युवा ब्याटर अर्जुन कुमाल पहिलो पटक सिनियर राष्ट्रिय टोलीको स्क्वाडमा परेका छन्।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने आईसीसी लिग–२ का लागि घोषणा गरेको १५ सदस्यीय टोलीमा अर्जुनको नाम पनि समावेश गरिएको छ।
हालै सम्पन्न प्रधानमन्त्री क्रिकेट प्रतियोगितामा उनी सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्। यसअघि राष्ट्रिय टोलीको क्याम्पमा एक पटक परेका अर्जुन पहिलो पटक राष्ट्रिय टोलीको स्क्वाडमा समावेश हुँदा नेपाली क्रिकेट फ्यानमा आशा जगाएका छन्।
यू–१९ क्रिकेट विश्वकप, नेपाल प्रिमियर लिग जस्ता प्रतियोगितामा खेलिसकेका उनले अब आफूलाई प्रमाणित गर्ने दरिलो अवसर पाएका छन्। यससँगै, राष्ट्रिय टोलीमा डेब्यु गर्ने उनको सपना साकार हुने चरणमा पुगेको छ।
पीएम कपमा राज गरेका अर्जुन
घरेलु क्रिकेट प्रतियोगितामा राम्रो छाप छोडेका अर्जुनले सिनियर टोलीमा पर्न लामो समय कुर्नुपरेको थियो। पीएम कपमा उनले उत्कृष्ट प्रदर्शन गरेका छन्। यस संस्करणमा मात्र नभई यसअघि पनि उनी पीएम कपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा थिए।
यस संस्करणमा उनले ५०० रन बनाएका छन्। पीएम कपकै इतिहासमा एकै संस्करणमा ५०० रन पूरा गर्ने उनी पहिलो ब्याटर समेत बनेका छन्। त्यस क्रममा उनले दुई शतक र दुई अर्धशतक प्रहार गर्दै आफूलाई थप मजबुत रूपमा प्रमाणित गरे।
२० वर्षको उमेरमै उनले लामो समयदेखि खेलिरहेका खेलाडीहरूलाई चुनौती दिएका छन्। विभागीय टोलीले दबदबा जमाएको प्रतियोगितामा १,००० रन पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीका रूपमा पनि उनले आफ्नो नाम लेखाएका छन्।
उनले पीएम कपमा खेलेका २५ खेलमै उक्त उपलब्धि हासिल गरेका हुन्। सन् २०२१ मा गण्डकी प्रदेशबाट पीएम कपमा सुरुआत गरेका उनले गण्डकीका धेरै जितमा महत्वपूर्ण भूमिका खेलेका छन्। पीएम कप मात्र नभई घरेलु क्रिकेटमा पनि उनी निरन्तर चर्चित नाम हुन्।
यसअघि उनी सुदूरपश्चिम रोयल्समा अनुबन्ध भए पनि कुनै खेल खेल्न पाएनन्। यस संस्करणमा एनपीएलमा पोखरा एभेन्जर्सबाट खेलेका उनले पोखराको अन्तिम खेलमा राम्रो प्रदर्शन गर्दै फेरि एक पटक सबैको ध्यान खिचेका छन्।
भारतमा क्रिकेट सिकेका उनलाई यसअघि टोलीमा नपारेको विषयमा नेपाल क्रिकेट संघ (क्यान) आलोचनाको विषय बनेको थियो। तर, शुक्रबार बिहान उनलाई टोलीमा समावेश गरिएसँगै उनको लामो प्रतीक्षा समाप्त भएको छ।
राष्ट्रिय टोलीमा अर्जुनको यात्रा
घरेलु स्तरमा राम्रो छवि बनाएका उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई प्रमाणित गरिसकेका छन्। यू–१९ विश्वकप, एसीसी एसिया कप तथा नेपाल ‘ए’ टोलीबाट खेल्दा उनले विश्व क्रिकेटको ध्यान आकर्षित गरेका छन्। सन् २०२४ मा नेपाल ‘ए’ बाट घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ विरुद्ध उनले प्रहार गरेको शतक अझै सम्झनलायक छ।
नेपाल र आयरल्यान्डबीचको तीन खेलको सिरिजको अन्तिम खेलमा उनले शतक प्रहार गरेका थिए। त्यसै वर्ष भएको यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे। कुवेतविरुद्ध १०८ रन बनाउँदै उनले ठूलो चर्चा कमाएका थिए।
त्यसपछि एसीसी एसिया कपमा अफगानिस्तानविरुद्ध ९१ रन प्रहार गर्दै उनले आफ्नो क्षमता पुनः प्रमाणित गरे। अफगानिस्तान जस्तो टेस्ट राष्ट्रविरुद्ध यस्तो प्रदर्शन गर्नु सजिलो कुरा थिएन। त्यसपछि यू–१९ विश्वकपमा न्यूजिल्यान्डविरुद्ध १०४ बलमा ९० रन बनाएपछि नेपाली क्रिकेट जगतमा उनी चर्चित बने। यतिबेला उनलाई नेपाली क्रिकेटको उदाउँदो तारा मानिन्छ। लामो प्रतीक्षापछि उनी १५ सदस्यीय राष्ट्रिय टोलीमा अटाएका छन्।
सन् २०२१ मा पनि उनी पहिलो पटक राष्ट्रिय टोली क्याम्पमा परेका थिए, तर त्यसबेला उनी मुख्य टोलीसम्म पुग्न सकेका थिएनन्। अहिले भने अन्ततः उनी राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। ओपनरको भूमिकामा रहेका अर्जुनका लागि आगामी लिग–२ ठूलो अवसर हुनेछ। उनीबाट नेपाली ब्याटिङ लाइनअपमा धेरै अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय खेलहरूमा संकटको अवस्थामा रन बनाउन सक्ने क्षमताका कारण उनलाई ‘संकटमोचक’ खेलाडीका रूपमा हेरिएको छ। आगामी लिग–२ मा नेपालले हरेक खेल जित्नुपर्ने दबाब छ। यस्तो अवस्थामा घरेलु क्रिकेटका शीर्ष रन स्कोररलाई समावेश गर्नु टोलीका लागि सकारात्मक मानिएको छ।
ओपनरको भूमिकामा रहेका कारण उनले कुशल भुर्तेल वा आशिफ शेखमध्ये एकलाई प्रतिस्थापन गर्नुपर्ने सम्भावना पनि छ। अब हेर्न बाँकी छ—उनी आगामी लिग–२ मा नेपालको लागि निर्णायक खेलाडी बन्न सक्छन् वा सक्दैनन्।
प्रकाशित: ४ वैशाख २०८३ १८:५३ शुक्रबार





