९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मह बेचेर चार लाख बढी आम्दानी गर्दै रूपबहादुर

जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक चार लाख रूपैयाँ बढी आम्दानी गर्दै आएका छन्। पुर्ख्याैली पेसालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायबाट सबै खर्च कटाएर चार लाख रूपैयाँ बढी आम्दानी गर्दै आएका हुन्।

रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरीपालन पेसालाई परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेको बताए। उनका अनुसार हालसम्म कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक तथा प्रविधिक सहयोग पाएको छैन।

रूपबहादुरले भने, “बाबुको सीप र क्षमता अनुसरण गरेर व्यवसायलाई निरन्तरता दिँदै छु। सरोकार भएका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाएका मौरीपालन पेसालाई व्यावसायिक बनाउने योजना थियो।”

उनले परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका उपभोक्ताले निकै रुचाउने प्रतिक्रिया आइरहेको बताए।

“ग्राहकहरू मह किन्नका लागि घरमै आइपुग्ने गर्नुहुन्छ। उत्पादित मह लिन टाढाबाट पनि ग्राहक आउनुहुन्छ। वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु। त्यसैबाट घरका दश जनाको परिवारको खर्च व्यवस्थापन हुँदै आएको छ”, रूपबहादुरले भने।

जेठ र कात्तिक गरी दुई पटक मह निकालेर बेच्दा सबै खर्च कटाउर चार लाख रूपैयाँ आम्दानी हुने गरेको उनले बताए।

आधुनिक घारभन्दा हिमाली मौरी काठका परम्परागत घारमा बस्न रुचाउने भन्दै रूपबहादुरले यहाँ उत्पादित मह सतप्रतिशत र्गानिक र गुणस्तरीय हुने दाबी गरे।

सदरमुकाम गमगढी बजारबाट तीन घण्टा पैदल दूरीमा रहेको लिउँडी गाउँका रूपबहादुरका लागि यो पेसा आम्दानीको स्रोत मात्र नभइ पुर्ख्याैली व्यवसायको एक नमूना पनि हो। परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उनका बुबाले गरेका थिए। विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उनले व्यावसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहेका छन्।

प्रकाशित: ९ मंसिर २०८१ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App