्यान्डले बुल्गेरियालाई ३-० ले पराजित गरे।
आज पनि यूईएफए नेसन्स लिगअन्तर्गत विभिन्न समूहका खेल हुँदैछन्। आज हुने खेलमा पोर्चुगलले नर्वेसँग, नेदरल्यान्ड्सले सर्बियासँग, वेल्सले डेनमार्कसँग र ग्रिसले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै, अजरबैजान र लिथुआनिया, कोसोभो र अस्ट्रिया तथा माल्टा र एन्डोराबीच पनि खेल हुनेछ। आयरल्यान्ड र इजरायलबीचको खेल पनि आजै निर्धारित छ।
नेपाली समयअनुसार अजरबैजान र लिथुआनियाबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ। कोसोभो र अस्ट्रिया तथा माल्टा र एन्डोराबीचका खेल राति १०:४५ बजे हुनेछन्। आयरल्यान्ड र इजरायल, पोर्चुगल र नर्वे, नेदरल्यान्ड्स र सर्बिया, वेल्स र डेनमार्क तथा ग्रिस र जर्मनीबीचका खेल सोमबार बिहान १:३० बजे सुरु हुनेछन्।
सन्स लिगको समूह चरणका खेलहरू नोभेम्बर १७ सम्म सञ्चालन हुनेछन्।
प्रकाशित: १८ आश्विन २०८३ १२:१४ आइतबार





-600x400.jpg)