पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेर हिँडेका ४१ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गरेको छ।
महासंघले उनीमाथि अनुशासनात्मक कारबाहीको प्रक्रिया सुरु गर्दै निलम्बनको निर्णय गरेको हो।
नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलअघि मुख्य प्रशिक्षक जोर्जे जिसससँग विवाद भएपछि रोनाल्डोले कोपनहेगनस्थित राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए।
प्रशिक्षक जिससले आफूसँग गरेको सम्झौता र दिएको वचन तोडेको आरोप रोनाल्डोले लगाएका छन्।
रोनाल्डोका अनुसार फिटनेस व्यवस्थापनका लागि नर्वे र डेनमार्कविरुद्धका खेलमा आराम दिने पूर्वसहमति थियो।
तर, नर्वेविरुद्धको खेलको दिन प्रशिक्षकले ३० मिनेट खेलाउने बताए पनि दोस्रो हाफभरि वार्मअप गराएर मैदान नउतारेपछि आफू असन्तुष्ट बनेको उनले बताएका छन्।
पोर्चुगिज पत्रिका ‘ए बोला’ का अनुसार एफपीएफले रोनाल्डोविरुद्धको मुद्दालाई आपत्कालीन सूचीमा राखेर अनुसन्धान अघि बढाएको छ। महासंघले औपचारिक छानबिन पूरा नभएसम्म उनीमाथि प्रतिबन्धात्मक निलम्बन कायम रहने बताएको छ।
यसअघि नै समर्थक र सहकर्मीहरूसँग माफी मागिसकेका रोनाल्डोले आफूले क्याम्प छाड्न नहुने स्वीकार गरेका छन्। उनले महासंघले गर्ने जुनसुकै कारबाही भोग्न तयार रहेको तर भविष्यमा पनि देशका लागि खेल्ने इच्छा कायमै रहेको बताएका छन्।
राष्ट्रिय टोलीको विवादका बीच क्लब फुटबलमा फर्किएका रोनाल्डोले शुक्रबार साउदी प्रो लिगमा गोल गर्दै उत्कृष्ट पुनरागमन गरेका छन्। उनकै गोलको मद्दतमा अल नासरले दिरियाहलाई ३-० ले पराजित गरेको थियो।
उक्त खेलमा किङ्सले कोमानको प्रहार विपक्षी गोलकिपर वालिद अब्दुल्लाहले रोकेपछि रिबाउन्डमा गोल गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ९८० औं गोल पूरा गरेका हुन्।
यो जितसँगै आठौं चरणको समाप्तिमा साविक विजेता अल नासर गोलअन्तरका आधारमा शीर्ष स्थानको अल कादसियाहसँग समान अंकमा पुगेको छ।
प्रकाशित: २४ आश्विन २०८३ २०:०७ शनिबार





