इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का तीव्र गतिका बलरसामु दिल्ली क्यापिटल्सको ब्याटिङ धराशायी बनेको छ।
अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले हाल ७.५ ओभरको समाप्तिमा मात्र ३४ रन जोड्दा आफ्ना ६ महत्त्वपूर्ण विकेट गुमाएर खेलिरहेको छ।
आरसीबीका कप्तान रजत पाटिदारको टस जितेर पहिले फिल्डिङ गर्ने निर्णयलाई अनुभवी पेसरद्वय भुवनेश्वर कुमार र जोस हेजलवुडले शतप्रतिशत सही साबित गरिदिएका छन्।
दुवै बलरले पावरप्लेमै दिल्लीको शीर्ष र मध्यक्रम ध्वस्त पारे। दिल्लीका कुनै पनि शीर्ष ब्याटर क्रिजमा टिक्न सकेनन्। ओपनर साहिल पारख, कप्तान अक्षर पटेल र समिर रिजभी शून्य रनमै पेभिलियन फर्किए।
निकै आशा गरिएका अनुभवी ब्याटर केएल राहुल र नितिश रानाले समान १-१ रन मात्र जोड्न सके भने आक्रामक ब्याटर ट्रिस्टन स्टब्स ५ रनमै आउट भए।
आरसीबीका लागि भुवनेश्वर र हेजलवुडले उत्कृष्ट स्पेल फ्याँकेका छन्। भुवनेश्वरले आफ्नो ३ ओभरको स्पेलमा कुनै मेडन नराखी मात्र ५ रन खर्चेर ३ विकेट लिएका छन्।
त्यसैगरी, हेजलवुडले पनि ३ ओभरमा ८ रन दिएर ३ विकेट आफ्नो नाममा दर्ता गराए। विकेटकिपर जितेश शर्माले ३ वटा र देवदत्त पडिक्कलले २ वटा महत्त्वपूर्ण क्याच लिँदै बलरहरूलाई बलियो साथ दिए।
८ रनको स्कोरमै ६ विकेट गुमाएर ऐतिहासिक पतनको सङ्घारमा पुगेको दिल्लीलाई यतिबेला ‘इम्प्याक्ट प्लेयर’ अभिषेक पोरेल र डेभिड मिलरले सम्हाल्ने प्रयास गरिरहेका छन्।
लगातार विकेट झरेपछि दिल्लीले २.४ ओभरमै साहिल पारखको स्थानमा पोरेललाई मैदानमा पठाएको थियो। हाल क्रिजमा रहेका पोरेलले १४ बलमा १५ रन र मिलरले १२ बलमा ११ रन बनाएर खेलिरहेका छन्। घरेलु मैदानमै दिल्ली फराकिलो हारको दबाबमा परेको छ।
प्रकाशित: १४ वैशाख २०८३ २०:३८ सोमबार

