केप भर्डेका राष्ट्रपति जोसे मारिया नेभेसले फिफा विश्वकपको अन्तिम ३२ को भिडन्तमा आफ्नो देशले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्ने दाबी गरेका छन्।
विश्वकपमा डेब्यु गरिरहेको यो टोलीले आफ्नो भाग्य आफैं लेख्ने यात्रालाई निरन्तरता दिने उनको भनाइ छ। बीबीसीसँगको कुराकानीमा राष्ट्रपति नेभेसले भने, ‘मलाई लाग्छ, केप भर्डेले अर्जेन्टिनालाई १-० गोलअन्तरले हराउन सक्छ।’
‘हामी जित्नका लागि खेलिरहेका छौं, जब कुनै टोलीप्रति अपेक्षा कम हुन्छ, र त्यो टोलीसँग जित्ने हुटहुटी हुन्छ भने, त्यो सम्भव छ,’ उनले थपे, ‘केप भर्डे जस्तो सानो राष्ट्रले मानिसहरूलाई सधैं आश्चर्यचकित पार्न यस्तो प्रयास गरिरहनुपर्छ।’
आगामी शुक्रबार राति मियामीमा ‘ब्लु सार्क्स’ र लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुँदैछ। एट्लान्टिक महासागरका १० वटा टापुहरू मिलेर बनेको केप भर्डेका लागि यो पहिलो विश्वकप हो।
नकआउट चरणमा पुग्ने सबैभन्दा सानो राष्ट्र बनेर यसले विश्वकपमा दोस्रो पटक इतिहास रचिसकेको छ। समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध गोलरहित बराबरी खेल्दा केप भर्डेका ४० वर्षीय गोलकिपर भोजिन्हा नायक बनेका थिए।
त्यसपछि दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २-२ गोलको बराबरी खेलेको यस टोलीले शनिबार साउदी अरबसँग पनि गोलरहित बराबरी खेल्यो। स्पेनले उरुग्वेलाई हराएपछि केप भर्डे समूह ‘एच’ को उपविजेता बन्दै नकआउटमा पुगेको हो।
अब उनीहरूले लियोनल मेस्सीको अर्जेन्टिनाको सामना गर्दैछन्। आफ्ना प्रतिद्वन्द्वीहरूलाई स्तब्ध पार्ने नयाँ छविका साथ टोली मैदानमा उत्रिनेछ। फिफा वरीयतामा यी दुई टोलीबीच ६३ स्थानको फरक छ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना विश्वकै उत्कृष्ट टोली हो भने केप भर्डे अफ्रिकाको १३औं उत्कृष्ट टोली हो। राजधानी प्राइयामा कुरा गर्दै राष्ट्रपति नेभेसले भने, ‘केप भर्डेको टोलीसँग १०० प्रतिशत विश्वास छ, १०० प्रतिशत आशा छ, र टोलीले मैदानमा पूर्ण रूपमा पसिना बगाएर खेल्नेछ। त्यसैले, अर्जेन्टिनाविरुद्ध जित्ने हाम्रो सम्भावना १०० प्रतिशत छ।’
‘हामी च्याम्पियनहरूको सामना गर्दै आफ्नो भाग्य आफैं लेख्न यो विश्वकपमा गएका हौँ,’ उनले थपे, ‘त्यसैले हामी त्यही दृढ संकल्प, त्यही इच्छाशक्ति र अर्को चरणमा पुग्ने चाहनाका साथ अर्जेन्टिना र मेस्सीको सामना गर्दैछौं।’
प्रकाशित: १६ असार २०८३ २१:१६ मंगलबार





