नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्स जित नजिक पुगेको छ।
कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेको उत्कृष्ट साझेदारीको मद्दतमा सुदूरपश्चिमले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १ सय २८ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमलाई अब जितका लागि ३० बलमा मात्र १८ रनको आवश्यकता छ। टोलीको आवश्यक रनरेट ३.६० मात्र रहेको छ।
चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानले अविजित ७२ रनको बलियो साझेदारी गरिसकेका छन्। कप्तान दीपेन्द्र ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४० रनमा क्रिजमा छन् भने इशान पाण्डे २९ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाएर खेलिरहेका छन्। पछिल्लो ५ ओभरमा सुदूरपश्चिमले बिना क्षति ४२ रन जोडेको हो।
यसअघि ५६ रन जोड्दा सुदूरपश्चिमले तीन विकेट गुमाएको थियो। ओपनर विनोद भण्डारी ४ रन, ब्रान्डन म्याकमुलन २२ रन र सेफ जेब १५ रन बनाएर आउट भएका थिए।
पोखरा एभेन्जर्सका बलरहरू सुदूरपश्चिमको साझेदारी तोड्न असफल देखिएका छन्। शकिब अल हसनले आफ्नो ४ ओभरको स्पेल पूरा गर्दै २४ रन दिएर १ विकेट लिए। धनञ्जय लक्षणले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए।
यस्तै महेदी हसनले ३ ओभरमा २२ रन, विपिन खत्रीले २ ओभरमा २२ रन, कप्तान कुशल भुर्तेलले २ ओभरमा १५ रन, आकाश चन्दले १ ओभरमा १२ रन र प्रतीक पोखरेलले १ ओभरमा १० रन खर्चिएका छन्। सुदूरपश्चिमले अतिरिक्त स्वरूप ११ रन पाएको छ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो।
प्रकाशित: ११ कार्तिक २०८३ २०:२२ बुधबार

