२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात

विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। मुलपानी मैदानमा सोमवार भएको खेलमा नेपाल पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकाल्दा अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा ६९ रनको जित निकालेको हो।

 प्रदेश १ माथि सानदार जित निकालेको विभागीय टोली पुलिसले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। यसअघि आईतवार भएको खेलमा पुलिसले वागमती प्रदेशलाई हराउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो। जारी प्रतियोगितामा सुखद् शुरुवात गर्ने क्रममा गण्डकीले सुदूरपश्चिमलाई १ सय ३९ रनमा समेट्यो। गण्डकी प्रदेशले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा समेटिएको थियो। सुदूरपश्चिमका लागि मिलन बोहोराले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन।

बोहोराले ६४ बलको सामना गर्दा ३  चौका र १  छक्का प्रहार गरेका थिए। उनका अलावा ओपनर गजेन्द्र बोहोराले ३५ तथा वसन्त कार्कीले १० रनको पारी खेल्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। सुदूरपश्चिमको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका विपिन खत्रीले सर्वाधिक ४ विकेट निकाल्दा सुवास भण्डारी र अभिषेक बस्नेतले समान २/२ विकेट आफ्नो नाममा लेखाए। यस्तै अमृत गुरुङ र कमल परियारले एक/एक विकेट लिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो। उसका लागि ओपनर अर्जुन कुमालले ६३ रनको व्यक्तिगत पारी खेले। १ सय ५ बलको सामना गरेका कुमालले १० चौका प्रहार गरेका थिए। यस्तै अर्का ओपनर समिर कडेलले २६ रन जोड्दा विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५/२५ रनको योगदान गरे। 

यस्तै सन्दीप क्षेत्रीले १९ रन बनाउँदा कप्तान विपिन खत्रीले र कमल परियाले समान १३ रनको योगदान गरे। गण्डकीको ८ विकेट लिने क्रममा कैलाश ऐर, नारायण जोशी, शेर मल्लले समान २/२ विकेट लिए। यस्तै नरेन साउदले एक विकेट लिए। प्रतियोगिता अन्तर्गत सोमवार नै भएको अर्को खेलमा पुलिसले प्र्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। पुलिसको जितमा कुशल भुर्तेलले ४२ रनको योगदान दिए । शंकर रानाले २९ रन जोड । राशिद

खानले अविजित १६ तथा दीपेन्द्र सिंह ऐरीले अविजित १४ रन बनाए । सुनिल धमला शुन्य रनमा आउट भए। प्रदेश–१ का फिर्दोस अन्सारी र सिद्धान्त लोहनीले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो। प्रदेश–१ का लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए। विवेकआनन्द मेहेताले १७ रन जोडे। पुलिसका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए। यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ। पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ। प्रदेश–१ ले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ। प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन्। मुलपानीमा हुने खेलमा विभागीय टोली एपिएफ र सुदूरपश्चिम प्रदेश तथा कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वागमती प्रदेश र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: १४ कार्तिक २०७९ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App