एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आगामी कार्यकालका लागि पुनः निर्वाचित गराउन समर्थन गर्ने घोषणा गरेको छ।
एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले शुक्रबार टोकियोमा आयोजित महासंघको असाधारण सम्मेलनमा इन्फान्टिनोको नेतृत्वप्रति समर्थन जनाउँदै एसियाली फुटबल परिवार उनको पक्षमा एकजुट भएर अघि बढ्न तयार रहेको बताएका हुन्।
एएफसीको यो घोषणालाई विशेष महत्त्वका साथ हेरिएको छ। किनभने दुई महिनाअघि मात्रै एएफसीले युरोपेली फुटबल महासंघ (यूईएफए( तथा उत्तर र मध्य अमेरिकी फुटबल प्रशासकीय निकायहरूसँग मिलेर इन्फान्टिनोमाथि ‘आधारभूत विश्वास उल्लंघन’ गरेको आरोप लगाएको थियो।
तर, पछिल्लो घटनाक्रमले एएफसी र फिफा अध्यक्षबीचको सम्बन्धमा सुधार आएको संकेत गरेको छ।
एएफसीमा ४७ सदस्य राष्ट्र छन्। सबै सदस्यले अध्यक्ष शेख सलमानको निर्देशनअनुसार मतदान गर्छन् भन्ने निश्चित नभए पनि एसियाली सदस्यहरूको समर्थनले इन्फान्टिनोको पुनः निर्वाचन अभियानमा निर्णायक भूमिका खेल्न सक्छ।
इन्फान्टिनो फिफा अध्यक्षका रूपमा चौथो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
फिफाको अध्यक्ष पदका लागि निर्वाचन आगामी मार्चमा हुँदैछ। इन्फान्टिनोविरुद्ध उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति नोभेम्बर १८ तोकिएको छ। उपलब्ध विवरणअनुसार, अहिलेसम्म उनको प्रतिस्पर्धामा उत्रिने गरी कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन्।
टोकियोमा आयोजित एएफसीको असाधारण सम्मेलनलाई सम्बोधन गर्दै शेख सलमानले इन्फान्टिनोको नेतृत्वलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मञ्चमै इन्फान्टिनोलाई अँगालो हालेर समर्थनको सन्देश दिएका थिए।
‘फिफा अध्यक्षका रूपमा नयाँ जनादेश खोज्दै गर्दा हामी तपाईं र तपाईंको नेतृत्वलाई समर्थन गर्ने हाम्रो पूर्ण प्रतिबद्धता पुष्टि गर्छौं,’ शेख सलमानले भने।
उनले इन्फान्टिनोले एसियाका विभिन्न देशको भ्रमण गरेको र महादेशका सदस्य राष्ट्रहरूसँग संवाद गरेको उल्लेख गरे। सदस्यहरूको भावना आफूले बुझेको बताउँदै उनले इन्फान्टिनोप्रतिको समर्थन स्पष्ट रहेको धारणा राखे।
‘मेरो भावना, म विश्वस्त छु, मेरा अधिकांश सदस्यहरूको भावना पनि हो। मैले त्यो कुरा तपाईंलाई भनिसकेको छु,’ एएफसी अध्यक्षले भने।
यद्यपि, उनले एएफसीका सबै सदस्यले एउटै धारणा राख्ने निश्चित नभएको संकेत पनि गरे। तर, बहुसंख्यक सदस्य इन्फान्टिनोको समर्थनमा उभिने उनको विश्वास थियो।
दुई महिनामै बदलियो एएफसीको धारणा
एएफसीको पछिल्लो निर्णयले केही समयअघिको विवादलाई फेरि चर्चामा ल्याएको छ। करिब दुई महिनाअघि एएफसीले यूईएफए तथा उत्तर र मध्य अमेरिकाका फुटबल प्रशासकीय निकायहरूसँग मिलेर इन्फान्टिनोमाथि संस्थागत विश्वासमा आघात पुर्याएको आरोप लगाएको थियो।
विवादको केन्द्रमा फिफाका कार्यक्रम, विशेषगरी विश्वकपसँग सम्बन्धित व्यावसायिक अधिकार र हिस्सेदारी निजी लगानीकर्तालाई बिक्री गर्ने योजना थियो।
उक्त योजना करिब ४.२ अर्ब अमेरिकी डलरको रहेको बताइएको थियो, जुन पछि खारेज गरियो।
इन्फान्टिनोले गत साता ज्युरिखमा बसेको फिफाको ३७ सदस्यीय परिषद् बैठकमा उक्त योजनासँग सम्बन्धित आफ्नो भूमिकाबारे माफी मागेका थिए।
फिफा परिषद्को अध्यक्षता स्वयं इन्फान्टिनोले गर्दै आएका छन्। निजी लगानीकर्तालाई समेट्ने उक्त योजना तयार पार्ने क्रममा आफूबाट गल्ती भएको उनले स्वीकार गरेका थिए।
शुक्रबारको सम्बोधनमा शेख सलमानले इन्फान्टिनोसँग विगतमा केही विषयमा मतभेद रहेको स्वीकार गरे। तर, उनले विवादका विस्तृत पक्ष खुलाएनन्।
‘जियानी, म यो स्पष्ट पार्न चाहन्छु—हो, हामीले विगतमा केही मुद्दाका विषयमा छलफल गरेका थियौँ। तर, दुईवटा कुरालाई एकै ठाउँमा नराखौँ,’ उनले भने।
उनले ज्युरिखमा पछिल्ला दिनमा भएको भेटवार्ताले दुवै पक्षबीच वास्तविक समझदारी बनेको संकेत गरेको पनि बताए।
