२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
खेल

सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को २७औं खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज सङ्कटमा परेको छ। ताजा अवस्थामा १३.३ ओभरको समाप्तिमा चितवनले ७ विकेट गुमाएर केवल ८९ रन मात्र जोडेको छ।

हाल ६.५९ को रनरेटमा खेलिरहेको चितवनलाई जितसम्म पुग्न १० को औसतमा रन बनाउनुपर्ने दबाब छ। पछिल्लो ५ ओभरमा ३३ रन जोड्दा ३ महत्त्वपूर्ण विकेट गुमाएपछि चितवन कठिन मोडमा पुगेको छ।

ताजा अवस्थामा उसामा मिर २ र अशोक धामी शून्य रनमा अविजित छन् भने कमल ऐरी र रिजन ढकाल ब्याटिङका लागि आउन बाँकी छ। ३.४ ओभरमा ३५ रन हुँदा देव खनाललाई १४ रनमा गुमाएको चितवनको इनिङ्स त्यसपछि लगातार धराशायी बन्यो।

विकेटकिपर कामिल मिशाराले १७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २५ रन तथा कुशल मल्लले १५ बलमा १ चौका र १ छक्कासहित १८ रन जोडे पनि अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्।

चितवनका कप्तान सिकन्दर राजा २, विवेक यादव ६, ड्यान माउसली ८ र सलाहुद्दिन खान ७ रनमै आउट भए।

चितवनको ब्याटिङ क्रम ध्वस्त पार्न कर्णालीका हुसेन तलातले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिए। यस्तै, पवन सर्राफले ४ ओभरमा १९ रन तथा मार्क वाटले ३ ओभरमा २७ रन दिएर समान २-२ विकेट हात पारे भने सोमपाल कामीले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। कर्णालीका लागि हुसेन तलातले ३३ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले।

सुरुवातमा अरिफुल इस्लामले १५ बलमै ४ चौका र २ छक्कासहित ३५ रनको विस्फोटक इनिङ्स खेलेका थिए। तर मध्यक्रममा कप्तान डेभिड मिलर ५, विकेटकिपर दीपक डुम्रे ७, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भएपछि कर्णाली १२.२ ओभरमा ८०-६ को नाजुक स्थितिमा पुगेको थियो।

त्यसपछि तलातसँगै गुलशन झाले ६ बलमा १ चौका र २ छक्कासहित १८ रन जोडेर टिमलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याए। पवन सर्राफले १५ र नन्दन यादवले अविजित २ रन बनाए भने सचिन शर्मा शून्यमा आउट भए।

बलिङतर्फ चितवनका कप्तान सिकन्दर राजाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। कमल ऐरीले ४ ओभरमा २० रन, सलाहुद्दिन खानले २ ओभरमा १९ रन र उसामा मिरले ३ ओभरमा ३१ रन खर्चेर समान २-२ विकेट लिए। रिजन ढकालले ४ ओभरमा ३५ रन दिएर १ विकेट हात पारे।

प्रकाशित: २९ कार्तिक २०८३ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App