१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

डचको जितले बदलियो समीकरण

दक्षिण अफ्रिकाविरुद्ध जित निकालेपछि नेदरल्यान्ड्सका खेलाडी। तस्बिरः एपी

सुपर १२ को खेलमा आइतबार अप्रत्याशित नतिजा निक्लिएपछि ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा भारतले इङ्ल्यान्ड र न्युजिल्यान्डले पाकिस्तानको सामना गर्ने भएका छन्।

अस्ट्रेलियामा जारी विश्वकपको अन्तिम चारका लागि दक्षिण अफ्रिका सबैभन्दा बलियो दाबेदार देखिए पनि समूहको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग एडिलेड ओभलमा अप्रत्याशित हार बेहोरेपछि सेमिफाइनल समीकरणमा यी टोलीबीच प्रतिस्पर्धा तय भयो।

कोलिन अकरमेनले २६ बलमा ४१ जोड्दा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकामाथि १३ रनको अप्रत्याशित र ऐतिहासिक जित दर्ता गर्‍यो। ठूला उपाधिका लागि अभागी टोलीका रूपमा चित्रित हुँदै आएको दक्षिण अफ्रिकालाई यो हारले थप प्रमाणित पनि गर्‍यो।

यद्यपि, दक्षिण अफ्रिकाले यस विश्वकपको सुरुआतमा राम्रो प्रदर्शन गरेको थियो, तर, समूहको अन्तिम खेलमा खराब नतिजा सामना गरेपछि अभागी टोलीको दाग मेटाउन सकेन। दक्षिण अफ्रिकाको प्रशिक्षकबाट राजीनामा दिइसकेका मार्क बाउचरका लागि पनि यो नतिजाले निराशापूर्ण बहिर्गमन बन्यो।

‘यो नतिजाले निकै दुखित बनाएको छ,’ उनले भने, ‘यो टोलीसँग धेरै राम्रो गर्ने अवसर थियो, दुर्भाग्यवश त्यो हुन सकेन। यो नतिजा मेरा लागि पनि सबैभन्दा ठूलो चोट हो। म मात्र होइन, जो यो टोलीसँग जोडिएका छन्, उनीहरूका लागि पनि हो।’

यता, यो जितपछि डच टोलीले ग्रुप टुको शीर्ष चारभित्र रहेर विश्वकपको अन्त्य गर्‍यो र आगामी विश्वकप २०२४ का लागि समेत सीधा छनोट भयो। ‘यो नतिजाले हामीमा आत्मविश्वास पनि थप्नेछ र डच क्रिकेटका लागि पनि यो राम्रो अवसर हो,’ दक्षिण अफ्रिकाविरुद्ध ३/९ को यादगार प्रदर्शन गरेका ब्रेन्डन ग्लोभरले भने, ‘आशा छ, हामीले यसको फाइदा लिनेछौं।’ डचका यो नतिजाले ग्रुप टुबाट सेमिफाइनल पुग्ने समीकरणमा समेत अप्रत्याशित परिवर्तन भयो।

भारतलाई अन्तिम खेलअगावै सेमिफाइनलमा पुर्‍यायो भने सेमिफाइनलका लागि लगभग आशा मारिसकेका पाकिस्तान र बंगलादेशको सम्भावना पनि जीवन्त राखिदियो। तीव्र गतिका बलर साहिन साह अफ्रिदी तीन महिना चोटबाट फर्किएपछि उनको प्रदर्शन राम्रो हुन सकेको थिएन।

तर, साहिनले ४/२२ को उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले बंगलादेशमाथि पाँच विकेटको जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो। पहिलो खेलमा भारतसँग पराजित पाकिस्तान दोस्रो खेलमा पनि जिम्बाब्वेसँग अप्रत्याशित रूपमा स्तब्ध भएपछि सेमिफाइनल लक्ष्यको आशा झीनो मात्र थियो।

तर, सुपर १२ अन्तिम दिन डच टोलीले अप्रत्याशित नतिजा निकालेपछि पाकिस्तानको सम्भावना ब्युँतिन पुग्यो। अब पाकिस्तानले सेमिफाइनलमा गत संस्करणको फाइनलिस्ट न्युजिल्यान्डविरुद्ध बुधबार प्रतिस्पर्धा गर्नेछ। आइतबार नै भारतले जिम्बाब्वेमाथि जित निकाल्दै ग्रुप टुबाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्‍यो।

भारतले भने जस बट्रलको इङ्ल्यान्डसँग आगामी बिहीबार एडिलेड ओभलमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। कुल ८२ हजार पाँच सय सात समर्थकमध्ये अधिकांश भारतीय समर्थकको साथ पाएको भारतले जिम्बाब्वेमाथि ७१ रनको फराकिलो जित निकालेको हो।

सन् २००७ को च्याम्पियन भारतले समूहमा यादगार प्रदर्शनसहित यस पटक पनि राम्रो दाबेदारी प्रस्तुत गरेको छ। ग्रुप वानमा शीर्ष टोली न्युजिल्यान्ड र दोस्रो भएको इङ्ल्यान्डसँग समान सात अंक जोडे पनि डिफेन्डिङ च्याम्पियन एवम् घरेलु टोली अस्ट्रेलिया नेट रनरेटमा पछि पार्दै यस विश्वकपको यात्रा टुङ्गाउन बाध्य भयो। एक अप्रत्याशित हार र वर्षाका कारण अर्को खेल रद्द हुनु नै घरेलु टोलीका लागि घातक साबित बन्यो।  

प्रकाशित: २१ कार्तिक २०७९ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App