६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। 

प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएपछि पक्राउका लागि  प्रहरी परिचालन गरिएको हाे। प्रहरीले रवि लाछिानेलाई पक्राउ गर्नका लागि काठमाडौं जिल्ला अदालतमा अनुमति मागेको छ। अदालतले आइतबार नै पक्राउ अनुमति नदिएको बुझिएको छ। 

तर लामिछानेविरुद्ध कास्की प्रहरी कार्यालयमा परेको पूरक जाहेरीका आधारमा पक्राउ गर्न खोजेको छ। 'हामीले निगरानीमा राखेका छौँ। जुनसुकै बेला पक्राउ पर्न सक्नुहुन्छ,' प्रहरी प्रधान कार्यालयका उच्च प्रहरी अधिकारीले भने।

सूर्यदर्शनका सहकारी पीडितहरूले कास्की प्रहरीमा २०८० माघ २२ गते रविविरुद्ध जाहेरी दिएका थिए। कास्की प्रहरीले त्यसलाई लामिछाने गृहमन्त्री भएपछि तामेलीमा राखेको थियो। प्रहरी प्रवक्ता डिआइजी दान बहादुर कार्कीले लामिछाने पक्राउका लागि प्रहरी परिचालन भए नभएको आफूलाई जानकारी नभएको तर पक्राउ गर्ने अधिकार स्थानीय प्रहरीलाई नै भएको बताए। 

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो।

सरकारको निर्देशनपछि फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि निगरानी बढाएको प्रहरी उच्च स्रोतले बताएको छ। समितिले कारबाहीका लागि सिफारिस गरेकाले उनलाई जुनसुकै समयमा पक्राउ गर्न सकिने प्रहरीको भनाई छ।  

लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री समेत हुन्।

प्रकाशित: ६ आश्विन २०८१ १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App