१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

पौडीमा आर्मीको दबदबा

सय मिटर बटरफ्लाईतर्फ स्वर्णका साथ एस्ले सापकोटा डंगोल (बीच), रजतका साथ मेदन गुरुङ (बायाँ) र कांस्यका साथ रोशा न्यौपाने। तस्बिर/नागरिक

राष्ट्रिय खेलुकदको पौडीमा सोमबार आर्मीले ९ मध्ये ६ स्वर्ण पदक जितेको छ। पोखराको विरौटास्थित फिस्टेल एकेडेमीको पौडी पोखरीमा आर्मीका नासिर हुसेनले नयाँ राष्ट्रिय कीर्तिमानसहित पुरुष चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जिते।

उनले यस अघि आफ्नै नाममा रहेको चार मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भंग गर्दै ४ मिनेट ०८.६४ सेकेन्डको रेकर्ड बनाए। सोही स्पर्धामा एनआरएनएका आशिष सापकोटाले चार मिनेट २२.४५ सेकेन्ड समयसहित रजत पदक जिते। चार मिनेट २५.७४ सेकेन्ड खर्चिएका बाग्मतीका एर्भिन श्रेष्ठले कास्य जिते। पुरुष सय मिटर बटर फ्लाइमा पनि नासिरले नयाँ कीर्तिमानसहित स्वर्ण जिते। उनले यस अघि आफ्नै नाममा रहेको ५९.७७ सेकेन्डको कीर्तिमान सुधार गर्दै ५७.८६ सेकेन्डको नयाँ रेकर्ड बनाए।

सोही विधामा एनआरएनएका आशिषले ५९.६८ मा दूरी पार गर्दै रजत जिते। ५९.७३ मिनेट खर्चिएका आर्मीकै अनुभव सुब्बाले कांस्य जिते। एनआरएनकी एस्ले डंगोल सापकोटाले महिला सय मिटर बटरफ्लाई स्वर्ण जितिन्। नेपाल पुलिसकी मेगन गुरुङले रजत र बाग्मतीकी रोशा न्यौपानेले कांस्य जितिन्। एस्लेले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको एक मिनेट ९.९७ सेकेन्ड समयलाई भंग गर्दै एक मिनेट ७.७४ सेकेन्ड समयका साथ स्वर्णमा आफ्नो नाम लेखाइन्। महिला दुई सय मिटर ब्रेस्ट स्ट्रोक दुई मिनेट ४३.२३ सेकेन्डमा पूरा गर्दै डुवाना लामाले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन्। आर्मीकै उपास्थी महर्जनले २ मिनेट ५६.९७ सेकेन्डसहित रजत र पुलिसकी अदिप्सा वैद्यले तीन मिनेट ०.०३ सेकेन्डका साथ कांस्य जिते। पुरुष ५० मिटर ब्याकस्ट्रोकमा आर्मीकै एलेक्जेन्डर साहले २७.४७ सेकेन्डको कीर्तिमान बनाउँदै स्वर्ण जिते। यस अघि २७.५४ सेकेन्डको कीर्तिमान उनकै नाममा थियो।  

गण्डकीका अमृतद्वारा स्वर्ण ह्याट्रिक  

स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ।  

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले बाग्मतीका अरहन्त सिन्हालाई हराउँदै स्वर्ण पदक जितेका हुन्। थापाको यो ह्याट्रिक पदक हो। उनले सातौं, आठौंमा समेत स्वर्ण पदक जितेका थिए। निकै प्रतिस्पर्धात्मक खेलमा थापाले पहिलो सेट १२–१० मा टुंग्याए। दोस्रो सेट ८–११ ले गुमाए। तेस्रो सेट १२–१० ले आफ्नो पक्षमा पारे। तर, चौथो सेटमा ९–११ ले पछि परेपछि थापाले निर्णायक सेट ११–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जिते। बाग्मतीका अमिर ब्लोन र गण्डकीका दीपक थापाले कांस्य पदक जिते।  

ओलम्पियन कमललाई स्वर्ण

त्रिभुवन आर्मी क्लबका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौलसमूहमा स्वर्ण जितेका छन्। ओलम्पियन कमलले स्न्याचमा ९५ केजी क्लिन एन्ड जर्कमा १ सय ३० केजी गरी कुल २२५ केजी भार वहन गर्दै स्वर्ण जितेका हुन्। आर्मीकै मुक्तिराम घलेले स्न्याचमा ९० केजी, क्लिन एन्ड जर्कमा १ सय १९ गरी कुलमा २ सय ९ केजी भारका साथ रजत पाए। सुदूरपश्चिमका अशोक सिंह भण्डारीले स्न्याचमा ९२ केजी, क्लिन एन्ड जर्कमा ११६ केजी गरी कुल २०८ केजी भारका साथ कांस्य प्राप्त गरे।

महिला नेपाल पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितिन्। टीकाले स्नाचमा ६० केजी, क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल १४० केजी तौल भार उचालिन्। प्रभा थारूले स्न्याचमा ५८ केजी, क्लिन एन्ड जर्कमा ७१ केजी गरी कुलमा १ सय २९ केजीका साथ रजत जितिन्। लुम्बिनीकी कृष्णकला विष्टले स्न्याचमा ५६ केजी, क्लिन एन्ड जर्कमा ७२ केजी गरी कुल १ सय २८ केजी तौलका साथ कांस्य पाइन्। महिला ५९ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्वर्ण हात पारिन्। उनले स्न्याचमा ६८ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५३ केजी तौल भार वहन गरिन्।

