‘हरेक प्रतियोगितापछि बिहे गर्छु भन्दाभन्दै भारोत्तोलनमा मेरो यात्रा २० वर्ष भएछ। यसो फर्केर हेर्दा बुढो भएँ कि भन्ने पनि लाग्छ,’ नेपालकै स्ट्रंगेस्ट महिला तारादेवी पुनले ठट्यौंली शैलीमा भनिन्।
भारोत्तोलनकी तारादेवी राष्ट्रिय खेलकुदका लागि सफल खेलाडी हुन्। सय किलोको भार वहन गर्ने एक मात्र महिला खेलाडी भएकाले पनि उनलाई स्ट्रंगेस्ट महिलाको उपमा दिइएको हो। उनको नाममा वि.सं. २०५५ सालको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नवौं संस्करणसम्म स्वर्ण जित्ने सफलता पनि जोडिएको छ। त्यो पनि फरक खेलबाट उनले स्वर्ण जितेकी छन्, त्यो हो, भलिबल र भारोत्तोलन। भलिबलकी लिफ्टर तारादेवी एकाएक ठूला भार उठाउने खेलाडी कसरी बनिन् भन्ने प्रश्नमा राजा वीरेन्द्र शाहको निधनको घटना पनि जोडिएको छ।
वि.सं. २०५५ सालमा त उनी भलिबलको खेलाडी थिइन्। त्यो वर्ष उनले मध्यपश्चिममा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल भलिबल टोलीबाट स्वर्ण पनि जितेकी थिइन्। पाँचौं संस्करणमा पनि उनले भलिबलबाट पश्चिमाञ्चलको प्रतिस्पर्धा गर्ने टुङ्गो लागेको थियो। ०५८ सालमा पाँचौं संस्करण हुने तय थियो। तर, त्यही समयमा राजा वीरेन्द्र शाहको हत्या भयो। त्यस कारण निर्धारित समयमा पाँचौं संस्करण हुन पाएन। उनी केही समय घरमै बस्न बाध्य भइन्। लामो समय खेल भइरहेको थिएन।
त्यही बेला तेक्वान्दोकी ओलम्पियन प्रमिला थापाले तिम्रो शरीर भारोत्तोलन खेल्ने खालको छ भनेपछि उनको यात्रा भारोत्तोलनतर्फ मोडियो। उनी भलिबलको अभ्यास गर्न काठमाडौं बसिरहेकी थिइन्। तर, ओलम्पियन प्रमिलाको सुझावले भारोत्तोलन सिक्न थालिन्, उनले। भलिबलमा तारादेवीको पोजिसन लिफ्टर हो। यता, खेलमा नयाँ खेलमा पनि उनले भार उठाउनु नै थियो। यहाँ भने उनले ठूलो भार उठाउनुपर्थ्यो। २० वर्षको उमेर पुगेपछि उनी भारोत्तोलनकी खेलाडी भइन्। यसबीच तारादेवीले भारोत्तोलनमा २० वर्षको करियर पूरा गरिसकेकी छन्।
उनी विभागीय टोली नेपाल पुलिस क्लबकी खेलाडी हुन्। यही खेलेबापत उनले सम्मानस्वरूप असईसम्मको दर्जा प्राप्त गरिसकेकी छन्। उनै तारादेवीका लागि मंगलबार पनि विशेष रह्यो। पोखरामा जारीमा नवौं राष्ट्रिय खेलकुदमा उनले फेरि पनि यादागर सफलतालाई दोहोर्याइन्। ४० वर्षे तारोदेवी तीन राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितिन्। पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन तारादेवीले महिला ८१ केजी तौल समूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
उनले स्न्याचमा ७० केजी र क्लिन एन्ड जर्कमा १ सय २ गरी कुल १ सय ७२ केजी भार वहन गरिन्। यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो। लक्ष्मी १३औं दक्षिण एसियाली खेलकुद सागको स्न्याचमा ६९, क्लिन एन्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। मंगलबारको सफलतापछि भेट्रान खेलाडी तारादेवी राष्ट्रिय खेलकुदमा लगातार ६ स्वर्ण जित्ने एक मात्र खेलाडी भइन्। २० वर्षका उमेरमा नै नयाँ खेलमा खुट्टा राख्ने उनको निर्णयले ठूलो सफलता पाइरहेको छ।
भारोत्तोलनको पहिलो प्रतिस्पर्धामा नै स्वर्ण जितेकी तारादेवीमा ४० वर्षको उमेरमा पनि उस्तै शक्ति देखिएको छ। आफ्नो शक्तिको पछाडि आत्मबल नै रहेको उनको भनाइ छ। ‘मेरो सफलता र शक्तिको राज आत्मबल नै हो,’ उनी भन्छिन्। स्वास्थ्यले साथ दिइरह्यो भने ५० वर्षसम्म खेल्न मन छ उनलाई। ‘स्वास्थ्यले साथ दियो भने ५० वर्षसम्म खेल्न मन छ। तर, शरीरले साथ दिँदैन पनि सत्यता पनि छ। यद्यपि, अन्तिम पटक साग खेलेर विश्राम लिने लक्ष्य छ,’ तारादेवीले आगामी यात्राबारे प्रस्ट्याइन्।
नेपाल पुलिस क्लबबाट पाँचौं, छैटौं, सातौं, आठौं र नवौं संस्करणसम्म स्वर्ण जित्दै तारादेवी राष्ट्रिय खेलकुदकै सबैभन्दा सफल खेलाडीका रूपमा स्थापित भइन्। यसमा पनि उनले दुई फरक खेलबाट स्वर्ण जित्ने सफलता वि.सं. २०६५ सालमै बनाएकी थिइन्। चौथोदेखि नवौं संस्करणको यात्रा नियाल्दा उनलाई गर्विलो महसुस हुने गर्छ। ‘पहिले ख्याल ख्यालैमा खेलियो। तर, खेल्दा खेल्दा यो मेरो जीवनको लक्ष्य बन्यो। त्यसैले पनि खेलप्रति लगाब बढ्न थाल्यो र जितको भोको पनि। सफलता पाउन थालेपछि दबाबमा पनि उस्तै हुने रहेछ,’ उनले भनिन्, ‘अब केही लक्ष्य पूरा भएपछि खेलबाट संन्यास लिन्छु होला।’
तारादेवीको तौल समूहमा एपिएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एन्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत जितिन्। सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्लाले कांस्य पदक पाइन्। उनले स्न्याचमा ४० र क्लिन एन्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गरेकी थिइन्।
प्रकाशित: २ कार्तिक २०७९ ०२:०७ बुधबार