२७ भाद्र २०८३ शनिबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

फाइल तस्बिर

तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्।

नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ।

दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो। युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो।

यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण छ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ। युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन्।  नेपालले ११ र युएईले आठ खेल जितेका छन्। पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ।

नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आइसिसी विश्वकप लिग-२ मा पनि स्पर्धा गरेको थियो। त्यसअन्तर्गतका  दुवै खेलमा नेपाल विजयी भएको थियो।

प्रकाशित: २७ भाद्र २०८३ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App