पुलिसकी देवीकुमारी चौधरीले स्न्याचमा ५८ केजी, क्लिन एन्ड जर्कमा ७० केजी गरी कुल १२८ केजी भारका साथ रजत र आर्मीकी अस्मिता पुलामीमगरले स्न्याचमा ५३ केजी र क्लिन एन्ड जर्कमा ७० केजी गरी कुल १ सय २३ केजी भारका साथ कांस्य पाइन्।

महतोद्वारा राष्ट्रिय कीर्तिमान

आर्मीका तुलाराम महतोले भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। महतोले ५५ केजी तौलसमूहमा दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। उनले क्लिन एन्ड जर्कमा एक सय दुई केजी भार उठाउँदै कीर्तिमान बनाए। स्न्याचमा भने ८७ केजी उठाउन सफल भए। कुलमा एक सय ८९ केजी उठाई दुई कीर्तिमान बनाउन सफल भए।  

महिला क्रिकेटबाट दुवै पुलिस फाइनलमा

महिला क्रिकेटको उपाधिका लागि नेपाल पुलिस क्लबले एपिएफसँग प्रतिस्पर्धा गर्ने पक्का गरेको छ। महिला क्रिकेटमा पुलिसले यसै नवौं राष्ट्रिय खेलकुदबाट खेल्न थालेको हो। ज्योति पाण्डेको अविजित ६९ रन प्रेरणामा एपिएफले लुम्बिनी प्रदेशमाथि ६७ रनको जित निकाल्दै उपाधि भिडन्त पक्का गर्‍यो।

एक सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनी ६२ रनमा समेटियो। सुस्मिता बजगार्इंले सर्वाधिक १२ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन चुके। एपिएफकी नेरी थापाले चार विकेट लिँदै आफ्नो पूर्वटोलीलाई धराशयी बनाइन्। त्यसअघि टस हारेको एपिएफले १ सय २९ रनको योगफल तयार पार्‍यो। ओपनर पाण्डेले ६१ बलमा सात चौका हिर्काइन्। एपिएफका अन्य ब्याटर ममता चौधरीले १६, रोमा थापाले १२ र सीता रानामगरले ११ रन बनाए। लुम्बिनीकी कृत्तिका मरासिनीले दुई विकेट लिइन्।  

दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई ३६ रनले हराउँदै फाइनल प्रवेश गर्‍यो। १ सय २४ रनको लक्ष्य पछ्याएको बाग्मती ८७ रनमा समेटिएपछि महिला क्रिकेटमा डेब्यु गरेको पुलिस फाइनलमा पुग्यो। बाग्मतीका सुमन खतिवडाले २३, अस्मिना कर्माचार्यले १८ र आरती बिडारीले अविजित ११ रन जोडे। पुलिसका कविता कुँवरले तीन र ईश्वरी विष्टले दुई विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले ४ विकेट गुमाउँदै १ सय २३ रन बनायो। पुलिसकी ओपनर काजल श्रेष्ठले ४६ रन बनाउँदा कविता कुँवरले २६ रन जोडिन्। कप्तान रुविना क्षत्री १७ रन र कविता जैसीले १५ रन बनाए। बाग्मतीकी अस्मिना कर्माचार्य, खुसी डंगोल र सुमन खतिवडाले १/१ विकेट लिए।  

टेबल टेनिसमा पुलिसलाई चार स्वर्ण  

नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेबल टेनिसमा पाँच वटा विधाको टुङु्गो लाग्दा पुलिसले चार स्वर्णमा कब्जा गरेको छ। एक विधामा भने एपिएफले स्वर्ण जित्यो। सोमबार पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी चार वटा इभेन्ट्सको स्वर्ण पदक प्रहरीले जित्दा एपिएफले महिला डबल्समा सफलता पायो।  

महिला भलिबलमा पुलिस, बागमती र एपिएफलाई सफलता  

महिला भलिबलमा एपिएफ, बाग्मती र नेपाल पुलिस अन्तिम चारमा प्रवेश गरेका छन्। सोमबार पहिलो क्वार्टरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। एपिएफले २५–१५, २५–१८, २५–१० को सेटमा जित निकाल्यो। अर्काे खेलमा बाग्मतीले सुदूरपश्चिमलाई २५–१२, २५–१५ र २५–२३ को सेटमा हरायो। पुलिसले भने आर्मीविरुद्ध पाँचांै सेटमा जित निकाल्दै अन्तिम चारमा पुग्यो। पुलिसले आर्मीविरुद्ध २५–१३, २५–२०, २३–२५, १४–२५ र १५–१३ को जित हात पार्‍यो। सेमिफाइनलमा पुग्ने अर्काे एक टोलीका लागि गण्डकी प्रदेशले प्रदेश–१ सँग प्रतिस्पर्धा गर्नेछ।  

थापाको रामघाटमा अन्त्येष्टि  

प्याराग्लाइडिङ दुर्घटनामा परी ज्यान गुमाएका निसिम थापाको सोमबार रामघाटमा अन्त्येष्टि गरिएको छ।  

राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीबाट सहभागिता जनाएका निसिम आइतबार दिउँसो टेक अफपछि दुर्घटनामा परेका थिए। टेक अफलगत्तै हावाको चापमा असन्तुलन हुँदा उनी जमिनमा बजारिन पुगेका थिए। निसिम क्रस कन्ट्रीको दोस्रो दिन पहिलो टेक अफ गरेका थिए। पहिलो दिनको टास्कमा निसिम आठौं स्थानमा रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए। उनको बिहान शवयात्रा गरिएको थियो। उनको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषद्को झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो।

प्रकाशित: १ कार्तिक २०७९ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App