२५ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

अरिफुल इस्लाम कर्णाली याक्ससँग अनुबन्धित

नेपाल प्रिमियर लिग एनपिएल-३ का लागि कर्णाली याक्सले बंगलादेशका युवा खेलाडी अरिफुल इस्लामलाई अनुबन्धित गरेको छ। 

बंगलादेशको उमेर समूहको क्रिकेटबाट आफ्नो पहिचान बनाएका अरिफुलले बंगलादेशको यु-१९ क्रिकेट टिमबाट उनले विश्व कप खेलिसकेका छन्। बंगलादेशको यु-१९ राष्ट्रिय टिमदेखि, हाइ पर्फमेन्स टि‌म र बंगलादेशको 'ए' टिमबाट खेलेको उनको अनुभव रहेको छ। 

उमेर समूह हुँदै अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा पनि उनको प्रदर्शन उत्कृष्ट रहेको छ। अस्ट्रेलियामा भएको टप इन्ड टी-ट्वान्टी सिरिजमा उनले प्रभावशाली प्रदर्शन गरेका थिए। उनले सात खेलमा २१९ रन जोडे। उनको ब्याटिङ औसत ३६.५० र स्ट्राइक रेट १३८.६० थियो। प्रतियोगितामा दुई अर्धशतक बनाएका उनी सर्वाधिक रन बनाउने ब्याटरको सूचीको तेस्रो स्थानमा रहे।

उनीसँग  बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेको अनुभव पनि रहेको छ। उनले अघिल्लो संस्करणमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए। दायाँ हाते युवा ब्याटर अरिफुल तीव्र गतिमा रन बनाउने पहिचान बनाएका युवा खेलाडी हुन्।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुल इस्लामको आगमनले टोलीको ब्याटिङलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले अरिफुल प्रतिभाशाली र आक्रामक ब्याटिङ क्षमता भएका युवा खेलाडी रहेको उल्लेख गर्दै उमेर समूहको क्रिकेटदेखि बंगलादेशको ‘ए’ टिम र बंगलादेश प्रिमियर लिग (बीपीएल) सम्मको अनुभव टोलीका लागि उपयोगी हुने बताए।“अरिफुल प्रतिभाशाली र आक्रामक ब्याटिङ गर्न सक्ने युवा खेलाडी हुन्।

टप इन्ड टी-२० सिरिजमा उनको प्रदर्शन प्रभावशाली थियो। उनको क्षमताले कर्णाली याक्सको ब्याटिङलाई थप बलियो बनाउने विश्वास लिएका छौँ। एनपिएलको तेस्रो संस्करणमा उनले आफ्नो प्रतिभा देखाउँदै टोलीको सफलतामा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेका छौँ,” मल्लले भने।यसअघि कर्णालीले मार्क वाट र अकबर अलिलाई अनुबन्धित गरिसकेको छ। अरिफुल यो सिजनको लागि जोडिएका तेस्रो विदेशी खेलाडी हुन्। एनपिएल-३ यही अक्टोबर २६ देखि सुरु हुँदैछ।

प्रकाशित: २४ आश्विन २०८३ २१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App