२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

जितसँगै भारतको सेमिफाइनल आशा बलियो

बंगलादेशविरुद्ध अर्धशतक प्रहार गरेपछि भारतका विराट कोहली। तस्बिरः एपी

तीव्र गतिका बलर अर्शदीप सिंहको कसिलो बलिङको सहयोगमा भारतले ट्वान्टी–२० विश्वकप क्रिकेटमा बुधबार बंगलादेशमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै सेमिफाइनलको आशा बलियो बनाएको छ।

वर्षाले प्रभावित खेलमा डकवर्थ लेविस पद्धति (डिएल) का आधारमा बंगलादेशमाथि रोमाञ्चक जितसहित भारतले समूह दुईबाट शीर्ष दुईभित्र रहँदै सेमिफाइनल सम्भावना बलियो बनाएको हो। यो समूहमा शीर्ष टोली भारतले अन्तिम खेलमा जिम्बाब्वेमाथि जित निकालेमा सेमिफाइनलमा स्थान बनाउनेछ। भारतले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो, जबाफी लक्ष्य पछ्याएको बंगलादेशले ६ ओभरमा ६६ रन जोड्दा वर्षा भयो। केही समय वर्षाले खेल प्रभावित भएपछि खेल १६ ओभरमा छोट्याइयो र बंगलादेशले १ सय ५२ रनको नयाँ लक्ष्य पायो।

त्यससँगै बंगलादेशले बाँकी ९ ओभरमा थप ८५ रन बनाउनुपर्ने भयो। यद्यपि, आक्रामक ब्याटिङ गरिरहेका ओपनर लिटन दास सातौं ओभरको दोस्रो बलमा नै रनआउट भए। उनी दुई रन लिने चक्करमा केएल राहुलबाट रनआउट हुन पुगे। दासको त्यो विकेट बंगलादेशका लागि घातक बन्यो। त्यसपछि समालिने प्रयास गरे पनि बंगलादेश सफल हुन सकेन। बंगलादेशलाई अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको थियो। तर अर्शदीप सिंहले १४ रन खर्चिंदै जित पक्का गराए। बंगलादेशका लागि ओपनर दासले २७ बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए।

नुरुल हसन १४ बलमा दुई चौका र एक छक्कासहित २५ रनमा अविजित रहे। तस्किन अहमदले सात बलमा १/१ चौका र छक्कासहित अविजित १२ रन बनाए। बंगलादेशका सकिब अल हसन १३ रन, अफिफ हुसैन र मोसाद्दिक हुसेन ६ रनमा आउट भए। भारतका हार्दिक पाण्ड्याले तीन ओभरमा २८ रन खर्चेर दुई विकेट लिए। अर्शदीपले चार ओभरमा ३८ रन खर्चेर दुई विकेट निकाले। मोहम्मद सामीको नाममा एक विकेट रह्यो। त्यसअघि पूर्वकप्तान विराट कोहलीले नयाँ रेकर्ड बनाएको दिन भारतले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो।

एडिलेड ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनायो। कोहली ४४ बलमा आठ चौका र एक छक्कासहित ६४ रनमा नटआटड रहे। यो इनिङसँगै उनी ट्वान्टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने क्रिकेटर पनि भए। कोहलीले २३ इनिङमा एक हजार ६५ रन जोड्दै श्रीलंकाका माहेला जयवर्धनेलाई पछि पारे। जयवर्धनेको नाममा एक हजार १६ रनको कीर्तिमान थियो, जुन कोहलीले बुधबार नयाँ बनाए। ओपनर राहुल ३२ बलमा तीन चौका र चार छक्कासहित ५० रनमा आउट भए।

अर्का ओपनर एवम् कप्तान रोहित शर्मा ८ बल खेल्दै २ रनमा नै पवेलियन फर्किएका थिए। तर, त्यसपछि राहुल र कोहलीले इनिङ समाले। सूर्यकुमार यादव १६ बलमा ४ चौकासहित ३० रन बनाएर आउट हुँदा तल्लो क्रमका रविचन्द्रन आश्विनले नटआउट १३ रन जोड्दै भारतको इनिङ उकास्ने प्रयास गरे। त्यसअघि अलराउन्डर पाण्ड्या ५ रन, विकेटकिपर दिनेश कार्थिक र अक्षर पटेल ७/७ रन बनाएर पवेलियन फर्किएका थिए। बंगलादेशका मोहम्मद हसनले चार ओभरमा ४७ रन खर्चेर तीन विकेट लिए।

सकिब अल हसनले चार ओभरमा ३३ रन खर्चेर दुई विकेट निकाले। त्यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई चार विकेट र नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो। तर, दक्षिण अफ्रिकासँग पाँच विकेटले स्तब्ध हुन पुग्यो। भारतले अब आइतबार जिम्बाब्वेसँग खेल्नेछ। बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ४ रनले स्तब्ध थियो। यस्तै जिम्बाब्वेमाथि तीन रनको रोमाञ्चक जित हात पारेको थियो। अब बंगलादेशले अन्तिम खेल आइतबार पाकिस्तानसँग खेल्नेछ।

प्रकाशित: १७ कार्तिक २०७९ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App