३ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

एसिसी यु–१९ प्रिमियर कप: ‘देशले गर्व गर्ने प्रदर्शन गर्छौं’

नेपाली टोली मलेसिया प्रस्थान

नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान सोनी पाख्रिनले छोटो तयारी भए पनि एसिसी यु–१९ महिला प्रिमियर कपमा देशले गर्व गर्ने प्रदर्शन गर्ने बताएकी छन्।

एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा मलेसियाको क्वालालम्पुरमा असार २७ गतेदेखि १० दिनसम्म यु–१९ महिला प्रिमियर कप आयोजना हुँदैछ। उक्त प्रतियोगिताका लागि नेपाली टोलीले १० दिनको प्रशिक्षणमार्फत तयारी गरेको हो।

नेपालसहित १३ राष्ट्र सहभागी हुने प्रतियोगितामा नेपाली टोलीको लक्ष्य शीर्ष चारभित्र पर्दै एसिया कपमा स्थान बनाउने रहेको छ। यसअघि पूजा महतोको कप्तानीमा खेल्दै आएको नेपाली टोलीको नेतृत्व उनले उमेर समूह पार गरेपछि पूर्वउपकप्तान सोनीलाई दिइएको हो।

पछिल्लो डेढ महिनामा सुर्खेत र मधेश प्रदेशमा आयोजित दुई घरेलु प्रतियोगितामा यु–१९ टोलीका खेलाडी व्यस्त रहेकाले टोलीले सामूहिक अभ्यासका लागि पर्याप्त समय पाउन सकेन।

प्रिमियर कपका लागि बिहीबार गौशालामा आयोजित बिदाइ कार्यक्रममा कप्तान सोनीले उपलब्ध समयअनुसार राम्रो तयारी भएको बताउँदै देशले गर्व गर्ने प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्। उनले यही प्रतियोगितामार्फत आफ्नो क्षमता प्रमाणित गर्ने अवसरका रूपमा लिएको पनि बताइन्।

नेपाली युवा टोली आजै मलेसिया प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सोनीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। प्रशिक्षक महेशप्रसाद रिजालको नेतृत्वमा टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरेको थियो।

प्रशिक्षक रिजालले उपलब्ध स्रोत–साधनअनुसार टोलीको तयारी सन्तोषजनक रहेको बताउँदै महिला यु–१९ विश्वकप छनोटको दृष्टिले पनि यो प्रतियोगिता महत्वपूर्ण रहेको उल्लेख गरे। उनले नेपाली यु–१९ महिला टोलीले बनाएको उत्कृष्ट पहिचानलाई कायम राख्दै अझ सशक्त प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले कप्तान सोनी, सना प्रविण र सावित्री धामीजस्ता भरपर्दा ब्याटर तथा सन्तुलित बलिङ आक्रमणका कारण नेपाली टोली बलियो रहेको बताए। प्रतियोगितामा सहभागी टोलीहरूमध्ये नेपाल पनि प्रतिस्पर्धी टोलीका रूपमा रहेको उनको विश्वास छ।

नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहलगायतले टोलीलाई बिदाइ गरेका थिए।

प्रतियोगितामा सहभागी १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’मा हङकङ, कतार र सिंगापुर रहेका छन्। समूह ‘बी’मा यूएई, ओमान र भुटान, समूह ‘सी’मा इन्डोनेसिया, मलेसिया र कुवेत, तथा समूह ‘डी’मा थाइल्यान्ड, म्यानमार र जापान रहेका छन्।

हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। नेपालले पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल असार २८ गते सिंगापुरसँग र समूह चरणको अन्तिम खेल असार ३० गते हङकङसँग हुनेछ।

सेमिफाइनलमा पुग्ने चार टोलीले एसिया कपका लागि छनोट हुनेछन्। सेमिफाइनलका विजेता दुई टोलीबीच साउन २ गते फाइनल खेल हुनेछ।

सोनीको कप्तानीमा रहेको नेपाली टोलीमा सना प्रविण, अलिसाकुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विक, कृस्मा गुरुङ, अन्जी पाठक, मनीषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन्।

प्रकाशित: २५ असार २०८३ १९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App