‘मलाई लाग्छ, ज्युरिखमा पछिल्ला केही दिनमा हामीबीच भएको छलफलले हामीबीच साँचो समझदारी रहेको स्पष्ट पारेको छ,’ शेख सलमानले भने।
विगतका विवादलाई इतिहासको हिस्साका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले त्यसबाट सबैले महत्त्वपूर्ण पाठ सिकेको विश्वास व्यक्त गरे। अब भविष्यमा कसरी मिलेर अघि बढ्ने भन्ने विषय महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
विश्वभर समर्थन जुटाउँदै इन्फान्टिनो
फिफा अध्यक्ष इन्फान्टिनो आगामी निर्वाचनलाई लक्षित गर्दै विश्वभरका सदस्य राष्ट्रसँग भेटघाट र संवादमा सक्रिय छन्। फिफाको मिडिया कार्यालयले पनि उनको अन्तर्राष्ट्रिय भ्रमणलाई प्रचार गर्दै आएको छ।
इन्फान्टिनोको नेतृत्वमा साना तथा ठूला फुटबल राष्ट्रका लागि फिफाबाट उपलब्ध हुने आर्थिक सहयोग उल्लेख्य रूपमा बढेको विषयलाई उनको निर्वाचन अभियानको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।
आलोचकहरूले भने आर्थिक सहयोग र सदस्य राष्ट्रहरूको मतदानबीच सम्भावित सम्बन्धबारे प्रश्न उठाउँदै आएका छन्।
सम्मेलनमा शेख सलमानले इन्फान्टिनोको व्यस्त भ्रमण तालिकाको प्रशंसा गर्दै हल्का शैलीमा टिप्पणी गरे।
‘यहाँ आउनुभएकोमा धन्यवाद। मलाई थाहा छ, तपाईं सबै ठाउँमा पुग्नुभएको छ। तपाईंले यो कसरी गर्न सक्नुहुन्छ भन्ने मलाई थाहा छैन। तर, लगभग सबै देशमा पुग्ने कीर्तिमान तपाईंले बनाइसक्नुभएको छ भन्नेमा म विश्वस्त छु,’ उनले भने।
इन्फान्टिनोले स्वीकारे गल्ती, एकतामा जोड
शेख सलमानपछि सम्बोधन गरेका इन्फान्टिनोले एएफसीको समर्थनप्रति आभार व्यक्त गर्दै विगतका गल्तीबाट सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले धेरै काम गर्दा राम्रा उपलब्धिसँगै गल्ती पनि हुन सक्ने स्वीकार गरे। गल्ती स्वीकार गर्नु, माफी माग्नु र अनुभवबाट पाठ सिक्नु नै नेतृत्वको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।
‘जब तपाईं धेरै काम गर्नुहुन्छ, आशा छ हामीले गरेजस्तै धेरै राम्रा काम पनि गर्नुहुन्छ, तर केही गल्तीसमेत हुन सक्छन्,’इन्फान्टिनोले भने।
उनले थपे, ‘महत्त्वपूर्ण कुरा भनेको तपाईंले भन्नुभएजस्तै अनुभवबाट सिक्नु, गल्तीबाट पाठ सिक्नु, माफी माग्नु, अगाडि बढ्नु, एकताबद्ध हुनु र हाम्रो भविष्यका लागि मिलेर निर्माण गर्नु हो।’
आफ्नो नेतृत्वमा फिफाको आर्थिक सहयोगबाट लाभान्वित हुने सदस्य राष्ट्रहरूको संख्या र रकम बढेको विषय उल्लेख गर्दा इन्फान्टिनोको सम्बोधनमा उल्लेखनीय ताली बजेको थियो।
उनले आफूले फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि प्रत्येक सदस्यले चार वर्षको अवधिमा ४१ लाख अमेरिकी डलर प्राप्त गर्ने व्यवस्था रहेकोमा अर्को वर्ष जनवरी १ देखि उक्त रकम बढेर ४ करोड २५ लाख अमेरिकी डलर पुग्ने दाबी गरे।
इन्फान्टिनोले फिफाको आर्थिक सहयोग प्रणालीलाई आफ्नो नेतृत्वको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै सदस्य राष्ट्रहरूलाई सहयोग विस्तार गरिएको बताए।
पुनः निर्वाचनमा एसियाको भूमिका निर्णायक बन्न सक्ने
४७ सदस्य रहेको एएफसीको समर्थनले इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई बलियो बनाउने सम्भावना छ।
यद्यपि, सबै सदस्य राष्ट्रले एउटै उम्मेदवारलाई समर्थन गर्नेछन् भन्ने सुनिश्चित छैन। निर्वाचनमा अन्य क्षेत्रका फुटबल महासंघ तथा सदस्य राष्ट्रहरूको भूमिका पनि महत्त्वपूर्ण हुनेछ।
दुई महिनाअघि विश्वाससम्बन्धी विवादमा इन्फान्टिनोको आलोचना गरेको एएफसीले अहिले पुनः समर्थन घोषणा गर्नुले फिफाभित्रको राजनीतिक समीकरणमा आएको परिवर्तनलाई उजागर गरेको छ।
मार्चमा हुने निर्वाचनअघि नोभेम्बर १८ सम्म उम्मेदवारी दर्ता गर्न सकिने भएकाले आगामी दिनमा अन्य उम्मेदवार मैदानमा उत्रिन्छन् वा इन्फान्टिनो निर्विरोध निर्वाचित हुने सम्भावना बन्छ भन्ने विषयमा चासो बढेको छ।
प्रकाशित: ६ कार्तिक २०८३ १३:३५ शुक्रबार





