२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टोटेनह्यामको जितमा केन नायक

ह्यारी केनको निर्णायक गोलको सहयोगमा शनिबार टोटेनह्यामले इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ४–१ गोलअन्तरले पराजित गरेको छ।

शनिबार ब्राइटनविरुद्ध जित निकालेको टोटेनह्यामले जित ६१ वर्षको उमेरमा निधन भएका प्रशिक्षक जियान पिएरो भेन्ट्रोनप्रति समर्पित गरेको छ। खेलपछिको अन्तिम सिट्टी बजेपछि टोटेनह्यामको गोलकिपर ह्युगो लोरिसले उपस्थित दर्शकलाई जियानको सम्झनास्वरूप टिसर्ट लागाउँदै सम्मान दिन आग्रह गरेका थिए।

‘कठिन हप्ता हामीले यो साता गुजार्नुपरेको छ। यस्तो अवस्थामा पनि टोलीले सम्हालिएको प्रदर्शन गर्दै सुखद नतिजा निकाल्न सफल भयौं,’ टोटेनह्यामका लागि तीन अंक दिलाउन निर्णायक गोल गरेका ह्यारी केनले भने।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले सुरुआतमा आक्रामक खेल खेलेका थिए। १८औं मिनेटमा पहेलो कार्डको सामना गरेका केनले २२औं मिनेटमा गोल गरेका थिए। सन ह्युङ मिनले उपलब्ध गराएको पासलाई केनले जाली चुमाउन सफल भएका हुन्। यससँगै केन जारी सिजन खेलेका ९ मध्ये आठ खेलमा गोल गर्न सफल भएका छन्। यद्यपि म्यानचेस्टर सिटीका लागि सर्वाधिक १५ गोल गरेका एर्र्लिङ हाल्यान्डभन्दा पछि नै छन्। हाल्यान्डले शनिबार नै भएको अर्को खेलमा साउथह्याम्पटनविरुद्ध पनि गोल गर्न सफल भएका थिए।

‘प्रतिस्पर्धात्मक बनेको खेलमा गरेको गोल निकै महत्त्वपूर्ण रह्यो। सनले दिएको पास टोलीका लागि वरदानजस्तै भयो। उनको त्यो पास नै स्पष्ट तीन अंक बटुल्ने आधार भएको हो,’ केनले थपे। यसअघि भएको खेलमा टोटेनह्याम आर्सनलसँग ३–१ ले पराजित भएको थियो।

लन्डन डर्बीबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिए पनि आर्सनलले टोटेनह्याममाथि सहज जित निकाल्न सफल भएको थियो। च्याम्पियन्स लिगअन्तर्गत यसै साता भएको खेलमा टोटेनह्याम फ्रान्कफर्टसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

जितसँगै टोटेनह्यामको तालिकामा २० अंक भएको छ। ९ खेल खेलेको टोटेनह्याम तालिकाको तेस्रो स्थानमा अटाउँदा पराजित ब्राइटन छैटौं स्थानमा छ। ब्राइटनको समान ८ खेलबाट १४ अंक छ।

टोटेनह्याम प्रशिक्षक एन्टोनियो कोन्टेले आक्रामक रणनीति अपनाउँदै घरेलु टोलीविरुद्ध मैदान उतारेका थिए। तर शोकमा रहेको टोली अपेक्षाअनुसारको प्रदर्शन गर्न भने असफल भएको थियो। यद्यपि संघर्षपूर्ण जितबाट टोलीलाई शोक शक्तिमा बदलिएको हो।

प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार नै भएको अर्को खेलमा म्यानचेस्ट सिटीले साउथह्याम्पटमाथि सानदार जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा जोआ कान्सेलोले २०औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ३२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउँदा ४९औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीको अग्रता ३–० को अवस्थामा पुगेको थियो। त्यसपछि खेलको ६५औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई ४–० को जित निश्चित गराए। बाँकी समयमा साउथह्यम्पटनले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र घरेलु टोलीलाई अंक सुम्पिन बाध्य भयो। जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ९ खेलमा २३ अंक जोडेको छ। साउथह्याम्पटन ७ अंक जोडेर १६औं स्थानमा रहेको छ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले घरेलु मैदानमा उल्भसमाथि ३–० को सानदार जित निकाल्दा बर्नमाउथले लेस्टर सिटीलाई २-१ ले र न्युक्यासलले ब्रेन्टफोर्डलाई ५-१ को फराकिलो अन्तरले स्तब्ध बनाए।  

प्रकाशित: २४ आश्विन २०७९ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App