२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

शिवराज र सरस्वतीद्वारा २३ वर्ष पुरानो कीर्तिमान भंग

एथलेटिक्सका शिवराज पार्कीले शनिबार २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेपछि पोखरा रंगशालाको ट्रयाकमा नै रहेका आफ्ना दाइलाई अंकमाल गर्न गए।

शनिबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका प्रतिस्पर्धा पोखरा रंगशालामा सुरु भए। पहिलो दिन नै दुई राष्ट्रिय कीर्तिमान बने। यी दुवै सय मिटर विधाकै महिला र पुरुषतर्फका हुन्। पुरुषतर्फ उनै शिवराजले कीर्तिमान भंग गरेका हुन्। सशस्त्र प्रहरी बल विभागमा आबद्ध शिवराजले एक सय मिटर पुरुषमा कीर्तिमानी १०ः५६ सेकेन्डको प्रदर्शनका साथ स्वर्ण पदक जिते। आर्मीका युवराज बिकले (१०ः५८) रजत तथा आर्मीकै डिल्ली भण्डारी (१०ः७०) ले कांस्य पदक हात पारे।

रामकृष्ण चौधरीको नाममा रहेको २३ वर्ष पुरानो कीर्तिमानमा शिवराजले सुधार गरेका हुन्। चौधरीले १९९९ मा १०ः७१ सेकेन्डको कीर्तिमान बनाएका थिए। शिवराजले यो जितको श्रेय आफ्ना दाजुलाई दिए। उनका दाजु हुन्, गोपीचन्द्र पार्की। पार्की परिवारका पाँच छोरामध्ये गोपीचन्द्र र शिवराज पुछारका दुई हुन्। गोपीचन्द्र १३औं सागमा पाँच हजार मिटर दूरीका स्वर्ण विजेता हुन्। ‘मेरो दाइकै कारण आज म यहाँसम्म छु। त्यसैले जित्नेबित्तिकै दाइसँग अकमाल गर्न गएँ,’ शिवराजले भने। गोपीचन्द्र जस्तै शिवराज पनि लामो दूरीका खेलाडी थिए।

यद्यपि, त्यसमा खासै सफलता प्राप्त हुन नसकेपछि उनले छोटो दूरीमा ध्यान दिए। यो नवौंका लागि चार महिनाअगाडि मात्र आफूले तयारी गरेको उनको भनाइ छ। गोपीचन्द्रले वि.सं. २०६४ सालदेखि राष्ट्रपति रनिङ सिल्डबाटै एथलेटिक्स खेल्न थालेका हुन्। त्यसको दुई वर्षपछि नै सशस्त्रमा जवानका रूपमा गोपीचन्द्र भर्ना भए। सुरुआतमा असफल भए पनि पछि गोपीचन्द्रले लामो दूरीको दौडमा स्वर्ण जित्न थाले। पछि उनले सबैभन्दा कान्छा भाई शिवराजलाई पनि आफ्नो यात्रामा डोर्‍याए।  

‘भाइको सफलताले धेरै खुसी भएको छु। उसमा क्षमता छ भन्ने मलाई थियो। त्यहीअनुरूप भाइ पनि मेरो विश्वासमा खरो उत्रियो। चार महिना अगाडि मात्र भाइ सय मिटरमा केन्द्रित हुन थालेको हो,’ गोपीचन्द्रले भने, ‘प्रायः संसारभर १८ वर्षदेखि ३० वर्षसम्म खेल्छन्। तर, ऊ ३३ वर्षको भएको छ। यो उमेरमा विश्वस्तरीय खेलाडी नै संन्यास लिन्छन्। तर, उसले यो उमेरमा सफलता पाएको छ। यो उमेर भनेको लामो दूरीको धावकका लागि मात्र उपर्युक्त हुन सक्छ।’ गोपीचन्द्रले ०७० देखि स्वर्ण चुम्न थालेका हुन्। सातौं राष्ट्रिय खेलकुदमा पनि गोपीचन्द्रले १० हजार मिटरमा स्वर्ण जिते।

शिवराजले पनि वि.सं.२०७२ सालदेखि एपिएफबाट खेल्न थाले। गोपीचन्द्रका भाइले पनि लामै दूरीमा खेल्न थाले। शिवराजले सातौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जिते। त्यसपछि उनले लगातार प्रयास गरे र सफलता पनि पाए। आठौंमा उनले पहिलो पटक स्वर्ण जित्न सफल भए।

चार सय मिटरमा एक सेकेन्डले मात्र स्वर्णबाट चुकेका शिवराजले चार गुणा चार सय मिटरमा भने एपिएफलाई स्वर्ण दिलाए। नवौं संस्करणमा नयाँ प्रयास गरेका शिवराजले सुरुमै सफलता पाएका छन्। यसबाहेक उनले दुई सय मिटर, सय गुणा चार मिटर रिले र चार गुणा चार सय मिटर रिलेमा प्रतिस्पर्धा गर्दै छन्। गोपिचन्द्रले भने आफ्नो मुख्य विधा पाँच हजारका साथै १० हजार मिटरमा चुनौती प्रस्तुत गर्दै छन्।

