सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन्।
श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै टोलीको समग्र रणनीति, खेलाडीहरूको प्रदर्शन र टिम संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीका रूपमा हासिल गरेको अनुभव तथा प्रशिक्षकका रूपमा विभिन्न टोलीसँग काम गरेको अनुभवलाई उनले विराटनगर किंग्सको प्रदर्शन सुधारमा उपयोग गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षनाले टोलीका स्पिन बलरहरूको क्षमता अभिवृद्धि, बलिङ रणनीति र खेलअनुसारको तयारीमा विशेष ध्यान दिनेछन्।
टी–२० क्रिकेटमा स्पिन बलिङको भूमिका महत्वपूर्ण हुने भएकाले उनको उपस्थितिले टोलीको बलिङ पक्षलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
अनुभवी प्रशिक्षक, सन्दीप लामिछानेको नेतृत्व र आन्द्रे रसेलजस्ता विश्वस्तरीय खेलाडीको साथ पाएको विराटनगर किंग्स यस संस्करणमा उपाधिको बलियो दाबेदार बन्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ।
एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सले आफ्नो पहिलो खेल कार्तिक १० गते चितवन राइनोजविरुद्ध खेल्नेछ।
प्रकाशित: ६ कार्तिक २०८३ १७:४० शुक्रबार





