१७ आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

धुलिखेल बन्दैछ हक्कीको ‘हब’

काभ्रेको पर्यटकीय नगरी धुलिखेललाई देशकै प्रमुख ‘खेलकुद हब’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका- ११ र १२ को सिमाना चिसापानी डाँडामा अन्तर्राष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको छ। रङ्गशालाका लागि सङ्घीय सरकारबाट बजेट र नगरपालिकाबाट जग्गा सुनिश्चित भएपछि निर्माण प्रक्रिया अघि बढाउन सहमति बनेको हो।

धुलिखेल नगरपालिका र जिल्ला खेलकुद विकास समितिबीच यस विषयमा औपचारिक सम्झौतासमेत भएको छ। नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख निराजन जङ्गम र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइबाले सम्झौतापत्रमा विहीबार हस्ताक्षर भएको छ।

सम्झौताअनुसार, नगरपालिकाले यसअघि नेपाल हक्की सङ्घलाई ४० वर्षका लागि उपयोग गर्न अनुमति दिएको करिब २०० रोपनी जग्गामा उक्त परियोजना अघि बढाइनेछ। रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०८३-०८४ मा सङ्घीय सरकारबाट रु तीन करोड बजेट विनियोजन भएको नगरपालिका शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए।

उक्त परियोजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत कार्यान्वयन हुनेछ। कार्यवाहक नगर प्रमुख जङ्गमले धुलिखेललाई ‘खेलकुदमैत्री पालिका’ का रूपमा विकास गर्ने लक्ष्यअनुसार  योजना अघि बढाइएको बताए।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाइबाले सरकारका सम्बन्धित निकायसँग समन्वय गरी थप बजेट र पूर्वाधार व्यवस्थापनका लागि समितिले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाए।

उक्त रङ्गशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका बेला स्थानीय विद्यालय, क्लब र खेलाडीले नियमित प्रशिक्षण गर्न पाउने व्यवस्था मिलाइने सो अवसरमा जानकारी दिइयो।

आगामी दुई वर्षमा निर्माण सम्पन्न गरिने उक्त परियोजनासम्बन्धी सम्झौताले धुलिखेललाई हक्की खेलको नयाँ गन्तव्यका रुपमा अघि बढाउने विश्वास लिइएको छ।

प्रकाशित: १६ आश्विन २०८३ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App