धनगढी कैलाली उपमहानगरपालिका–९ गौरीपुरका दाजुभाइले संयुक्त ६ विधामा खेल्दै छन् र यी सबैमा सफलता निकाल्दै पार्की परिवार स्वर्णमय बनाउने उनीहरूको लक्ष्य छ। ‘मिहिनेतचाहिँ गर्नुपर्छ, तर हार खानु हुँदैन। च्याम्पियन बन्ने लक्ष्यसहित दिनरात अभ्यास गरेको थिएँ र आज जीवनकै उत्कृष्ट प्रदर्शन गरें,’ शिवराजले शनिबार कीर्तिमानी स्वर्ण पदक जितेपछि भने, ‘विभागले स्वर्ण जित्न धेरै मिहिनेत गरेको छ। अबको लक्ष्य दुई सय मिटरमा पनि कीर्तिमान बनाउने र एसियाली खेलकुदमा पदक जित्ने हो।’

एथलेटिक्समा सात स्वर्णको टुङ्गो

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा पहिलो दिन शनिबार पोखरा रंगशालामा सुरु हुँदा दुई नयाँ राष्ट्रिय कीर्तिमानसहित सात स्वर्ण पदकको टुङ्गो लागेको छ। कुल ३७ मध्ये सात विधामा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने।

पुरुषमा शिवराजँगै महिलामा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नयाँ कीर्तिमान बनाइन्। महिलाको सय मिटरमा सरस्वतीले कीर्तिमान बनाएकी हुन्। यस विधाको हिटमा लुम्बिनी प्रदेशकी निशा चौधरीले १२.१५ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यस विधाको सबैभन्दा उत्कृष्ट समय देवीमाया पनेरुको नाममा थियो। सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद(साफ) मा देवीमायाले १२.१९ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन्।

शनिबारदेखि सुरु नवौं खेलकुदको एथलेटिक्समा निशाले उनको कीर्तिमान भंग गरेको केही समय पनि नबित्दै सरस्वतीले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। फाइनल चरणमा निशाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित आफ्नो नाम लेखाइन्। सरस्वतीले १२ः१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जितिन्। यता, आफ्नै हिटको भन्दा कमजोर प्रदर्शन गरेकी निशाले १२ः२२ सेकेन्डका साथ रजत पदकमा खुम्चिन बाध्य भइन्। यसै गरी आर्मीकी रमिता थारुले १२ः९३ सेकेन्डको टाइमिङका साथ कांस्य पदकमा नाम लेखाइन्।

पुरुष १ हजार ५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५२ः२१ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण जिते। सो इभेन्ट्समा एपिएफका अजित यादवले ३ मिनेट ५३ः११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६ः५ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः रजत र कांस्य पदक जिते। महिला १० हजार मिटरमा बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले ३६ मिनेट १२ः३६ सेकेन्ड समयका साथ स्वर्ण जित्दा पुलिसकी राजपुरा पछाईं ३६ मिनेट २९ः४५ सेकेन्डका साथ रजत पदकमा खुम्चिन्। सन्तोषीले अन्तिम ल्यापमा मात्र राजपुरालाई पछि पारेकी हुन्।

एपिएफकी पुष्पा भण्डारी (३७ मिनेट ४ः०२ सेकेन्ड)ले कांस्य पदक जितिन्। पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मीका मुकेश पालले तीन मिनेट ५२ः२१ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण पदक जिते। सो विधामा एपिएफका अजित यादवले तीन मिनेट ५३ः११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले तीन मिनेट ५६ः५ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः रजत र कांस्य पदक जिते। महिला १ हजार ५ सय मिटर दौडमा एपिएफकी फूलमती रानाले चार मिनेट ३८ः१९ सेकेन्ड समयका साथ स्वर्ण जितिन्।

आर्मी क्लबकी सरस्वती भट्टराईले चार मिनेट ४१ः०० सेकेन्डमा रजत र आर्मीकै रेखा लिम्बुले कांस्य पदक जिते। रेखाले पाँच मिनेट ३ः८० सेकेन्डमा पार गरिन्। सटपुट पुरुषमा आर्मीका तिलक बिकले १२ः८५ मिटर फाल्दै स्वर्ण पदक जित्दा १२ः६४ मिटर फ्याँकेका आर्मीकै चित्रबहादुर वलीले रजत तथा बाग्मतीका ललित रावतले ११ः९५ मिटर पर फालेर कांस्य पदक जिते। सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादे (१२ः४० मिटर)ले स्वर्ण जितिन्।

लुम्बिनी प्रदेशकी संगीता अधिकारी (१०ः८३ मिटर) ले रजत तथा नेपाल पुलिसकी वसन्ती चौधरीले (९ः८६ मिटर)ले कांस्य पदक जिते। पहिलो दिनको खेलको समाप्तिमा तीन स्वर्ण तीन रजत र तीन कांस्य पदकसँगै आर्मी एथलेटिक्स अंकतालिकाको शीर्ष स्थानमा छ। दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको एपिएफ दोस्रो स्थानमा छ भने एक स्वर्ण, एक रजत र दुई कांस्य पदक हात पारेको पुलिस तेस्रो स्थानमा छ। एक स्वर्ण र एक कांस्य जितेको बागमती चौथो स्थानमा रहँदा दुई रजत मात्र जितेको लुम्बिनी पाँचौं स्थानमा छ। प्रतियोगितामा सहभागी अन्य टिमले कुनै पदक जितेका छैनन्।

प्रकाशित: ३० आश्विन २०७९ ०१:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App