२५ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

स्पेनिस ला लिगामा आज बार्सिलोना र रियल म्याड्रिड मैदानमा, हिजो मालागा र इस्पान्योलले अंक बाँडे

स्पेनिस ला लिगा फुटबलको २०२६/२७ सिजनअन्तर्गत आठौँ चरणका खेल जारी छन्। गएराति भएको खेलमा मालागा र इस्पान्योलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे। आज शनिबार पनि चार खेल हुँदैछन्, जसमा बार्सिलोना र रियल म्याड्रिडका खेल मुख्य आकर्षणका रूपमा रहेका छन्।

गएराति भएको खेलमा मालागाले घरेलु मैदानमा इस्पान्योललाई बराबरीमा रोकेको हो। खेलको १२औँ मिनेटमा ब्रायन सारागोसाले गोल गर्दै इस्पान्योललाई अग्रता दिलाएका थिए। तर निर्धारित समय सकिएपछि थपिएको समयमा एड्रियन निनोले गोल गर्दै मालागालाई हारबाट जोगाए। उनले ९३औँ मिनेटतिर गोल गरेपछि दुवै टोलीले एक-एक अंक बाँडे।

आज शनिबार हुने पहिलो खेलमा रायो भालेकानोले एथलेटिक बिल्बाओसँग नेपाली समयअनुसार साँझ ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछ। त्यसपछि साँझ ८ बजे डेपोर्टिभो अलाभेस र एट्लेटिको म्याड्रिडबीच खेल हुनेछ। एट्लेटिको जित निकाल्दै शीर्ष टोलीसँगको दूरी घटाउने लक्ष्यमा हुनेछ।

आज राति १०ः१५ बजे बार्सिलोनाले गेटाफेसँग खेल्नेछ। जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोना आफ्नो जितको लयलाई निरन्तरता दिँदै शीर्ष स्थानमा पकड बलियो बनाउन चाहन्छ। घरेलु मैदानमा हुने खेलमा गेटाफे भने बार्सिलोनालाई रोक्दै अंक जोड्ने योजनामा हुनेछ।

आजकै अर्को बहुप्रतीक्षित खेलमा रियल म्याड्रिडले भिल्लारियलसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली समयअनुसार आइतबार बिहान १२ः४५ बजे सुरु हुने खेलमा रियल घरेलु मैदानमा जित निकाल्ने लक्ष्यमा हुनेछ। पछिल्लो समयको हारबाट फर्कने प्रयासमा रहेको रियलका लागि भिल्लारियलविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ। भिल्लारियल पनि लगातार राम्रो नतिजा निकाल्दै आएको लयलाई कायम राख्न चाहन्छ।

ला लिगाको आठौँ चरणअन्तर्गत आइतबार र सोमबार पनि खेलहरू हुनेछन्। आइतबार एल्चे र सेल्टा भिगो, रियल सोसिडाड र डेपोर्टिभो, रियल बेटिस र ओसासुना तथा रेसिङ सान्टान्डर र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ। सोमबार लेभान्ते र सेभियाबीचको खेलसँगै आठौँ चरण सम्पन्न हुनेछ।

प्रकाशित: २४ आश्विन २०८३ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App