नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई जितका लागि १ सय ४६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनायो।
एक समय ८३ रन जोड्दा ५ विकेट गुमाएर संकटमा परेको पोखराको इनिङ्सलाई विकेटकिपर ब्याटर अर्जुन घर्तीले उकासे। उनले तल्लो क्रममा विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएर अविजित रहे।
यसअघि ओपनिङ ब्याटर महेदी हसनले २१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३२ रनको आक्रामक योगदान दिएका थिए।
कप्तान कुशल भुर्तेलले १७ बलमा २ चौकासहित २१ रन बनाए भने अनुभवी अलराउन्डर शकिब अल हसन १६ बलमा १४ रन जोडेर आउट भए। अर्का ओपनर दिनेश खरेल ४ रन र सदिरा समरविक्रमा ८ रनमै पभेलियन फर्किए।
तल्लो क्रममा धनञ्जय लक्षण १६ बलमा ११ रन बनाएर रनआउट भए भने किरण ठगुन्नाले १ रन मात्र जोड्न सके।
विपिन खत्री ७ बलमा ५ रन बनाएर अविजित रहे। पोखराले अतिरिक्त स्वरूप ९ रन प्राप्त गर्यो। पोखराले अन्तिम ५ ओभरमा २ विकेट गुमाएर ४२ रन थपेको थियो।
बलिङतर्फ सुदूरपश्चिमका लागि स्पिनर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ३ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे।
यस्तै, दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन दिएर १ विकेट लिए भने हेमन्त धामीले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए। महँगा सावित भएका स्कट कुगेलेइनले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट हात पारे।
यसैगरी अविनाश बोहराले ३ ओभरमा १५ रन, सेफ जेबले २ ओभरमा १३ रन र इशान पाण्डेले १ ओभरमा ८ रन खर्चे पनि विकेट लिन सकेनन्।
सुदूरपश्चिमले केही बेरमा १ सय ४६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थाल्नेछ।
प्रकाशित: ११ कार्तिक २०८३ १८:५० बुधबार





