आइतबार सम्पन्न आइसिसी महिला विश्वकपको उपाधि जितेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विजेता टोलीलाई ५१ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ४७ वर्षपछि पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको हो। यसअघि सन् २००५ र २०१७ को फाइनलमा पराजित भएको थियो।
तर, यसपटक हरमनप्रीत कौरको कप्तानीमा रहेको टोलीले भने ऐतिहासिक सफलता हात पारेको हो। बीसीसीआईका सचिव देवजित सैकियाले एएनआईसँग कुरा गर्दै यो पुरस्कार टोलीको ऐतिहासिक उपलब्धिको सम्मानमा प्रदान गरिएको बताए।
उनले भने, ‘बीसीसीआई असाध्यै खुसी छ र आइसिसीबाट प्राप्त हुने पुरस्कार रकमबाट नछुट्याई, बीसीसीआईले आफ्नै तर्फबाट भारतीय टोलीलाई पुरस्कार स्वरूप ५१ करोड भारतीय रुपैयाँ प्रदान गर्नेछ। यो रकम खेलाडी, चयनकर्ता र अमोल मुजुमदारको नेतृत्वमा रहेको सहयोगी स्टाफ सबैलाई जानेछ।’
यो पुरस्कार आइसिसीले प्रदान गर्ने पुरस्कार राशिभन्दा अतिरिक्त हो। प्रतियोगिताअघि आइसिसीका अध्यक्ष जय शाहले महिला विश्वकपको पुरस्कार राशिमा ३०० प्रतिशतले वृद्धि गर्दै विजेता टोलीले ४४.८ लाख अमेरिकी डलर (करिब ४२ करोड भारतीय रुपैयाँ) प्राप्त गर्ने घोषणा गरेका थिए।
यो रकम सन् २०२२ मा अष्ट्रेलियाको महिला टोलीले जितेको १३.२ लाख डलरभन्दा तीन गुणा बढी हो र सन् २०२३ मा अष्ट्रेलियाको पुरुष टोलीले जितेको ४० लाख डलरभन्दा पनि बढी हो।
आइतबार मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई २९९ रनको लक्ष्य दिएको थियो। फाइनलमा भारतकी शेफाली वर्माले अलराउन्ड प्रदर्शन गरिन्।
उनले ब्याटिङमा उत्कृष्ट ८७ रन बनाइन् भने बलिङतर्फ सुने लुस र मारिजेन क्यापको महत्त्वपूर्ण विकेट लिइन्। त्यस्तै, दीप्ती शर्माले पनि अर्ध शतक बनाउँदै पाँच विकेट लिएर टोलीको जित सुनिश्चित गरिन्।
प्रकाशित: १७ कार्तिक २०८२ १६:०८ सोमबार





