२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एन्फाको लापरबाही: यु–१७ टोलीको ट्रान्जिट जाँदा १४ आउँदा २४ घण्टा

खेलाडीको सेवासुविधा र उनीहरूका लागि उचित योजनामा चुक्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरबाही भियतनाममा एएफसी यु–१७ एसिया कप छनोट २०२३ खेल्न जाने टोलीलाई गरेको व्यवहारले थप उदांगो पारिदिएको छ।

टोली व्यवस्थापनले एन्फा कर्मचारीसक्षम टोली मलेसियाको क्वालालम्पुर विमानस्थलमा १४ घण्टाको ट्रान्जिटमा पर्ने र त्यसले भियतनाममा गर्ने प्रदर्शनमा असर गर्ने बताइरहँदा उनीहरू विमानस्थल घुम्न तथा पिज्जा खान भन्दै मजाक उडाइरहेका थिए। टोली व्यवस्थापनको गुनासो थियो, ‘पहिले नै तय प्रतियोगिताका लागि एन्फाले टिकट किन्दा किन विचार पुर्‍याएन र त्यसमा किन ढिलाइ भयो?’ कर्मचारीको जबाफ हुन्थ्यो, ‘चाडबाड छ, त्यसैले भनेबमोजिमको टिकट पाउन सकिएन।’ भियतनाम जाँदा मलेसियाको क्लालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा १४ घण्टाको ट्रान्जिटमा परेको नेपाली युवा टोली नेपाल फर्कंदा सोमबार सोही विमानस्थलमा २४ घण्टाको ट्रान्जिटमा परेको छ।

समूह ‘एफ’ मा रहेको नेपालले आइतबार समूहचरणको अन्तिम खेल खेल्यो। पहिलो खेलमा थाइल्यान्डलाई ३–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोली भियतनामलाई ५–० र अन्तिम खेलमा चाइनिज ताइपेईलाई ४–२ को नतिजा सुम्पियो। नेपाल समूहचरणमा जितविहीन बन्यो। नेपालले प्रतियोगितामा कस्तो नतिजा ल्यायो भन्दा पनि टोलीले प्रतियोगिताका लागि कस्तो तयारी गरेको थियो र सम्बन्धित निकायले उमेरसमूहका लागि कस्तो योजना बनाएको थियो भन्ने कुराले अर्थ राख्छ। नेपालले छोटो तयारीका बावजुद पनि आफ्नो स्तरअनुसारको प्रदर्शन गर्‍यो।  

पहिले नै तय प्रतियोगिताका लागि भियतनाम जाने र नेपाल फर्कने टिकट एन्फाले राम्रो व्यवस्थापन गर्नुपर्ने थियो तर जाँदा क्वालालम्पुर विमानस्थलमा १४ घण्टाको ट्रान्जिटमा रहेको नेपाली टोलीले नेपाल फर्कंदा सोही विमानस्थलमा २४ घण्टाको ट्रान्जिटको व्यवस्था एन्फाले नेपाली युवा टोलीलाई ढिलै भए पनि दसैंको उपहार दिएको हुनुपर्दछ।  

त्यसो त टोलीको बिदाइका लागि असोज १५ गते शनिबार बिहान एन्फा मुख्यालयमा पत्रकार बोलाइएको थियो। बिदाइ कार्यक्रम बिहान नौ बजेका लागि तय भए पनि करिब १० बजे मात्र एन्फाको ढोका खोलिएको थियो। टोलीको बिदाइका लागि एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनिर्वाचित कार्यसमिति सदस्य रूपेश अधिकारी उपस्थित थिए। वरिष्ठ उपाध्यक्ष खड्काले एन्फा आफैं कमजोर अवस्थामा रहेकाले टोलीको हौसला बढाउने कुनै आश्वासन दिन सक्ने अवस्थामा आफू नरहेको दोहोर्‍याइरहेका थिए।  

यसअघि नेपालले सेप्टेम्बर १४ मा श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध प्रतिस्र्धा गरिरहँदा नेपाली टोलीको होैसला बढाउने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फां)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र कार्यसमिति सदस्य टीका लामा मैदानमा उपस्थित थिए। समूहचरणमा भारतमाथि पुनरागमन जित निकालेको नेपालले फाइनलमा भने सो नतिजालाई निरन्तरता दिन सकेन र टोली उपविजेतामा सीमित भयो। उपविजेता टोलीको स्वागतमा त्यसको भोलिपल्ट त्रिभुवन विमानस्थलमा एन्फाका महासचिवसहित धेरै केन्द्रीय सदस्य उपस्थित थिए।  

खेलाडीलाई लागेको थियो हामीले गरेको प्रदर्शन देशका लागि हो र नेपाली फुटबलको बागडोर सम्हालेर बसेको एन्फाका साथै नेपाल सरकारले त्यसको राम्रो मूल्यांकन गर्छ। तर विडम्बना उनीहरूको सफलता र मिहिनेतको कुनेै कदर भएन। न त उनीहरूले भ्रमण भत्ता नै पाए न त प्रोत्साहन पुरस्कार नै। यस साफ यु– १७ च्याम्पियनसिपबाट फर्किएसँगै भियतनाममा अक्टोबर पहिलो साताका लागि तय एएफसी यु–१७ एसिया कप छनोट २०२३ का लागि तयारीमा जुटेको नेपाली टोलीलाई प्राइम सेरामिक्सले जनही नगद पाँच हजार प्रदान गरेको थियो। सो कार्यक्रममा एन्फाका कुनै पनि पदाधिकारी उपस्थित थिएनन्। अघिल्लो दिन मात्र विशेष साधरणसभा सकाएका एन्फाका पदाधिकारी दसैंका लागि घर जानेतर्फ लागेका थिए। उनीहरूको प्राथमिकतामा एएफसी यु–१७ एसिया कप छनोट २०२३ का लागि तयारीमा जुटेको नेपाली टोलीको मनोबल बढाउने कुनेै ठोस प्रस्ताव थिएन। अवस्था कस्तो भयो भने असोज १६ गते भियतनाम प्रस्थान गर्ने नेपाली टोली असोज १४ गतेसम्म आवश्यक मेडिकल सामान र थप भएका खेलाडी तथा केही पदाधिकारीको पोसाकका लागि दिनैभर भौंतारिरह्यो।  

प्रकाशित: २५ आश्विन २०७९ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App