७ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

उपाधिका लागि चन्दननाथ र जनसेवा भिड्दै

जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगिताको फाइनलमा अब आयोजक चन्दननाथ–३ फुटबल क्लब र जनसेवा युवा क्लब (बी) बिच रोमाञ्चक भिडन्त हुने भएको छ।

चन्दननाथ नगरपालिका–३ ले आयोजना गरेको  प्रतियोगिताको दुवै सेमिफाइनल खेल शनिवार सम्पन्न भएका हुन्। पहिलो सेमिफाइनलमा चन्दननाथ–३ ले फोईकालिका एफसीलाई ०–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो।

खेलको दोस्रो हाफमा निर्णायक गोल गर्दै चन्दननाथ–३ का जर्सी नम्बर १५ विजेताका नायक बने। खेलभर उत्कृष्ट प्रदर्शन गरेका फोईकालिका एफसीका जर्सी नम्बर ७७ ले टोलीलाई अग्रता दिलाउने प्रयास गरे पनि गोल फर्काउन नसक्दा फोईकालिका टोली सेमिफाइनलमै बिदा लियो।

त्यसैगरी दोस्रो सेमिफाइनलमा जनसेवा युवा क्लब (बी) ले घोघेसिम एफसीलाई ०–२ गोलले पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्‍यो। खेल सुरु भएको मात्र दुई मिनेटमै पाएको पेनाल्टी अवसरलाई जर्सी नम्बर ७ ले सफलतापूर्वक गोलमा परिणत गर्दै जनसेवालाई अग्रता दिलाए। दोस्रो हाफमा जनसेवाले थप एक गोल गर्दै जित सुनिश्चित गर्‍यो।

बराबरी गोल खोज्दै आक्रामक बनेको घोघेसिम एफसीले भने अन्तिम समयसम्म गोल फर्काउन सकेन। चन्दननाथ नगरपालिका–३ को आयोजनामा भएको प्रतियोगितामा जिल्लाभरका ४४ टिमले सहभागिता जनाएका थिए। खेलको फाइनल आइतबार दिउँसो १२ बजे हुने जनाउँदै आयोजक समितिका संयोजक राज बहादुर खत्रीले तयारी पूरा भएको जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। उपविजेताले ५० हजार ५ सय रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। जिल्लामा पछिल्लो समय फुटबलप्रतिको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रतियोगिताले स्थानीय युवा बिच खेलप्रतिको उत्साह झनै बलियो बनाएको आयोजकको भनाइ छ।

प्रकाशित: १६ कार्तिक २०८२ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App