१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हंगेरीविरुद्धको जित इटालीका लागि सान्त्वना

दोस्रो पटक विश्वकप गुमाएको इटालीले सोमबार हंगेरीमाथि २-० को जितसहित नेसन्स लिगमा समूहको शीर्ष स्थानमा रहँदै युरोपमा सान्त्वना बटुलेको छ।

जियाकोमो रास्पडोरीको निर्णायक गोलमा गत शुक्रबार इटालीले इङ्ल्यान्डविरुद्ध जित निकालेको थियो। सोमबार पनि उनकै गोलमा इटालीले हंगेरीविरुद्ध अग्रता लियो। खेलको २७औं मिनेटमा रास्पडोरीले हंगेरीको घरेलु मैदानमा इटालीलाई अग्रता दिलाए। ‘हामी पुनर्स्थापित हुन यस किसिमको प्रदर्शन आवश्यक थियो। विश्वकप खेल्ने हाम्रो बाटो बन्द भइसकेको छ।

तर, पनि यो नतिजाले हामीलाई उत्साह दिनेछ,’ इटालीका गोलकिपर जियानलुजी डोनारुमाले भने, ‘हामीले फेरि सुरु देखि सुरुआत गर्नुपर्छ। आफ्नो देशका लागि हामीले अझै केही गर्नुपर्छ।’

समूह ‘ए थ्री’ को अन्तिम खेलअगाडिसम्म हंगेरी शीर्षमा थियो। इटालीसँग हारसँगै हंगेरी दोस्रो स्थानमा खुम्चियो। यद्यपि, बुडापेस्टमा हंगेरीले पाहुना टोली इटालीमाथि दबाब भने बनाउन सफल भयो। इटालीका गोलकिपर डोनारुमाले दुई उत्कृष्ट बचाउ गरेका थिए। खेलको ५०औं मिनेटमा लोइक नेगो र एडम जुलाईका प्रहार उनले बिफल पारेका थिए। त्यसको दुई मिनेटपछि नै फेडरिको डिमार्कोले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए। ब्रयान क्रिस्टेन्टको क्रसमा फेडरिकाले पहिलो अन्तर्राष्ट्रिय गोल गरे। यो इटालीका लागि भने १५सयौं गोल थियो।

डोनारुमाले ५५औं मिनेटमा पनि अर्को उत्कृष्ट प्रहार विफल पारे। हंगेरीका कलुम स्टालेसको हेडरलाई उनले सफल हुन दिएनन्। यससँगै इटालीले दुई गोलको अन्तरमा जित निकाल्न सफल भयो। यो जितसँगै इटाली नेदरल्यान्ड्स र क्रोएसियासँगै नेसन्स लिगको अन्तिम चारमा स्थान बनाउन सफल भयो। अन्तिम चारका खेल आगामी जुनदेखि सुरु हुनेछन्।

अब स्पेन र पोर्चुगलमध्ये एक देशले अन्तिम चारमा स्थान बनाउनेछन्। युरो कप २०२० को उपाधि जितेको एक वर्ष पनि नबित्दै इटालीको फुटबल पुनः धराशयी अवस्थामा पुग्यो, जति बेला विश्वकप छनोट चरणमा असफलता प्राप्त गर्दै दोस्रो पटक विश्वकप खेल्नबाट चुक्यो। यद्यपि, इटालीलाई दोस्रो पटक युरोपियन फुटबल प्रतियोगिताको उपाधि जित्दै आगामी यात्रा सुखद बनाउने यो राम्रो अवसर भने पक्कै हुनेछ। यता, हंगेरी पनि विश्वकपमा स्थान बनाउन असफल टोली हो। यद्यपि, उसले पनि नेसन्स लिगको समूह चरणको अन्तिम खेलअगाडिसम्म शीर्ष स्थानमा रहँदै सनसनी नै मच्चायो।

किनकि यो समूहमा इटालीसहित जर्मनी र इङ्ल्यान्डजस्ता विश्व फुटबलको शक्तिशाली राष्ट्र थिए। तर, पनि हंगेरीले आफूलाई अब्बल बनायो। तर, अन्तिम खेलमा इटालीसँग स्तब्ध हुँदा अर्को अवसर बनाउन भने चुक्यो। हंगेरीले सन् १९५४ पछि जर्मनीलाई र सन् १९५४ पछि अवे खेलमा इङ्ल्यान्डलाई हराउन सफल भयो। यद्यपि, इटालीलाई भने हंगेरीले सन् १९५५ यता हराउन सकेन। 

प्रकाशित: १२ आश्विन २०७९ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App