बागमती प्रदेशका अभिभ प्रधानले दसौं राष्ट्रिय खेलकुदको पौडीमा बिहीबार तीन राष्ट्रिय कीर्तिमानसहित तीन स्वर्ण पदक जितेका छन्।
नेपालगन्जस्थित नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा अभिभले दुईवटा एकल र एउटा टिम स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्। यससँगै जारी राष्ट्रिय खेलकुदमा उनको नाममा आठवटा स्वर्ण पदक भएको छ। तेस्रो दिनको खेलमा अभिभले १०० मिटर बटरफ्लाई, ५० मिटर ब्याकस्ट्रोक र चार गुणा सय मिटर फ्रिस्ट्याइल रिलेमा स्वर्ण पदकसहित कीर्तिमान बनाएका हुन्।
१०० मिटर बटरफ्लाईमा अभिभले स्वर्ण जित्दा ५८.२२ सेकेन्ड समय निकाली नयाँ राष्ट्रिय कीर्तिमान बनाए। यस विधामा यसअघि सन् २०२५ मा अनुभव सुब्बाको नाममा ५९.५४ सेकेन्डको कीर्तिमान थियो। नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठले रजत जित्दा पनि पुरानो कीर्तिमानलाई पछि पारे। इर्भिनले ५९.०४ सेकेन्ड समय निकाले।
आर्मीका सौर्यबहादुर सिंहले कांस्य जिते। उनले १ मिनेट ००.५३ सेकेन्ड समय लगाए। अभिभले ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्दा २८.९५ सेकेन्ड समय निकाले। यो प्रदर्शन राष्ट्रिय कीर्तिमानमा सुधार गर्न पर्याप्त भयो।
सन् २०२६ मा जाडेन श्रेष्ठले बनाएको २९.७० सेकेन्डको कीर्तिमानलाई अभिभले सुधार गरेका हुन्। यसै विधामा त्रिभुवन आर्मी क्लबका जाडेन भने रजत पदकमा सीमित भए। उनले २९.९० सेकेन्ड लगाए। बागमतीकै रेवन्तबहादुर श्रेष्ठले २९.९२ सेकेन्डमा कांस्य पदक जिते। अभिभ सम्मिलित बागमतीको टोलीले चार गुणा १०० मिटर फ्रिस्टायल रिलेमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनायो। रेवन्त, आरेक कर्माचार्य र वशिष्ठराज शाही सम्मिलित यो टोलीले तीन मिनेट ४५.७५ सेकेन्डमा दूरी पार गर्दै नयाँ समय निकाले।
त्यसअघि सन् २०२५ मा अभिभ नै सम्मिलित जाडेन, रेवन्त र अल्भिन महर्जनको नाममा ३ मिनेट ४७.७३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो। नेपाल पुलिस क्लब (इर्भिन श्रेष्ठ, अरुश अवाले, मायन श्रेष्ठ र काल्किन श्रेष्ठ) ले तीन मिनेट ५१.७५ सेकेन्डसहित रजत र ३ मिनेट ५५.९७ सेकेन्डसहित आर्मी (आरभ अग्रवाल, सौरेनबहादुर, असिम भण्डारी र अल्भिन महर्जन) ले कांस्य पदक जिते।
बिहीबार थप दुई राष्ट्रिय कीर्तिमान बन्दा लिली बोहरा र विकास कुमालले बनाएका हुन्। कोसीका विकास कुमालले २०० मिटर ब्रेस्ट स्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन्। विकासले आफ्नै पुरानो कीर्तिमानमा सुधार गर्दै २ मिनेट ३४.३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए। यसअघि उनको नाममा २ मिनेटमा ३४.७४ सेकेन्डको कीर्तिमान थियो।
