चेक गणतन्त्रले अमेरिकालाई हराउँदै डाभिस कपको फाइनल ८ मा स्थान बनाएको छ। अमेरिकी खेलाडी बेन शेल्टन र लर्नर टिन दुवै आफ्नो एकल खेलमा पराजित भएपछि चेक गणतन्त्रले पाँच खेलको भिडन्त ३-२ ले आफ्नो पक्षमा पार्यो।
निर्णायक खेलमा जिरी लेहेचकाले लर्नर टिनलाई ६-३, ७-५ को सेटमा हराउँदै चेक गणतन्त्रलाई फाइनल ८ मा पुर्याए। यसअघि याकुब मेन्सिकले अमेरिकी खेलाडी शेल्टनलाई ५-७, ६-४, ६-३ ले पराजित गर्दै भिडन्त २-२ को बराबरीमा ल्याएका थिए।
शेल्टनका लागि यो लगातार दोस्रो हार हो। त्यसअघि उनी लेहेचकासँग पराजित भएका थिए।
अमेरिकाले क्रिस्टियन ह्यारिसन र अस्टिन क्राजिसेकको जोडीले एडम पाभ्लासेक र पात्रिक रिक्ललाई ५-७, ६-३, ७-६ ले हराएपछि २-१ को अग्रता बनाएको थियो। तर एकल खेलमा लगातार दुई हार बेहोरेपछि अमेरिकाको यात्रा टुंगिएको हो।
अस्ट्रिया पनि फाइनल ८ मा
अस्ट्रियाले बेल्जियमलाई ३-१ ले हराउँदै फाइनल ८ मा स्थान पक्का गरेको छ। निर्णायक खेलमा युरिज रोडियोनोभले बेल्जियमका जिजु बर्ग्सलाई ७-६, ६-३ ले पराजित गरेपछि अस्ट्रियाले निर्णायक अग्रता बनाएको हो। भियनामा भएको खेलमा अस्ट्रियाले डबल्स पनि जितेको थियो। पहिलो दिनको एकल खेलमा भने दुवै टोलीले एक-एक जित हात पारेका थिए।
यता बेलायतले इक्वेडरविरुद्ध घरेलु मैदानमा पहिलो दुई एकल खेल जित्दै २-० को अग्रता बनाएको छ। टोबी स्यामुएल र विम्बल्डनका सेमिफाइनलिस्ट आर्थर फेरीले बेलायतका लागि जित निकाले।
जर्मनी र क्रोएसिया बराबरीमा
जर्मनी र क्रोएसियाबीचको भिडन्त भने १-१ को बराबरीमा छ। विश्व वरीयतामा दोस्रो स्थानमा रहेका अलेक्जान्डर भेरेभले मातेय डोडिगलाई ६-४, ७-६ ले हराउँदै जर्मनीलाई अग्रता दिलाए।
भेरेभले खेलमा १५ वटा एस प्रहार गरे। यूएस ओपनको उपाधि जितेको एक सातापछि उनी पहिलोपटक कोर्टमा उत्रिएका हुन्। उनले गत जुनमा फ्रेन्च ओपन जित्दै आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि हात पारेका थिए।
तर डिनो प्रिज्मिकले डानियल अल्टमायरलाई ६-४, ६-३ ले हराएपछि क्रोएसियाले बराबरी गरेको हो। जर्मनी र क्रोएसियाबीच डबल्स तथा बाँकी एकल खेल आइतबार हुनेछन्।
दक्षिण कोरिया फाइनल ८ पुग्ने पहिलो एसियाली
दक्षिण कोरिया डाभिस कपको फाइनल ८ मा पुग्ने पहिलो एसियाली राष्ट्र बनेको छ। उसले भारतलाई ३-१ ले पराजित गर्दै इतिहास बनाएको हो।
दक्षिण कोरियाले शुक्रबार भएका दुवै एकल खेलमा एक सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकालेको थियो। त्यसपछि शनिबार भारतले डबल्स खेल जिते पनि सूनवु क्वोनले पहिलो रिभर्स एकलमा सुमित नागललाई ६-१, ६-२ ले हराउँदै दक्षिण कोरियाको जित पक्का गरे।
डाभिस कपको फाइनल ८ को वर्तमान ढाँचा सन् २०२२ देखि सुरु भएको हो। फाइनल ८ नोभेम्बरमा इटालीको बोलोन्यामा आयोजना हुनेछ।
प्रकाशित: ४ आश्विन २०८३ ०८:४४ आइतबार





