६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अप्रत्याशित नतिजा ठूला टोलीका लागि चुनौती

अस्ट्रेलियामा जारी ट्वान्टी–२० क्रिकेट विश्वकपको सुपर १२ का खेल समापन हुँदा केही अप्रत्याशित नतिजा आएको छ। जसले ठूला भनिएका टोलीलाई आगामी दिनको यात्रा सहज नहुने संकेत गरेको छ।

सबैभन्दा अप्रत्याशित नतिजा आइतबार नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाविरुद्धको खेलको नतिजाले दिएको छ। नेदरल्यान्ड्सको जितले प्रतियोगिताबाट बाहिरिने संघारमा रहेका पाकिस्तान र बंगलादेशको सेमिफाइनलको सम्भावना ब्युँताइदिएको थियो। जसलाई पाकिस्तानले सदुपयोग गर्दै सेमिफाइनलको टिकट काटेको थियो। दक्षिण अफ्रिकामाथिको जितसँगै नेदरल्यान्ड्स सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेटमा स्वतः छनोट भयो। दुई पटकको विजेता वेस्ट इन्डिज र इङ्ल्यान्डमाथि आयरल्यान्डले निकालेको जित पनि सबैका लागि अप्रत्याशित रह्यो। जिम्बाब्वेले पनि पाकिस्तानमाथि एक रनको रोमाञ्चक जित निकाल्यो। त्यसो त प्रतियोगिताको पहिलो खेलमै नामिबियाले एसिया कपको विजेता श्रीलंकालाई ५५ रनले स्तब्ध पारेको थियो। नेदरल्यान्ड्सविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेदरल्यान्ड्सका बलर रोलोप भान डेर मेर्वेले ट्वान्टी२० छोटो संरचनाको क्रिकेट भएकाले जस्तोसुकै नतिजा पनि आउन सक्ने बताएका थिए।

‘यो क्रिकेटको छोटो संरचना हो र यहाँ जस्तोसुकै नतिजा पनि आउन सक्छ,’ उनले भने, ‘एक दशकअघि सानो टिमले ठूला भनिएका टोलीलाई हराउँदा त्यो अप्रत्याशित लाग्न सक्थ्यो। तर अहिले सानो टोली पनि ठूलो टोलीलाई निराश पार्ने सामथ्र्र्य राख्छन्। सबै टोली उत्कृष्ट छन् र यो विश्व क्रिकेटकै लागि राम्रो सङ्केत हो।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) पनि आफ्ना सदस्य राष्ट्रभन्दा बाहिर पनि क्रिकेट खेललाई लैजान चाहन्छ। तर शीर्ष वरीयताको टोलीको व्यस्त खेलतालिकाले नयाँ टोलीले त्यति प्राथमिकता पाएका छैनन्।

शीर्ष दुई टोलीबीचको जस्तो शीर्ष टोली र नयाँ टोलीबीचको शृंखलामा त्यति आम्दानी पनि हुँदैन। त्यस कारण पनि शीर्ष वरीयताका टोली नयाँ टोलीवरुद्धको शृंखलाका लागि त्यति इच्छुक देखिएका छैनन्।

त्यस्तै अहिले सबैको रोजाइ बनेका फ्रेन्चाइज लिगहरूले पनि नयाँ टोलीको शीर्ष टोलीविरुद्ध विभिन्न शृंखला खेल्ने लक्ष्यलाई धक्का पु¥याइरहेका छन्। जसका कारण नयाँ टोली एकआपसका शृंखलामा रमाउन बाध्य छन्। उनीहरूका लागि विश्वकपमा छनोट हुनु नै शीर्ष टोलीविरुद्ध खेल्न पाउने एक मात्र अवसर हो। आयरल्यान्डका कप्तान एन्ड्रियु बाल्बिरेन भने आफूहरूले वेस्ट इन्डिज र इङ्ल्यान्डविरुद्ध निकालेको जितलाई अप्रत्याशित जितका रूपमा लिएकोमा सन्तुष्ट छैनन्।  

‘हामीले शीर्ष टोलीविरुद्ध कमै मात्र खेल्ने अवसर पाइरहेका छांै र त्यसैले समर्थकले हाम्रा खेलाडी नचिन्नु स्वाभाविक हो,’ उनले भने, ‘तर हामीले शीर्ष टोलीविरुद्ध निकालेको जितलाई अप्रत्याशित नतिजा भन्नु हाम्रो मनोबल गिराउनु हो। यस प्रतियोगितामा आएका नतिजाले शीर्ष वरीयताका ६ वा ७ टोलीभन्दा बाहिरका टोली पनि त्यत्तिकै उत्कृष्ट छन् भन्ने प्रमाणित गरेको छ।’

प्रकाशित: २२ कार्तिक २०७९ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App