सुदूरपश्चिमका अथर्भ सिंहले रजत जित्ने क्रममा २ मिनेट ४०.०५ सेकेन्ड र कास्ंय जित्ने पुलिसका जाडेन श्रेष्ठले २ मिनेट ४४.९६ सेकेन्डमा पूरा गरे। अहिलेसम्म ३४ स्वर्ण पदकको छिनोफानो भइसकेको छ। बिहीबार कुल १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। ४०० मिटर फ्रिस्टायलमा पुलिस क्लबका काल्किन श्रेष्ठले ४ मिनेट २०.११ सेकेन्डसहित स्वर्ण पदक जिते।
पुलिसकै मयोन श्रेष्ठले रजत (४ मिनेट ३०.८८ सेकेन्ड) र सुदूरपश्चिमका अथर्भले कांस्य पदक (४ मिनेट ३२.८१ सेकेन्ड) जिते। २०० मिटर इन्डिभिज्युअल मिडलेमा एनआरएनए टिमकी लिलीले स्वर्ण (२ मिनेट ३३.६७ सेकेन्ड) पदक जितिन्। उनले अहिलेसम्म ६ स्वर्ण, चार रजक र एक कांस्य पदक जितिसकेकी छन्।
२०० मिटर मिड्लेमा आर्मीकी डुअना लामाले रजत (२ मिनेट ३३.८९सेकेन्ड) र एनआरएनए मिखा काया थापाले कांस्य (२ मिनेट ४६.९४सेकेन्ड) पदक जिते। महिला १०० मिटर बटरफ्लाईमा आर्मीकी डुअनाले स्वर्ण (१ मिनेट १०.४३ सेकेन्ड), एनआरएनएकी लिलीले रजत (१ मिनेट १२.०३ सेकेन्ड) र पुलिसकी देभान्सीले कांस्य पदक (१ मिनेट १६.२६ सेकेन्ड) हासिल गरे।
महिला २०० मिटर ब्रेस्ट स्ट्रोकमा आर्मीकी डुआनाले स्वर्ण (२ मिनेट ४९.३४ सेकेन्ड), एनआरएन लिलीले रजत (२ मिनेट ५८.६४ सेकेन्ड) र आर्मीकी रितिका भूमिले कांस्य पदक (३ मिनेट ०३.५२ सेकेन्ड) जित्न सफल भइन्।
महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएन मिखाले स्वर्ण (३३.२७ सेकेन्ड), बागमतीकी आर्या महर्जनले रजत (३३.४३ सेकेन्ड) र पुलिसकी देभान्सीले कांस्य पदक (३४.११ सेकेन्ड) जिते। महिला ४ गुणा २०० मिटर फ्रिस्टायलमा रिलेमा आर्मीले स्वर्ण (९ मिनेट ५८.७३ सेकेन्ड), बागमतीले रजत (१० मिनेट ०७.५२ सेकेन्ड) र पुलिसले कांस्य पदक (१० मिनेट ४१.८६ सेकेन्ड) जिते। ४ गुणा ५० मिटर मिडले रिलेमा आर्मीले स्वर्ण (१ मिनेट ५६.०८ सेकेन्ड), बागमतीले रजत (१ मिनेट ५७.५३ सेकेन्ड) र पुलिसले कांस्य पदक (१ मिनेट ५८.६४ सेकेन्ड) जितेका छन्।
पौडीमा बागमतीको दबदबा
पौडीको पदकतालिकामा बागमती प्रदेशले दबदबा कायम गरेको छ। ३४ स्वर्णको छिनोफानो हुँदा बागमतीले १२ स्वर्ण पदक, समान सात रजत र कांस्य गरी कुल २६ पदक पदक जित्यो। दोस्रो स्थानमा रहेको एनआरएनए टिम ९ स्वर्ण जित्दा समान तीन रजत र कांस्य गरी कुल १५ पदक जितेको छ।
तेस्रो स्थानमा नेपाल आर्मी क्लब छ। आर्मीले ६ स्वर्ण पदक, १० रजत र १३ कांस्य गरी कुल २९ पदक जित्यो। नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत, १२ कांस्य गरी कुल २७ पदकसहित चौथो स्थानमा छ। पाँचौं स्थानमा रहेको कोशी प्रदेशले दुई स्वर्ण जितेको छ। दुवै स्वर्ण विकास कुमालले दिलाएका हुन्। छैटौं स्थानमा रहेको सुदूरपश्चिमले एक स्वर्ण ३ रजत र एक कांस्य पदक गरी कुल पाँच पदक जितेको छ।
प्रकाशित: ११ मंसिर २०८३ ०६:३८ शुक्रबार





-600x400.jpg)